माधवजीसँग पार्टी एकताबारे सकारात्मक छलफल भएको छ, छिट्टै प्रक्रिया अगाडि बढ्छ : प्रचण्ड - www.palikalive.com
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)सँगको पार्टी एकता प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्। शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग दुई चरणको छलफल सकारात्मक भएको र अब छिट्टै औपचारिक प्रक्रिया सुरु हुने बताएका हुन्। पार्टीका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई थप सक्रिय बनाउँदै एकताको वातावरण तयार पार्ने रणनीति अघि बढिरहेको जानकारी गराएका छन्। ‘समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र एकता प्रक्रिया छिट्टै टुंग्याउने विषयमा अध्यक्षज्यूको स्पष्ट धारणा छ। माधव नेपालसँगको संवाद सकारात्मक छ,’ गजुरेलले भने। गजुरेलका अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि पार्टी एकताको सम्भावना खुला राखेर संवाद भइरहेको छ। पार्टी बैठकमा समाजवादी मोर्चालाई समृद्ध बनाउने, वैकल्पिक शक्तिको निर्माणलाई तीव्रता दिने र आगामी राजनीतिक सहकार्यको खाका तय गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ।