Redirecting...

पराजुलीका कवितामा समयचेतना र अनुभूतिको स्वर - sahityapost.com

पराजुलीका कवितामा समयचेतना र अनुभूतिको स्वर - sahityapost.com
Source: shpt

असम नेपाली साहित्य सभाको केन्द्रीय समितिको उद्योग र शोणितपुर जिल्ला समितिको विशेष सहयोगमा असमको साहित्यिक-सांस्कृतिक राजधानी मानिने तेजपुरमा भारतेली नेपाली साहित्यकार भेलाको आयोजना १४ देखि १६ अप्रेल २०१८ सम्म एकदमै सभ्य र भव्य तरिकाले सम्पन्न भएको थियो । केन्द्रीय समितिको सादर निम्तो पाएर त्यस साहित्यिक महाकुम्भमा आफ्नो उपस्थिति जनाउन म लगायत दार्जीलिङ-सिक्किम र डुवर्स क्षेत्रबाट एउटा गतिलो साहित्यिक फौज दलबलसहित हामी तेजपुर पुगेका थियौं । त्यस साहित्यिक महाकुम्भ मेलाले भारतीय नेपाली साहित्यकारहरूको भेला मात्र गरेन तर आउँदा दिनमा गरिनुपर्ने धेरैवटा कार्य योजनाको पनि बिजारोपन गर्‍यो । यस बृहत् साहित्य महोत्सवमा धेरैजना पूर्वपरिचित साहित्यिक बन्धुसित पुनः मिलनको सुयोग मिल्यो भने कति कृतिबाट मात्रै परिचय भएका, त्यस दिनसम्म भेट्न नपाइएका साथी भाइहरूसित प्रत्यक्ष भेटघाट गर्ने, परिचय आदनप्रदान गर्ने, भेटको अवसरमा आ-आफ्ना पुस्तकहरू आदान-प्रदान गर्ने संयोग पनि जुरेको हो । आदरणीय दिदी प्रा. गीता उपाध्यायज्यूलगायत सीतादेवी छेत्री, मुन्नी सापकोटा, दक्षिणा देवी गजुरेल, डा. दैवकीदेवी तिमसिना, निरू शर्मा पराजुलीजीसित पुस्तक, पत्र-पत्रिका तथा सामाजिक सञ्जालहरूको माध्यमबाट परिचय भए पनि पहिलो चोटी भेटेर परिचय साट्न र गफिन पाएको भने मैले त्यसै अवसरमा हो । कवि-अनुवादक निरु पराजुलीलाई पनि मैले यसै साहित्यिक कार्यक्रमको अवसरमा पहिलो पल्ट भेटेको हूँ । १४ अप्रेलको बेलुकी चार बजेदेखि प्रा. गीता उपाध्यायजीको अध्यक्षतामा भारतेली नेपाली महिला कवि सम्मेलन सम्पन्न भएको अवसरमा पूर्वाञ्चल क्षेत्रबाट लक्ष्मी सुवेदी, डा. इन्दुप्रभा देवी, रिजु देवी, सीतादेवी छेत्री, डा.गोमा देवी शर्मा (अधिकारी), मुन्नी सापकोटा, दक्षिणा देवी गजुरेल, वसन्ती देवी, डा. दैवकी देवी तिमसिना, प्रकृति शर्मा, नर्मदा देवी, निरु शर्मा पराजुली आदिले उम्दा उम्दा समसामयिक धारका कविता वाचन गरेका थिए भने यता दार्जीलिङ-सिक्किमबाट उषा किरण सत्यदर्शी, पवित्रा लामा, कृतिका दाहाल, सरिता समदर्शी आदिले सहभागिता जनाएका थिए । उक्त दिनको महिला कवि सम्मेलनमा कवि निरु शर्मा पराजुलीलाई म पहिलो चोटि सुन्दै थिएँ, त्यतिञ्जेलसम्म हाम्रो भेटघाट र बोलचाल भइसकेको थिएन । निकै शिष्ट र शालीन भावशैलीमा समसामयिक चेतनाले अभिप्रेरित रहेको एउटा कविता साँच्चै प्रभावकारी शैलीमा प्रस्तुत गरिन् । त्यस कविता वाचन र काव्य-विमर्श सत्रमा डा. इन्दुप्रभा देवी र उनले अत्यन्त सरल तरिकाले पठित कविताबारे बौद्धिक र प्राज्ञिक शैलीमा विश्लेषणात्मक मूल्याङ्कन पनि प्रस्तुत गरेको सम्झना मेरो मनमा अझै आलो भई बाँचेको छ । त्यस दिनको भेटपछि कवि पराजुलीजीसित मेरो कहिल्यै भेट भएन, फेरि फेरि भेटेर उनका अन्य कविता सुन्न र साहित्यिक विमर्श गर्ने सौभाग्य हामीलाई कहिले जुरेन । उनीसित भएको तेजपुरको भेट नै मेरो निम्ति पहिलो र अन्तिम भेट बन्यो । असमीया साहित्यमा स्नातकोत्तर, कानूनमा एल.एल.बी. तथा हिन्दी साहित्यमा विशारद गरेकी कवि-कथाकार निरु शर्मा पराजुली (जन्म- १५ अप्रिल सन् १९६८)-ले गौहाटी उच्च न्यायलयको बार एसोसिएसनको सदस्य रही वकालती पेसा अपनाएको बुझिन्छ । असम लेखिका संस्था, असम नेपाली साहित्य सभा, असम गोर्खा सम्मेलन, गौहाटी लेखिका संस्था, भारतीय गोर्खा परिसङ्घ, साहित्य भारती केन्द्रीय समितिका आजीवन सदस्य तथा विभिन्न पदीय अभिभारहरू समेत सम्हाल्दै साहित्य लेखनमा निरन्तर लागेको जानकारी पाइन्छ । उनले पूर्वाङ्गना-को सम्पादन समेत गरेकी छन् भने नेपाली र असमीय भाषामा कविता, कथा, निबन्ध तथा प्रशस्त अनुवाद कार्यहरू गरेकी छन् । सन् २००८ मा कवि पराजुलीको नेपालीमा लेखिएको कवितासंग्रह भोकमा कोरिएकाशब्दहरू प्रकाशनमा आएको देखिन्छ भने असमीया भाषामा कविताइ मोर बुभुक्षा (सन् २००८), माथु प्रेमोर बाबे एमुठि अनुभव (सन् २००९) र बगी वरमार बारी (सन् २००९) तथा कथालेखनमा सन् २००४ सालमा एउटा संग्रह स्वप्न एटि मुक्त आकाशर पनि प्रकाशनमा आएको छ । यसका अतिरिक्त सन् २०१८ सालमा उनको निःशब्द (नेपालीबाट असमीया भाषामा), धराशायी (नेपालीबाट असमीया भाषामा), म मानिसको निर्मल उत्सव (असमीयाबाट नेपाली भाषामा) अवक्षयित देवाल (हिन्दीबाट असमीया भाषामा) प्रभृति साहित्यिक कृतिहरू अनुदित रहेका छन् । अनुवादक पराजुलीले असमीया कवि सनन्त ताँतीको निकै लोकप्रिय कवितासंग्रह मइ मानुहर अमल उत्सव-लाई सन् २०१८ सालमा नेपाली भाषामा अनुवाद गरी म मानिसको निर्मल उत्सव शीर्षकमा प्रकाशन गराए भने उपन्यासकार मीना दासलिखित ढहटी दिवारें नामक हिन्दी उपन्यासलाई अवक्षयित देवाल नाम दिएर असमीया भाषा अनुवाद गरेको देखिन्छ । यसका साथै साहित्य अकादमी नयाँ दिल्लीले हैदरावादमा आयोजना गरेको नर्थ-इस्ट-साउथर्न राइटर्स मीट (अगस्ट ३०-३१, २००८), भयवाद अध्ययन केन्द्र, धरानको आयोजनमा इन्टर-कल्चरल एण्ड फियरिज्म डिस्कोर्स प्रोग्राम (फेब्रुअरी १६-१८, २०१३) आदि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक सेमिनार र साहित्यिक महोत्सवहरूमा पनि सक्रिय सहभागिता जनाएको देखिन्छ । अतः असममा धेरैजना महिला साहित्य साधकहरूले आफ्नो समय र श्रम अनुवाद कार्यमा पनि खर्चेका छन् । कतिजना सर्जक-अनुवादकहरूले असमीय भाषालगायत अन्य भाषाबाट नेपालीमा अनुवाद गरेका छन् त कतिले भने नेपालीबाट असमीयलगायत अन्य भाषामा समेत अनुवाद गरेका छन् । अनुवादको क्षेत्रमा विशेष गरी गीता उपाध्याय, शान्ति थापा, इन्दुप्रभा देवी, मुन्नी सापकोटा, वीणा शर्मा, चम्पा उपाध्याय, रश्मिरेखा शर्मा, दक्षिणादेवी गजुरेल, मैना थापा आशा, निरु शर्मा पराजुली, दैवकीदेवी तिमसिना आदिको नाम हामी गर्वका लिने गरेका छौं । कवि निरुको कवितालेखन यात्राको शुभारम्भ सन् १९८६ को सम्मेलन पत्रिकामा प्रकाशित ‘ठूलो मानिस बन्ने रहरमा’ शीर्षक कविताबाट भएको जानकारी पाइन्छ । यिनको हालसम्म एउटै मात्र कवितासंग्रह भोकमा कोरिएका शब्दहरू (सन् २००८) शीर्षकमा प्रकाशित छ । कवि पराजुलीका कवितामा वर्तमान समयमा पनि समाजमा रहेको धर्मान्धता र वर्गभेद, जातिभेद र वर्णभेदप्रति सकेसम्म व्यङ्ग्यप्रहार गरिएको भेटिन्छ । कवितामा उनको व्यङ्ग्यप्रहार सोझो र पेचिलो किसिमको नभई श्यामव्यङ्ग्यात्मक शैलीमा प्रहार गरिएको देखिन्छ । कतिपय कवितामा भने बेरोजगारी र गरीबीप्रति मार्मिक र यथार्थ चित्रण गर्न पनि पछि परेकी छैनन् । देशमा भएको गरीबीलाई देखाएर समाजबाट गरीबी निर्मूलन गर्ने किसिमको आश्वासनहरू प्रत्येक पल्टको चुनावको समय नेताहरूले दोहोर्‍याउँदै आए पनि स्वतन्त्रतापछिको भारतमा पनि गरिबी कहिल्यै निर्मूल हुन सकेन । बरु नेताहरूको भ्रष्टाचारी प्रवृत्तिको विकासले देशमा अझ गरिबीपन, बेरोजगारपन बढ्दै गएको विकराल स्थिति देखिन्छ । यस दिशातिर पनि कवि निरु पराजुलीको तीक्ष्ण दृष्टि पुगेको छ । पराजुलीले आफ्ना कतिपय कवितामा समय र सन्दर्भ सुहाउँदो मिथकीय अभिव्यक्तिलाई पनि आत्मसात् गरेकी छन् । उनको कवितामा भेटिएको काव्यिक परिवेश अध्ययन-मनन गर्दा यता सिक्किम-दार्जीलिङ-डुवर्सको जस्तो भूराजनैतिक परिवेशको चित्रण पाइँदैन । उनका अधिकांश कवितामा जातीय चिन्तन तथा नारी अस्मिताका कतिपय सन्दर्भको अन्वेषणसँगै यथासक्य समाधानको चाहना पनि कतै कतै ध्वनित भएको भेटिन्छ । उनका कवितामा कतै कतै आत्मपरिचयको खोज पनि छ भने कतै कतै अस्तित्वचेतना र जातित्वप्रति सचेतता देखाइएको छ । पुरुष अधिनायकततावादी समाज व्यवस्थाप्रति कवि पराजुलीको सधैँ विरोधभाव झल्केको देखिन्छ । नारी चेतना, नारी जातिको अस्मिता, हक र हीत, नारी जीवनप्रति सधैं उनको अग्रगामी सोच रहेको बुझिन्छ । आफ्ना कविताहरूमा कवि पराजुलीले बालबालिकाहरू दिनप्रतिदिन बलत्कारको शिकार हुनु परेको वर्तमानको त्रासदीपूर्ण स्थितिप्रति तीव्र स्वरमा चिन्ता प्रकट गरेकी छन् । दृष्टान्त स्वरूप एउटा सानो कविताको अंश अघि सारौं- हिजो राती स्याल कराए, कुकुरहरूले अत्तालिएर भुके निद्रा नै खजमजियो । बिहान समाचार पत्रमा पढ़ें बालिकाहरू बलात्कार भएको खबर निष्पाप दूधमुखे बालिकाहरूलाई फर्सीका टुप्पा चुँडे झैं चुँडाइएको खबर । (डर) एउटा भँगेरो आयो टप्प चारो टिप्यो भुर्र… उड्यो अर्को आयो चारो टिप्यो भुर्र… उड्यो भुर्र… भुर्र… भुरुर्र… । रित्तो पार्दै गरीबको आशा प्रत्याशा उडिरहेछन् भँगेरा उजाड्दै गरीबको अधिकार बर्सेनि आइरहेको छ न्यू इयर सुनौलो सर्पझैं देखाएर रङ्गीचङ्गी सपना फेर्छ काँचुली “हस्स बुढी हरिया दाँत ।” (एउटा तारो खस्यो आकाशबाट) संवेदनाको कुनै स्वर र अनुभूतिको कुनै रङ्ग नभए पनि कवितामा त्यो अभिव्यञ्जित हुन्छ । जुनसुकै स्थिति-परिस्थितिमा साहित्य सिर्जना गरिने भए पनि भोकमा कविता र शोखमा गजलले केही अर्थ राख्छ भन्ने कुरोबारे प्रकाश पार्दै उनको कविताकृति भोकमा कोरिएका कविताहरू-को अग्रवाणीमा समालोचक डा. जीवन नामदुङ यस्तो लेख्छन्- ‘शोकमा कोरिएका शब्दहरू गजल बन्छन् भने कतिपल्ट भोकमा कोरिएका शब्दहरू पनि कविता बन्न सक्दा रहेछन् भन्ने प्रमाण यस संग्रहका रचनाकार निरु शर्मा पराजुलीबाट हुन गएको छ ।अनुभूति र संवेदना अगोचर, अदृश्य तत्त्व भए तापनि त्यसद्वारा परिचालित, प्रतिफलित काव्यात्मक अभिव्यक्तिका तरङ्गले समाज परिवर्तनको कारक तत्त्व बनेको पाइन्छ । निरु शर्मा पराजुली यस्तै अनुभूति र संवेदनाका शब्दवाणी भोकमा कोरिएका शब्दहरू लिएर हामी सामु उपस्थित छन् । कवयित्रीको यो प्रथम संग्रह भए तापनि कवितात्मक गुण स्तरका दृष्टिले शर्माका कविताहरू अचेल देखिँदै गरेका कतिपय कविताका हरदर स्तरदेखि तल झरेका छैनन्, बरु एकाध ठाउँमा उनको कवि व्यक्तित्व र प्रतिभाको सङ्गम भने यदाकदा दृष्टिगोचर भएका छन् ।’ भारतेली नेपाली कवितामा सन् अस्सीको दशकपछि प्रयोगवादी र नवप्रगतिवादी काव्य चेतनाले विशेष महत्त्व राखेको देखिन्छ । समय र परिस्थितिलाई आत्मसात् गर्दै लेखिएका यस समयावधिका कविता लेखनमा विभिन्न स्वर र शैलीले विशेष महत्त्व पाएको देखियो । नब्बेको दशक र त्यसपछि सिर्जना भएका कविताको स्वरूप अझ नौलो धार समातेर बेग्ललिंदै गएको देखिन्छ । राजनीतिले समाजमा ल्याएको दुष्प्रभाव, समाजमा देखिएको भ्रष्टाचारी, अनैतिक कार्यकलापमाथि कतै कठोर शब्दमा त कतै कोमलकान्त शब्दावलीमा व्यङ्ग्यप्रहार गरिएको भेटिन्छ । सामाजिक विषमता र अस्थिर मानसिकताले जन्माएको विद्रोही भावलाई कवि पराजुलीले पनि आफ्ना कतिपय कविताका कथ्य भावभूमि बनाएको देखिन्छ । निरुका कतिवटा कवितामा समाजबाट हराउँदै गएको नैतिक मूल्यमान्यताको खाँचो अनुभव गरिएको छ भने कतिवटा कवितामा समाजमा अनैतिक र भ्रष्टाचारी कार्यकलाप दिनप्रतिदिन बढ्दै गएको देखेर कवि निराश बन्न पुगेका छन् । अतः नेपाली जातीय अस्तित्व सङ्कटमा परेको कुरो कवितामा अभिव्यञ्जित भएको देखिन्छ । यसका अतिरिक्त उनका कवितामा देखा परेका विभिन्न किसिमका बेथिति एवं विकृतिप्रति व्यङ्ग्य प्रहार गरिएका पाइन्छन् । दृष्टान्त स्वरूप एउटा सानो कविताको अंश अघि सारौं- दिनभरि खटेर भोक र प्यासले तखतरान भई घर फर्किँदा कुच्चिएको लोटा झैँ अनुहार लिएर अभावको रित्तो भाँडो खन्याइदिन तत्पर श्रीमतीको आँखामा देख्छु डुब्न लागेको घाम । (आहुती) टुहुरो भएर उनीहरूको अधिकार र प्राप्यलाई कुटुकुटु चबाएर ध्वस्त पारेको खबर कहाँ छ र ती निर्धाहरूलाई . प्रत्येक वर्ष आएको बाढीले सखाप पारिदिएको छ हरियाली खेत आशाको मुख मिठ्याइमै सन्तोक लिनुपरेको छ । बालकहरूको निन्याउरो अनुहार देखेर मुटु चस्किन्छ हरदम । तर के पो गरून् ती निःसहाय बले, चामे, नरेहरूले । (एउटा तारो खस्यो आकाशबाट) पराजुलीको काव्यशिल्प र शैली सम्बन्धमा समालोचक लीला लुइँटेलको समालोचनात्मक टिप्पणी साँच्चै उल्लेख योग्य रहेको देखिन्छ- ‘जातिभेदका विरोधका साथ धन, भाषा, जातीयताजस्ता अनेक सन्दर्भका आधारमा मान्छेलाई विभक्त गर्न नहुने धारणाको प्रस्तुति पाइने यिनका कवितामा मानवतावादी अवधारणा अभिव्यञ्जित छ । वर्तमान विश्वमा देखिएका अनेक खाले युद्धका कारण उत्पन्न त्रासदी परिवेशको विरोध पाइने यिनका कवितामा शान्तिको चाहनाका साथ विश्वबन्धुत्वको भाव अभिव्यक्त भएको छ । मानवीय कर्मप्रति सकारात्मक धारणा राख्दै आशावादी एवं जीवनमुखी दृष्टिकोण मुखरित यिनका कवितामा जन्मभूमिप्रति अगाध श्रद्धा प्रकट गरिएको छ । प्रतीकात्मक अभिव्यक्तिको बाहुल्य पाइने यिनका कवितामा उखान टुक्काको प्रयोग पनि सहज ढङ्गमा भएको छ ।’ आज भारतको सिक्किम-दार्जीलिङ-डुवर्स अञ्चलका साथसाथै पूर्वोत्तर भारतका विभिन्न राज्यहरूको भाषिक साहित्यिक गतिविधि निकै तीव्र बन्दै गएको अवस्था छ । भारतमा विभिन्न राज्य र प्रान्तमा देशको स्वतन्त्रता पूर्वदेखि नै नेपाली भाषी गोर्खा समुदाय बसोबासो गर्दै आएका छन् । आ-आफ्नो भौगोलिक बनावट, भूराजनैतिक कारणले प्रत्येक ठाउँका नेपाली भाषी गोर्खाहरूले आ-आफ्नै किसिमले समस्याहरू झेल्दै आएका छन् । आ-आफ्नै किसिमले समय क्रममा परिआएका समस्यालाई आफ्नो कलमद्वारा सम्बोधन गर्दै आएको देखिन्छ । अतः विभिन्न ठाउँमा बसोबासो गर्ने गोर्खा समुदायले भोगेको समस्याको स्वरूप एकै किसिमको नहुनाले भिन्न-भिन्न ठाउँबाट जन्मेका साहित्य सिर्जनामा, त्यहाँ लेखिने कविताका कथ्यवस्तुको चयन र प्रयोगमा विविधता रहेको भेटिनु स्वाभाविकै हो । कवि पराजुलीको कवितामा पनि यस किसिमको विषयवस्तुगत विविधता देखिनु कुनै अस्वाभाविक घटना होइन । उनको काव्यिक शैलीको एउटा सफल दृष्टान्त स्वरूप- खप्लक्क एउटा वर्ष पस्यो समयको गर्भमा साँपले काँचुली फेरेसरि काँचुली फेरेको समयले गिज्याउँदछ भोका-नाङ्गा गरिब जनतालाई हेप्पी न्यू इयर भन्दै मस्तराम छन् सहरका अल्लारेहरू । नदी तीरका हजार गाउँहरूमा भोको पेट मिचेर रुन्छन् नानीहरू छलताको सुनौलो छडी घुमाएर निमुखाहरूको आँखामा ज्योति जलाएर प्रकाश ल्याउनेहरूका चापलुसे कुरामा मक्ख परेर बसेका छन् निर्धनीहरू । (एउटा तारो खस्यो आकाशबाट) पहाडै काटे जङ्गै मासे अब के छ रहेको हुण्डरी बाढी यी सबै थरी गरीबकै भागको धनको पोको बाइपङ्खी घोडा धनी उड्छ फुरुरु गरीब रुन्छ पीर पीराउले समाती पुर्पुरो । (शहरको रीत गाइनेको गीत) कवि निरु पराजुलीका कविताको सम्बन्धमा निचोडमा भन्नु हो भने कवितामा स्वच्छन्द उडानको महकता र तीव्र भाव प्रभावको उन्मुक्त विचरण पाइने हुनाले उनका कविताहरू सरल र सरस प्रकृतिका छन् । कवितामा मिश्रित प्रकृतिको विविध भाव तरङ्गमा काव्यिक अभिव्यक्तिको इमानदारिता देख्न पाइन्छ । मर्मस्पर्शी शैली-शिल्पमा कुँदिएका यिनका कविताहरू तरलता र सरलताका सन्देश वाहक बनेका छन् । समसामयिक वैश्विक सन्दर्भ र सामाजिक विकृति-विसङ्गति, मानसिक र वैचारिक पीडाका अदृश्य घातक चोटहरूलाई पनि कवि पराजुलीले निकै सरल र सहज स्वरमा काव्यिक वाणी दिएकी छन् । कवितामा अभिव्यक्त भोक शारीरिक जैविक प्रक्रियाको एउटा सामान्य पक्ष हो भने कतिपय अर्थमा आक्रोश र विद्रोह भावको परिचायक लक्षण पनि हो भनी मान्न सकिन्छ । कुनै पनि किसिमको भोकले सताएको बेला मानिस वा प्राणी जातिले आफ्नो बौद्धिक र शारीरिक सन्तुलन समेत गुमाउन पुग्छ । भोकले मातेको बेला सौन्दर्ययुक्त कविता रचिँदैन बरु आक्रोशपूर्ण कविता कोरिन्छ, विद्रोहका आवाजहरू ओकल्न पुगिन्छ । भोकमै कोरिएका वा ओकलिएका कविताहरू भए पनि कवि निरु पराजुलीका यी अधिकांश कविताहरू थाङ्ने र बगमफुसे गनगन र गनथन बनेका भने छैनन् । उनका सफल कविताहरूको दृष्टान्त लिनु परे शहरको रीत गाइनेको गीत, डर, एउटा तारो खस्यो आकाशबाट र आहुती शीर्षक कविताहरूलाई मात्र अघि सारे पनि मनग्यै हुन्छ । अतः कवितामा कतै निराश भाव अभिव्यक्त गरिएको भेटिन्छ र कतै भने सत्ताप्रतिको विद्रोह भाव पोखिएको छ । कवितामा नेपाली जातीय अस्तित्व सङ्कटमा परेको भाव अभिव्यञ्जित भएको पाइन्छ । कवितामा कतै नारी अस्तित्व चेतना, हीनताबोध, नारी जीवनसँग सम्बद्ध निराशा, मूल्यहीनताको चित्रण मुख्य रूपमा भेटिन्छ भने कतै निम्न वर्गप्रति सद्भाव र सहानुभूतिको प्रस्तुति पनि पाइन्छ । The post पराजुलीका कवितामा समयचेतना र अनुभूतिको स्वर appeared first on साहित्यपोस्ट.