Redirecting...

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी - ehimalayatimes.com

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी - ehimalayatimes.com
Source: hmlt

दाङ । राष्ट्रिय सभासदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस र एमालेको राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमतिअनुसार कांग्रेसबाट चन्द्रबहादुर केसी र वासुदेव घिमिरे ‘जङ्गली’ र एमालेबाट रामकुमारी झाँक्रीको उम्मेदवारी परेको हो । दाङको लमही नगरपालिका–२ निवासी घिमिरेले अपाङ, केसी अन्य र झाँक्री महिला कोटामा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन मुख्य अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । घिमिरेको प्रस्तावकमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी रहनुभएको छ । गुल्मी रेसुङ्गा नगरपालिका–३ निवासी केसीको प्रस्तावकमा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत रहनुभएको छ । त्यसैगरी झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमाकुमारी डिसी रहनुभएको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तीनजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अपाङ्गता क्लस्टरतर्फ बाँके बैजनाथ–५ निवासी सर्जन विकले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य दीपेन्द्र घर्ती रहनुभएको छ भने समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढा रहनुभएको छ । यस्तै, अन्य क्लस्टरतर्फ रूपन्देहीका बृहस्पति अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य यमबहादुर नेपाली रहनुभएको छ भने समर्थकमा प्रदेशसभा सदस्य मीना बुढा रहनुभएको छ । महिला क्लस्टरतर्फ पाल्पाकी दुर्गा भण्डारीले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा इन्द्रजित चौधरी रहनुुभएको छ भने समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमप्रसाद शर्मा रहनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ । प्यूठानका बोमबहादुर खत्री र पद्मा पण्डितले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्यूठानको मल्लरानी गाउँपालिका–२ का खत्रीले ‘अन्य’ र प्यूठान नगरपालिका–८ का पद्मा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराउनुभएको हो । खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ । पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा र समर्थकमा स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज राना मगर रहनुभएको छ । लुम्बिनी प्रदेशमा एक अपाङ्गता, एक महिला र एक खुला गरी तीन कलस्टरमा मनोनयन दर्ता भएको छ । एमालेबाट निर्वाचित राष्ट्रियसभा सदस्य गोपाल भट्टराई र राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ । उहाँहरूको स्थानमा निर्वाचन हुन लागेको हो । भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट निर्वाचित हुनुभएको थियोे । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कूल ३०४ जना मतदाता रहेका छन् । यही मतदातामार्फत राष्ट्रियसभा सदस्यको चयन गरिनेछ ।