पूर्वराजा ज्ञानेन्द्र शाहको जनकपुर भ्रमण अर्थपूर्ण, धार्मिक भनिए पनि राजनीतिक भेटघाट हुने - bishwokhabar.com
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने भएका छन् । उनी ११ गते जनकपुर जाने कार्यक्रम तय भएको छ । आन्तरिक रूपमा हिन्दुराज्य र राजतन्त्रको माहोल बनाउन सुरु गरेका पूर्वराजा ज्ञानेन्द्र धार्मिक भ्रमणको नाममा जनकपुर जान लागेका हुन् । मुलुक निर्वाचनमा होमिएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र जनकपुर जानु अर्थपूर्ण रूपमा हेरिएको छ । स्रोतका अनुसार यही माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साह ९बालेन) रास्वपाको चुनावी सभामा पुग्दा पूर्व युवराज पारस शाहले भेट गरेका थिए । केही दिनदेखि पारस शाह पनि जनकपुरमै छन् । पछिल्लो एक महिनायता पारस र ज्ञानेन्द्र झापामा सँगसँगै बसेका छन् । जनकपुर भ्रमणको क्रममा १२ गते सोमवार जानकी र राममन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । यही १३ गते जनकपुरमा आराम गर्नेछन् । १४ गते फेरि झापा फर्किने छन् । जानकी मन्दिरमा पूर्वयुवराज पारस, बुहारी हिमानी, छोरी प्रेरणा, पारस पुत्रीद्वय कीर्तिका र पूर्णिका, धीरेन्द्रपुत्रीलगायत पूर्वराजाका परिवारले पूजाअर्चना गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । जनकपुर बसाइ होटल सोल्टीमा हुनेछ । उक्त होटलमा ज्ञानेन्द्रको स्वामित्व छ । जनकपुरमा १३ गते आराम गर्ने भनिएपछि राजनीतिक भेटघाट हुनसक्ने कार्यक्रम छ । जनकपुरमै रहेका पूर्वयुवराज पारसले विभिन्न व्यक्तिसँग भेटघाटको चाँजोपाँजो मिलारहेका छन् । चुनावमा आफ्नो स्थापित गर्न पूर्वराजाले तराईबाट चलखेल सुरु गर्ने स्रोतले बताएको छ । विशेषगरी बालेन्द्र र रास्वपा, स्थानीय राजावादीका नेता तथा कार्यकर्तासँग भेट गर्ने कार्यक्रम रहेको छ । पूर्ण रूपमा धार्मिक भनिए पनि राजनीतिक भेटघाट हुनेगरी समय तय गरिएको छ । नेपाली राजनीतिमा जेन–जी आन्दोलनपछि केही जेनजी पुस्ताले नेपालमा राजतन्त्र र हिन्दुराज्य ल्याउने पहल गरिरहेका छन् । सोही मेसोमा पूर्वराजा झापा बसेर फागुन २१ गते हुने निर्वाचनमा मधेसको राजनीतिक अवस्था बुझिरहेका छन् । सोही आधारमा उनी जनकपुर जान लागेका हुन् ।