वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य: ओली - swadeshpost.com
२७ मंसिर, माडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले असंवैधानिक तवरले विघटन गरिएको संसद् पुनःस्थापना गरी संविधानको लिकमा देश फर्काउनुपर्ने धारणा राख्नुभयो । ओलीले मुलुक गम्भीर संवैधानिक संकटमा फसेको दाबी गर्दै तत्काल प्रतिनिधिसभा पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकारले जालझेल र प्रतिशोधको राजनीति लिएको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्तिका रूपमा उभिने उहाँको उद्घोष थियो । आफू प्रधानमन्त्री हुँदा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दै ओलीले भदौ २३ र २४ गतेका हिंसात्मक घटनाले देशलाई गृहयुद्धतर्फ धकेल्ने खतरा देखिएको र त्यसबाट बचाउन आफूले राजीनामा दिएको दाबी गर्नुभयो । उहाँले राज्यका तीनै अंगमाथि एकसाथ आक्रमण, सुरक्षाकर्मीको हत्या र भौतिक संरचनामा आगजनी जस्ता घटनाले देशलाई महाविनाशतर्फ लैजान खोजिएको आरोप लगाउनुभयो । फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनलाई उहाँले ‘नाटक’ को संज्ञा दिनुभयो । सरकारले चुनावको मिति तोके पनि कुनै तयारी नगरेको र भय तथा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउँदै निष्पक्ष चुनाव सम्भव नहुने उहाँको भनाई थियो । संवादको सट्टा निषेध र बहसको सट्टा मुद्दाको राजनीति भइरहेको उहाँले टिप्पणी गर्नुभयो । पार्टी एकतामाथि जोड दिँदै ओलीले ‘एक र एक जोडेर दुई होइन, एघार बन्ने’ उपमा प्रयोग गर्नुभयो । फुटेर होइन, जुटेर मात्रै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल हुने उल्लेख गर्दै उहाँले लोकतन्त्र र संविधानमाथिका प्रहार परास्त गर्न एमाले पंक्तिलाई उच्च मनोबलका साथ गाउँ–गाउँमा खटिन निर्देशन समेत दिनुभयो ।