Redirecting...

सन् २०२५ नेपाल र नेपालीका लागि अत्यन्तै दुःखद वर्ष, सन् २०२६ लाई लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बनाउनुपर्ने : केपी ओली  - janatatimes.com

सन् २०२५ नेपाल र नेपालीका लागि अत्यन्तै दुःखद वर्ष, सन् २०२६ लाई लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बनाउनुपर्ने : केपी ओली  - janatatimes.com
Source: jant

काठमाडौं, पुस १८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लाई लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सन् २०२५ मा कमजोर बनाइएको लोकतन्त्र र खण्डित तथा मिचिएको संविधानलाई आगामी वर्ष मजबुत बनाएर पुनः स्थापित गर्नुपर्ने उहाँको धारणा छ । नयाँ वर्ष सन् २०२६ को अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि अत्यन्तै दुःखद वर्ष बनेको बताउनुभयो । नेपालमा लोकतन्त्र विस्थापनको गम्भीर प्रयास सुरु गरिएको भए पनि नेपाली जनताको सचेतनाका कारण प्रतिगमनकारी शक्तिहरूले आफ्नो चाहनाअनुसार त्यसलाई अघि बढाउन नसकेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले जननिर्वाचित सरकार ढल्नु भनेको लोकतन्त्र र संविधानमाथि नै प्रहार हुनु भएको स्पष्ट पार्नुभयो । ‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो,’ उहाँले भन्नुभयो । वर्तमान सरकार असंवैधानिक रहेको र अनधिकृत व्यक्तिको सिफारिसमा संसद् विघटन गरिएको दाबी गर्दै अध्यक्ष ओलीले यो प्रधानमन्त्री परिवर्तनको विषय मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको गम्भीर आक्रमण भएको प्रष्ट पार्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिए पनि अहिलेसम्म निर्वाचनका लागि आवश्यक वातावरण नबनेको उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारले त्यस दिशामा गम्भीर पहल नगरेको आरोप लगाउनुभयो । निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरुपयोग गरी लोकतन्त्र नै समाप्त गर्ने प्रयास हुन सक्ने खतरा रहेको उहाँको भनाइ छ । ‘नेताहरूविरुद्ध झुटा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाउने, निर्वाचनमा बुथ कब्जा गर्ने प्रयास गर्ने र निर्भयपूर्वक मतदान हुन नदिने अवस्था आयो भने त्यो निर्वाचन लोकतन्त्र सुदृढ गर्ने होइन, कमजोर बनाउने नाटक मात्र हुनेछ,’ अध्यक्ष ओलीले चेतावनी दिनुभयो । उहाँले जनताको अभिमत स्वेच्छाले प्रकट हुन पाउने वातावरणमा मात्र स्वच्छ र निष्पक्ष निर्वाचन सम्भव हुने उल्लेख गर्दै त्यस्तो अवस्था सिर्जना भए नेकपा (एमाले) निर्वाचनमा सहभागी भएर विजय हासिल गर्ने दाबी गर्नुभयो । निर्वाचनका लागि पार्टीलाई सबै हिसाबले तयारी अवस्थामा राख्न निर्देशन दिँदै उहाँले कार्यकर्तालाई आफ्नो सामर्थ्य परिणाममुखी ढङ्गले प्रयोग गर्न आग्रह गर्नुभयो । तर, वर्तमान अवस्थामा देशलाई निकास दिने सबैभन्दा उपयुक्त उपाय विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्नु रहेको एमालेको स्पष्ट धारणा रहेको अध्यक्ष ओलीले बताउनुभयो । संसद् पुनर्स्थापनापछि संसदभित्रैबाट समाधान खोजिनुपर्ने उहाँको भनाइ छ । विगतमा संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले छिटो फैसला दिएको स्मरण गर्दै अध्यक्ष ओलीले यो कुनै व्यक्ति विशेषको नभई राष्ट्रकै विषय भएकाले समयमै निर्णय आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । गत भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवताविरुद्ध नृशंस र दानवीय व्यवहार भएको बताउनुभयो । ती घटना नेपालीपन र नेपाली समाजको मूल्य–मान्यतासँग कतै मेल नखाने र मुलुकका लागि अत्यन्तै असहज अवस्थाको सङ्केत भएको उहाँको भनाइ छ । अहिले पनि आतङ्क र भय सिर्जना गर्ने, नेताहरूमाथि प्रतिशोध र पूर्वाग्रह साध्ने तथा चरित्र हत्या गर्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिशोधको राजनीति लोकतन्त्र विरोधी भएको टिप्पणी गर्नुभयो । लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)ले लिएको र पार्टी त्यस दिशामा निरन्तर क्रियाशील रहेको अध्यक्ष ओलीले बताउनुभयो । साथै, उहाँले अन्य राजनीतिक दलहरूलाई पनि लोकतन्त्रको पक्षमा आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । देशमा सिर्जना गरिएको भय र आतङ्कको अवस्था अन्त्य गरी शान्ति सुव्यवस्था कायम गर्न एमालेले सुरुदेखि नै पहल थालेको र त्रासदीपूर्ण अवस्थाबाट नेपाली समाज क्रमशः सामान्यतर्फ फर्कन थालेको उहाँले जानकारी गराउनुभयो । ‘सबै जिल्ला, पालिका र वडामा हजारौँको सङ्ख्यामा जुलुस र सभा गरेर जनताको मनोबल उच्च बनाउने काम गरियो,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन पनि असाधारण जनपरिचालन र सिङ्गो पार्टी परिचालनसहित सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यसले पार्टीमा ताजापन ल्याउनुका साथै राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश दिएको बताउनुभयो । पार्टीभित्र गुटगत भावना होइन, एकता र राष्ट्रप्रतिको समर्पणको भावनाले अघि बढ्ने उहाँको दाबी छ । आफूले सधैँ पार्टीलाई एकताबद्ध राख्न प्रयास गरेको र विगतमा करिब दुई तिहाइ बहुमतसहित सुदृढ पार्टी निर्माण गरिएको स्मरण गर्दै अध्यक्ष ओलीले आगामी दिनमा पनि पार्टीलाई यथोचित ढङ्गले अघि बढाउने प्रयास निरन्तर रहने बताउनुभयो । नयाँ वर्षमा देशका सामु गम्भीर चुनौतीहरू रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो निर्णय आफैँ गर्ने सन्दर्भमा मुलुक कमजोर अवस्थामा पुगेको र सार्वभौमसत्ता कमजोर पार्न विभिन्न तवरबाट लगानी र शक्ति प्रयोग भइरहेको गम्भीर आरोप लगाउनुभयो । ‘अहिले पनि असंवैधानिक गतिविधि भइरहेका छन् । विभिन्न तत्त्वहरू जम्मा गरेर शक्ति निर्माण गर्न खोजिँदै छ,’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरू जिल्ला र उच्च अदालतबाट छुट्ने र छुट्ने बित्तिकै तमासा देखिने अवस्था बनेको छ ।’ अध्यक्ष ओलीले विगत २५० वर्षमा हुन नसकेका विकासका काम पछिल्ला ३६ वर्षमा भएको उल्लेख गर्दै आधुनिकतासहितको विकासका कारण नेपाल विकासशील राष्ट्रको पङ्क्तिमा उक्लिँदै गरेको अवस्थामा ‘केही पनि भएन’ भन्ने गलत भाष्य निर्माण गरिएको र जनतालाई भ्रमित गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । यस भ्रमबाट जनतालाई मुक्त गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । नेपाल विकासको यात्रामा अगाडि बढिरहेको अवस्थामा सन् २०२५ मा असाधारण क्षति पुर्‍याइएको दाबी गर्दै अध्यक्ष ओलीले अब कम्तीमा २५ वर्षको प्रयासपछि मात्रै देशलाई हिजोको अवस्थामा पुर्‍याउन सकिने गरी पछाडि धकेलिएको गम्भीर टिप्पणी गर्नुभयो । कार्यक्रम मञ्चकाउपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेलकाे अध्यक्षतामा भएकाे थियाे । उहाँले जहाँ नेपाली त्यहाँ नेकपा एमालेको अभियान अन्तर्गत पार्टी हितको लागि प्रवासमा रहेर काम गरिरहेको बताउनुभयो । समृद्ध नेपाल बनाउने अभियानमा लाग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको अभियानमा आफूहरू प्रतिबद्ध भएर लागिरहेको उहाँले प्रष्ट पार्नुभयो ।