तरकारी तथा फलफुल खुद्रा व्यवसायी संघ कलैया आन्दोलित - ehimalayatimes.com
बारा । तरकारी तथा फलफुल खुदरा व्यवसायी संघ कलैया शुक्रबारदेखि कर वृद्धिको विरोधमा आन्दोलित भएको छ। संघले कलैया उपमहानगरपालिकाले कुनै छलफल वा सहकार्य नगरी एकैचोटि ६७ प्रतिशत कर वृद्धि गरेको भन्दै आन्दोलन थालेको हो। संघका अध्यक्ष आलम हुसेनका अनुसार, “गत वर्ष पनि पाँच रुपैयाँ कर बढाइएको थियो, त्यसबेला पनि विरोध गरेका थियौं। त्यतिबेला नगरप्रमुख विनोद साहले कार्यकालभर कर नबढाउने मौखिक सहमति जनाउनुभएको थियो। तर, त्यसको विपरीत यसपालि २० रुपैयाँले कर वृद्धि गरिएको छ।” गत आर्थिक वर्षमा खुद्रा व्यवसायीहरूले दैनिक ३० देखि ४० रुपैयाँ कर तिर्दै आएका थिए भने यस वर्ष त्यो दर ५० देखि ६० रुपैयाँमा पुर्याइएको छ। हुसेनले महँगी बढ्दै गएको र उपभोक्ता भारतको बिहार राज्यको बजारतिर आकर्षित हुन थालेको उल्लेख गर्दै कलैया उपमहानगरपालिकाले व्यवसायीलाई पलायन गराउने नीति लिएको आरोप पनि लगाएका छन्। नगरपालिकासँग समस्या लिएर जाँदा प्रमुख साहले कुनै सम्झौता सम्भव नरहेको स्पष्ट पारेपछि आफूहरूलाई व्यापार बन्द गरी आन्दोलनमा उत्रनु परेको अध्यक्ष हुसेनले बताउनु भयाे । उता, नगरप्रमुख विनोद साहले व्यवसायीले कुनै जानकारी नदिई मनोपोली शैलीमा आन्दोलन थालेको आरोप लगाउनु भयाे। “परिषदबाट पारित भएको कर मात्र लागू गरिएको हो। फलामको घर (तिजोरी) बनाएर व्यापार सञ्चालन गर्नेहरूलाई केही मात्रामा कर थप गरिएको हो,” उहाँले भन्नुभयाे । साहका अनुसार, यदि व्यवसायीहरूले बजारबाट फलामको संरचना हटाए भने अघिल्लो वर्षकै करदर लागू हुनेछ। उहाँले समस्या समाधानका लागि आफू सधैं छलफल गर्न तयार रहेको बताउनु भयाे । तर, संघले भने कुनै औपचारिक वार्ता बिना कर वृद्धि गरिनु व्यवसायमै धक्का पुगेको भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।