भारतको जितमा इशान र सूर्यकुमारको अर्धशतक - www.hamrokhelkud.com
एजेन्सी – इशान किशन र सूर्यकुमार यादवले अर्धशतक बनाएपछि भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै टि ट्वान्टी आई सिरिजमा २-० को अग्रता लिएको छ। रायपुरमा २ सय ९ रनको लक्ष्य भारतले १५.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो। भारतको सुरुआत खराब रह्यो। पहिलो सात बलमै सन्जु स्यामसन (६) र अभिषेक शर्मा (०) आउट भए। तर त्यसपछि इशान र सूर्यकुमारले शानदार ब्याटिङ गर्दै खेल भारतको पक्षमा फर्काए। इशानले २१ बलमै अर्धशतक पूरा गरे । उनले ३२ बलमा ११ चौका र ४ छक्कासहित ७६ रन बनाए। इशानले पावरप्लेमा नै न्युजिल्यान्डका बलरहरूमाथि आक्रामक प्रहार गरे। सूर्यकुमारले पनि उत्कृष्ट फर्म देखाउँदै अविजित ८२ रन बनाए। लामो समयपछि उनले टि ट्वान्टी आईमा अर्धशतक पूरा गरेका हुन् । ३७ बल खेलेका सूर्यकुमारले ९ चौका ४ छक्का प्रहार गरे। सूर्यकुमारले शिवम दुबेसँग चौथो विकेटका लागि ८१ रनको नटआउट साझेदारी गरे। शिवमले १८ बलमा ३ छक्का र १ चौकासहित ३६ रन जोडे। म्याट हेन्री, ज्याकब डफी र इश सोदीले समान १ विकेट लिए। त्यसअघि न्युजिल्यान्डले ब्याटिङ गर्दै २० ओभरमा २ सय ८ रन बनाएको थियो। डेभोन कन्वे (१९ रन ) र टिम सेइफर्ट (२४ रन) ले राम्रो सुरुआत दिलाए । भारतका बलरहरूले बीच–बीचमा विकेट लिँदै दबाब बनाएका थिए। रचिन रवीन्द्र (४४ रन ) र मिचेल स्यान्टनर (४७ रन) ले अन्त्यतिर रन जोडे पनि त्यो पर्याप्त भएन। भारतका कुलदीप यादवले २ विकेट लिए । ५ मध्येको तेस्रो खेल आइतवार गुवाहाटीमा हुनेछ।The post भारतको जितमा इशान र सूर्यकुमारको अर्धशतक first appeared on हाम्रो खेलकुद.