रोहितको ‘फ्लाइङ किस’ र लुम्बिनीको पुनरागमनको कथा - nepalnews.com
स्कोरबोर्डको नतिजाभन्दा ठूलो हुन्छ, क्रिकेटमा टोलीको विश्वास। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले यही विश्वासलाई आफ्नो धारिलो हतियार बनायो। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको लुम्बिनीको जित कप्तान रोहितकुमार पौडेलको सबल नेतृत्व, टोलीको एकता र निरन्तर आत्मविश्वासको परिणाम थियो। उपाधि जितेपछि रोहितको यो भनाइबाट यही सार बुझिन्छ, “च्याम्पियन बन्न विश्वास चाहिन्छ। पुनरागमन गर्छौं भन्ने विश्वास थियो।” पहिलो संस्करणमा अंकतालिकाको पुछारमा रहेर एनपीएलको अन्त्य गरेको लुम्बिनीले यसपालि अविश्वसनीय खेल प्रदर्शन गर्यो र उपाधि आफ्नो पोल्टामा पार्यो। चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सानदार सुरुआत गरेको लुम्बिनी त्यसपछि कर्णाली याक्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिमसँग पराजित भयो। लगातार तीन खेलको हारपछि लुम्बिनीका समर्थकहरू कप्तान रोहितसँग भड्किसकेका थिए। अझ, क्लबका मालिक ईश्वर जिसीले निराश हुँदै ‘इज इट नट इनफ नाउँ!’ भन्दै समाजिक सञ्जालमा एउटा सन्देश नै पोस्टाए। लगातारको खराब प्रदर्शनपछि सामाजिक सञ्जालमा पनि उनलाई टुकटुक खेलेको आरोप लाग्यो। तर, आमा पलजेश पौडेल छोराको क्षमताप्रति पूर्ण विश्वस्त थिइन्। उनी छोराको हौसला बढाउन नवलपरासीस्थित बर्दघाटबाट राजधानी प्रवेश गर्दै पोखरा एभेन्जर्सविरुद्धको खेलअगाडि मैदानमा एकाएक प्रकट भइन्। लगभग प्रतियोगिताबाट बाहिरिसकेको स्थितिमा लुम्बिनीले अन्तिम दुई बल बाँकी रहँदा तीन विकेटले जित निकाल्यो। लुम्बिनीको उपाधि जितको वास्तविक ‘टर्निङ पोइन्ट’ नै यही खेल थियो। यसपछि लुम्बिनीले लगातार पाँच खेल जित्यो र आफूलाई विजेताका रूपमा उभ्यायो। “यो यात्रा आफैँमा रहस्यमय फिल्म जस्तै रह्यो,” रोहित भन्दै थिए। उपाधि जितेपछि उनले आमालाई ‘लक्की चाम’ को उपमा दिन भुलेनन्। फाइनलमा उनले सुदूरपश्चिमविरुद्ध ह्याट्रिक विकेट लिए। यसपछि मैदानबाटै आमालाई ‘फ्लाइङ किस’ दिए। अन्तर्राष्ट्रिय खेलकुदमा यस्तो ‘सेलिब्रेसन’ खेलाडीहरूले प्रेमिका, श्रीमती र छोराछोरीलाई दिने गर्छन्। तर, २३ वर्षीय अविवाहित रोहितले क्रिकेटको उत्कृष्ट क्षणलाई परिवारप्रति समर्पित गरे। “त्यो मेरो परिवारकै लागि थियो। ममी, ड्याडी, दिदीभिनाजु सबै आउनुभयो। कारमा ममी-ड्याडीलाई राख्ने धोको थियो। त्यो पूरा भयो,” यसो भन्दै गर्दा उनी भावुक देखिए। रोहितका लागि यसपालिको एनपीएलमा ‘लक्की चाम’ उनकी आमा देखिए पनि लुम्बिनीलाई उपाधि दिलाउन तीन खेलाडीको प्रदर्शन निर्णायक बन्यो। म्यान अफ द म्याच अवार्ड जितेपछि आमासित रोहित। तस्बिर : एनपीएल खेल उल्ट्याउने तीन खेलाडी लुम्बिनी लायन्सको उपाधि यात्रामा तीन खेलाडी यस्ता देखिन्छन्, जसको उपस्थितिमा जितको आधार तय भएको थियो। जसमा कप्तान रोहित केन्द्रमा रहे। हुन त रोहितले पहिलो संस्करणमा पनि नराम्रो प्रदर्शन गरेका होइनन्। सात इनिङ्समा उनले दुई अर्धशतकसहित २७९ रन बनाएका थिए। त्यतिबेला पनि उनी सर्वाधिक रनकर्ताको सूचीको तेस्रो स्थानमा रहे। नेपाली खेलाडीतर्फ त शीर्षस्थानमा भइहाले। तर, उनलाई त्यतिबेला अन्य खेलाडीले दरिलो साथ दिएका थिएनन्। त्यसैले टिम एक खेल जित्दै पुछारमा रह्यो। यसपल्ट भने उनी एक्लै परेनन्। उनलाई अस्ट्रेलियन पूर्वओपनर डी’ आर्सी सट र अन्तर्राष्ट्रिय क्रिकेटको पर्खाइमा रहेका शेर मल्ल पनि साथ दिए। ब्याट र बल दुवैमा प्रभावशाली देखिएका रोहितले कप्तानी खेल प्रदर्शन गरे। उनले ब्याटबाट २७६ रन जोड्दै सर्वाधिक रनकर्ताको सूचीमा आफूलाई दोस्रो स्थानमा उभ्याए। बलिङतर्फ १० विकेट लिए। अझ फाइनलमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै ह्याट्रिक पनि पूरा गरे। प्रतियोगितामा ह्याट्रिक विकेट लिने काठमान्डु गोर्खाजका स्पिनर साहब आलमपछि उनी दोस्रो बलर हुन्। यही निरन्तरताका कारण उनी ‘प्लेअर अफ दी टुर्नामेन्ट’ पनि घोषित भए। जसबापत उनी कारबाट सम्मानित भए। यसका साथै उनले उत्कृष्ट ब्याटर र सर्वाधिक रनकर्ताको उपाधिबापत बाइक पनि जिते। लुम्बिनीका लागि सटले पनि नामजस्तै इनिङ्स खेले। जनकपुर बोल्ट्सविरुद्ध जित्नैपर्ने खेलमा उनले ३० रन बनाए। विराटनगर किङ्सविरुद्ध क्वालिफायर-२ मा पनि उनले ४५ रनको इनिङ्स खेल्दै टोलीलाई फाइनलसम्म पुर्याए। फाइनलमा चल्न नसके पनि प्रतियोगिताभर उनले गरेको प्रदर्शनले लुम्बिनीलाई नयाँ उचाइमा पुर्यायो। सटले एक अर्धशतकसहित २५६ रन बनाए। जुन प्रतियोगिताको चौथो ठूलो व्यक्तिगत स्कोर हो। यी दुई खेलाडीसँगै निर्णायक भूमिकामा २३ वर्षीय बलर शेर मल्ल पनि रहे। उनी घरेलु क्रिकेटका लागि अपरिचित नाम होइन। एनपीएलको दुई वटै संस्करणमा विजेता टिममा रहँदै प्रभावशाली प्रदर्शन गर्ने उनी एक्ला खेलाडी हुन्। गत संस्करणमा उनी जनकपुर बोल्ट्समा आबद्ध थिए। त्यतिबेला उनले क्वालिफायर-२ मा जनकपुर १५.६ ओभरमा ७–९६ को स्थितिमा रहेको बेला १० बलमा एक छक्कासहित १६ रन बनाएका थिए। जसले ११९ रनको लक्ष्य पछ्याइरहेको जनकपुरलाई जित दिलाउन महत्त्वपूर्ण काम गर्यो। यसपालिको अक्सनमा उनलाई लुम्बिनीले १० लाख रुपैयाँमा किनेको थियो। फाइनलमा तीनसहित प्रतियोगिताभर १७ विकेट लिएका उनी ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ घोषित भए। उनले पनि बाइक प्राप्त गरे। सुदूरपश्चिमको दुर्भाग्य यसपालि सबैभन्दा दुर्भाग्यपूर्ण टोली सुदूरपश्चिम रोयल्स नै रह्यो। उसका लागि पहिलो र दोस्रो संस्करण खासै फरक रहेन। दुवै संस्करणमा लिग चरणको एक खेलमा मात्र हार बेहोरेको सुदूर यसपालि पनि फाइनल पुगेर पराजित भयो। सुदूरपश्चिमको बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्ष उत्कृष्ट थियो। ओपनर विनोद भण्डारीले नौ इनिङ्समा दुई अर्धशतकसहित २६४ रन बनाए। आरिफ शेखले १८६, दीपेन्द्रसिंह ऐरीले १६२ र इशान पाण्डेले १६० रनको योगदान गरेका थिए। टोलीको बलिङ पनि उस्तै बलियो रह्यो। पहिलो संस्करणमा सर्वाधिक १७ विकेट लिएका स्कट कुग्लेइन यसपल्ट त्यति चम्किन सकेनन्। उनले १० विकेट हात पार्दा ३० वर्षीय पेसर अविनाश बोहराले भने आफ्नो लय समाते। उनले विराटनगरका कप्तान सन्दीप लामिछाने र लुम्बिनीका शेरसँगै समान १७ विकेट लिए। उपाधि जितेपछि खुसी मनाउँदै रोहित। तस्बिर : एनपीएल त्यसबाहेक हर्मित सिंहले अलराउन्डर प्रदर्शन गरे। उनले पनि ब्याटिङमा १३३ रन र बलिङमा १२ विकेट लिए। दीपेन्द्रले पनि नौ विकेटको योगदान गरे। तर, फाइनल खेलमै यी सबै चुक्दा लुम्बिनीले उपाधि उचाल्ने मौका पायो। सबै खेलमा १०० भन्दा माथि रन बनाएको सुदूरपश्चिम यसपल्ट ८५ रनमै समेटियो र ६ विकेटले लुम्बिनीसँग पराजित भयो। प्रशिक्षक जगत टमाटाले यो निराशा लुकाएनन्। “एक महिनादेखि उपाधि जित्ने लक्ष्यसहित मिहिनेत गरेका थियौँ। फाइनलमा आएर चुक्दा सबै परिश्रम खेर गयो,” उनले भनेका छन्। टस जितेर ब्याटिङ रोजे पनि अपेक्षित स्कोर बनाउन नसक्नु नै हारको मुख्य कारण बनेको उनको ठहर थियो। ‘इन्टरटेनर’ बने डुप्लेसिस, एडमको सर्वाधिक रन खेर यसपल्ट १४ देशबाट ५२ भन्दा बढी विदेशी खेलाडी एनपीएल खेल्न त्रिवि मैदानमा उत्रिए। त्यसमा दक्षिण अफ्रिकी ब्याटर फाप डु प्लेसिसदेखि इङ्ल्यान्डका मार्टिन गप्टिल र रवि बोपारासहित अस्ट्रेलियाका क्रिस लिनजस्ता चर्चित क्रिकेटर रहे। तर, रविबाहेक अन्यले आफ्नो क्षमता देखाउन सकेनन्। यी खेलाडीले आठदेखि ५७ लाखसम्म पारिश्रमिक लिएको समाचार बाहिरियो। तर, पाएको पारिश्रमिकलाई भने स्कट ब्याटर एडम रोसिङटन, सोहि राष्ट्रका मार्क वाट, इङ्ल्यान्डका रवि र बेन चार्ल्सवर्थबाहेक अरूले न्याय गर्न सकेनन्। विराटनगरबाट खेल्दा गप्टिल यस संस्करणमा ‘फ्लप’ साबित भए। एडमले पोखरा एभेन्जर्सका लागि प्रहार गरेको ३२३ रन टोली क्वालिफाई नहुँदा खेर गयो। एनर्जेटिक प्लेयर अफ द म्याच जितेपछि रोहित। तस्बिर : एनपीएल तर, सुखद पक्ष, पहिलो संस्करणमा दुई खेल मात्र जितेको पोखराले यसपल्ट एक खेल बढी जित्यो। तीन जित निकालेको पोखरा पाँचौँ स्थानमा रहँदा कर्णाली छैटौँ, चितवन सातौँ र पहिलो संस्करण जितेको जनकपुर भने अन्तिममा रहे। बरु गत संस्करण अन्तिममा रहेको लुम्बिनीले भने जनकपुरको स्थान लियो। दुःखको कुरा, फापको प्रदर्शन निराशाजनक भयो। पहिलोपल्ट उपाधि जित्ने लक्ष्यसहित ४० लाख रुपैयाँ खर्चेर ल्याइएको भनिएका फाप ‘इन्टरटेनर’ मात्र साबित भए। उनले सुदूरपश्चिमविरुद्ध ५० रनको इनिङ्स खेल्दै विराटनगरलाई क्वालिफायर-१ मा पुर्याएका थिए। तर, जित्नैपर्ने अन्य दुई खेलमा भने ३६ र तीन रनमै रोकिए। योसँगै विराटनगरको लगानी बालुवा पानी साबित भयो। क्यानका लागि व्यवस्थापकीय चुनौती एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा सकारात्मक सन्देश दिन सफल भयो। फाप डु प्लेसिस र मार्टिन गप्टिलजस्ता विश्वस्तरीय खेलाडीहरूको सहभागिताले नेपाल क्रिकेट खेल्नका लागि सुरक्षित र सक्षम देश हो भन्ने धारणा स्थापित भएको छ। यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको तथ्य अस्वीकार गर्न सकिँदैन। तर, यति ठूलो सम्भावना बोकेको प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक व्यवस्थापन, अपारदर्शिता र विवादका कारण अपेक्षित स्तरमा प्रभाव पार्न असफल देखिन्छ। एनपीएलको सबैभन्दा गम्भीर समस्या पारदर्शिताको अभाव हो। प्रतियोगितामा कुन विदेशी खेलाडी कति रकममा अनुबन्धित भए भन्ने विषय न फ्रेन्चाइज कम्पनीले सार्वजनिक गरेका छन्, न क्यानले आधिकारिक धारणा नै प्रस्तुत गर्न सकेको छ। विश्वका प्रमुख क्रिकेट लिग मानिने इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल) र द हन्ड्रेडमा खेलाडीको मूल्य, सम्झौता प्रक्रिया र आर्थिक विवरण खुला रूपमा उपलब्ध हुन्छन्। त्यही अभ्यासले ती लिगलाई विश्वसनीय बनाएको हो। तर, एनपीएलमा डु प्लेसिसजस्ता चर्चित खेलाडी ल्याउँदा पनि रकम लुकाइनु क्यानको संस्थागत पारदर्शिताप्रति गम्भीर प्रश्न खडा गर्ने विषय हो। क्यानमा वित्तीय पारदर्शिताको अभाव देखिन्छ। पहिलो एनपीएल सम्पन्न भएको लामो समय बितिसक्दा पनि त्यसको आय-व्यय विवरण सार्वजनिक गरिएको छैन। दोस्रो संस्करण सुरु भइसक्दा पनि अघिल्लो प्रतियोगिताको लेखापरीक्षण नआउनु क्यानको गैरजिम्मेवार व्यवस्थापनको संकेत हो। क्रिकेट संघ सरकार, प्रायोजक र दर्शकप्रति उत्तरदायी संस्था हो। आर्थिक हिसाबकिताब स्पष्ट हुँदैन भने कुनै पनि लिग दीर्घकालीन रूपमा टिक्न सक्दैन भन्ने कुरा विश्व खेलकुद इतिहासले पटक पटक प्रमाणित गरिसकेको छ। नेपालकै सन्दर्भमा पनि फुटबल संघलाई हेरे पुग्छ। टिकट व्यवस्थापनले पनि एनपीएलको छवि कमजोर बनायो। कुनै स्पष्ट नीतिबिना रातारात टिकटको मूल्य ५०० रुपैयाँबाट दुई हजार रुपैयाँ पुर्याइनु दर्शकप्रति गरिएको अन्याय थियो। टिकट काटिसकेपछि ‘रिफन्ड’ हुने समस्या, मैदानभित्र खाली सिट देखिँदा पनि ‘सोल्ड आउट’ घोषणा गरिनुजस्ता घटनाले दर्शकको भरोसा पक्कै तोडिन्छ। आधुनिक खेल व्यवस्थापनमा डिजिटल टिकट प्रणाली, सिट व्यवस्थापन र वास्तविक बिक्री तथ्यांक अत्यावश्यक भइसकेका छन्। एनपीएलमा भने निर्णयहरू हचुवाका भरमा गरिँदा अव्यवस्था निम्तिएको प्रस्ट छ। यसैसँग जोडिएको अर्को गम्भीर विषय सुरक्षा र भीड व्यवस्थापन हो। मैदानबाहिर टिकट नपाएर दर्शकहरूबीच झगडा भइरहेको अवस्थामा रंगशाला भित्र सिट खाली देखिनु राम्रो संकेत पक्कै होइन। अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भीड व्यवस्थापनमा सानो कमजोरीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ। यसप्रति क्यान संवेदनशील हुनु जरुरी छ। क्यानको आन्तरिक संरचनामा समस्या स्पष्ट देखिन्छ। नीति निर्माण गर्ने पदाधिकारीहरू नै टिकट बाँड्ने, पैसा उठाउने र व्यवस्थापकीय काममा प्रत्यक्ष संलग्न हुँदा ‘चेक एन्ड ब्यालेन्स’ प्रणाली पूर्ण रूपमा निष्क्रिय देखियो। संस्थागत शासनको आधार भनेकै नीति बनाउने र कार्यान्वयन गर्ने निकाय फरक फरक हुनु हो। एउटै व्यक्ति निर्णायक पनि बन्ने र कार्यान्वयनकर्ता पनि हुने अवस्था रहँदा नियन्त्रण सम्भव हुँदैन। एनपीएलसँग जोडिएको अर्को संवेदनशील विषय बेटिङ कम्पनीको संलग्नता हो। यो विषय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का लागि पनि टाउको दुखाइको कारण बन्न सक्छ। फ्रेन्चाइजी सुदूरपश्चिम रोयल्सले ‘बाजी स्पोर्टस्’ लाई खुलमखुल्ला प्रचार गर्यो। सतहमा समाचार वेबसाइटका रूपमा प्रस्तुत भए पनि यसको पछाडि ‘बाजी ८८’ र ‘बाजी लाइभ’ जस्ता सट्टेबाजी नेटवर्कको सक्रियता छ। यो कुनै नयाँ घटना पनि होइन। गत सिजनमा पनि रोयल्सले ‘बाबु ८८ स्पोर्टस्’ नामको अर्को बेटिङ प्लेटफर्मको सरोगेट लोगो प्रयोग गरेको थियो। भारतमा बेटिङ प्रतिबन्धित भएकै कारण जिओले आईसीसीसँगको दीर्घकालीन सम्झौता बीचमै तोडेको उदाहरण ताजै छ। नेपालजस्तो देशमा जुवालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रवर्द्धन गर्नु सामाजिक र खेलकुद दुवै दृष्टिले जोखिमपूर्ण कदम हो। आईसीसीको एन्टि-करप्सन मापदण्ड कडा रहेकाले यसले भविष्यमा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमै समस्यामा पार्न सक्छ। एनपीएल सिजन २ को उपाधि जितेपछि लुम्बिनीको टोली। तस्बिर : एनपीएल भारतमा आईपीएलको सुरुआती चरणमा देखिएको अपारदर्शिता र शक्ति केन्द्रीकरणकै कारण ललित मोदीलाई हटाउनुपरेको इतिहास छ। क्यानले यसबाट पाठ सिक्नैपर्छ। अपारदर्शिता, वित्तीय अस्पष्टता र व्यवस्थापकीय अव्यवस्था यथावत् रहिरहेको खण्डमा लगानीकर्ताहरू ठगिएको महसुस गर्नेछन्। अन्ततः यसको असर लिगको अस्तित्वमै नपर्ला भन्न सकिँदैन। एनपीएल नेपालको क्रिकेट अर्थतन्त्रका लागि ठूलो अवसर हो। तर, त्यो अवसर ठूला खेलाडी ल्याएर मात्र सुरक्षित हुँदैन। अब क्यानले देखाउनुपर्ने कुरा भनेको व्यवस्थापनको परिपक्वता, पारदर्शिता र संस्थागत उत्तरदायित्व हो। यदि क्यान समयमै सुधारको बाटोमा नहिँड्ने हो भने एनपीएल सम्भावनाबाट संकटतर्फ धकेलिने खतरा देखिनेछ।