विदेशमा रहेका नेपालीले यसपालि भोट हाल्न नपाउने, शीर्ष दलले नै सरकारलाई भनेका थिए- ‘नियम नबदलौं’ - nagariknews.nagariknetwork.com
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताले मतदान गर्न नपाउने बताएका छन्।मंगलबार नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै मन्त्री खरेलले विदेशबाट मतदान र नो-भोटको व्यवस्थाबारे दलहरूसँग छलफल भए पनि यसपटक सम्भव नभएको बताएका हुन्।मन्त्री खरेलका अनुसार सरकारले विदेशमा रहेका नेपालीको मताधिकार र अन्य वैकल्पिक विधिबारे शीर्ष राजनीतिक दल र निर्वाचन आयोगसँग परामर्श गरेको थियो। तर, शीर्ष नेताहरूले निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा नयाँ नियम लागु नगर्न सुझाव दिएका थिए।‘मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले हामीलाई स्पष्ट भन्नुभएको छ- खेल सुरु भइसकेपछि खेलको नियम नबदलौँ,’ मन्त्री खरेलले भने, ‘अहिले विधि र प्रविधि दुवै नबदलौँ, अर्को निर्वाचनका लागि तयार गरौँ भन्ने सुझाव आएपछि सरकार फागुन २१ को निर्वाचन तोकिएकै विधिमा गर्न अघि बढेको हो।’मन्त्री खरेलले विदेशमा रगत र पसिना बगाइरहेका, जसको नागरिकता र पासपोर्ट नेपालकै छ, उनीहरूलाई मताधिकार दिने सरकारको तीव्र चाहना हुँदाहुँदै पनि कानुनी र प्राविधिक जटिलताले यसपटक रोकिनुपरेको बताए।‘जसको घर नेपालमा छ, जसले पठाएको पैसाले देश चलेको छ, उसले भोट हाल्न पाउनुपर्छ भन्ने जेन-जी आन्दोलनको पनि म्यान्डेट हो,’ मन्त्री खरेलले भने, ‘हामीले प्राविधिक टोलीसँग आई-भोटिङ सम्भव छ कि भनेर छलफल पनि गर्यौँ। तर, अहिले हतारमा गर्दा सकिँदैन भन्ने निष्कर्षमा पुग्यौँ। सरकार अब यसका लागि बलियो कानुन बनाएर मात्र अघि बढ्ने तयारीमा छ।’