Redirecting...

शाक्यले गरे तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन,अर्थतन्त्र र रोजगारीमा सहयोग पुग्ने अपेक्षा - kendrabindu.com

शाक्यले गरे तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन,अर्थतन्त्र र रोजगारीमा सहयोग पुग्ने अपेक्षा - kendrabindu.com
Source: kend

गुल्मी। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत प्रसारणलाइन र सवस्टेशनको स्थलगत अनुगमन गरेका छन् । लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरेका हुन् । उनले गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभीए), मुसिकोट नगरपालिका अन्तर्गत पौँदीअमराइ (४६ एमभीए) र बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभीए) क्षमताका सवस्टेशन तथा प्रसारणलाइनको निरीक्षण गरेका छन् । शाक्यकै उपस्थितिमा प्राविधिक निरीक्षणपछि परीक्षणमा रहेको तम्घासस्थित सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइन चार्ज गरिएको प्राधिकरणले जनाएको छ । शाक्य प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल, उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक केदारराज सिलवाल र मझौला भोल्टेज ग्रिड विकास विभागका निर्देशक अच्युतबाबु घिमिरेसहित अनुगमनमा पुगेका थिए । अनुगमनपछि शाक्यले विद्युत आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन प्राधिकरणले उक्त आयोजनालाई प्राथमिकतामा राखेको बताएका छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे पनि तम्घास सवस्टेशनमा पुगेका थिए । शाक्यले तम्घास सवस्टेसन निरीक्षणपछि ३३ केभी लाइनबाट विद्युत आपूर्ति हुँदा दैनिक १०–१५ पटक समस्या हुने गरेको अवस्थामा अहिले १३२ केभी प्रसारणलाइन सञ्चालनमा आएपछि विद्युत आपूर्ति नियमित र भोल्टेज सुधार भएको जानकारी प्राप्त भएको बताएका छन् । उनले सवस्टेशन सञ्चालनमा आएपछि उद्योग–व्यवसायलाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन सकिने बताएका छन् । साथै कृषि, साना तथा ठूला उद्योग विस्तारमा सहयोग पुग्ने र यसले स्थानीय अर्थतन्त्र माथि उठाउन तथा रोजगारी सिर्जना गर्न योगदान पुग्ने अपेक्षा गरिएको बताएका छन् । उनले प्रसारणलाइन सञ्चालनसँगै निजी क्षेत्रबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुने र भविष्यमा पम्पस्टोरेज आयोजना विकासको सम्भावना पनि बढेको बताएका छन् । शाक्यले बुर्तिबाङ क्षेत्रमा सञ्चालन भएका लघु जलविद्युत आयोजनालाई प्राधिकरणको सञ्जालमा जोडेर सञ्चालन गर्ने सम्भावनाबारे छलफल गरिने बताएका छन् । उनले दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफल भएको र अब नियमित विद्युत आपूर्ति हुने बताएका छन् । आयोजना प्रमुख मनोजप्रसाद चौधरीले आयोजनाअन्तर्गत कपिलवस्तुको मोतिपुरदेखि अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको उनाएचौर र पौँदीअमराइ हुँदै बागलुङको बुर्तिबाङसम्म पाँच स्थानमा सवस्टेशन निर्माण गरिएको बताएका छन् । उनका अनुसार आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि गुल्मी, बागलुङ, अर्घाखाँची र कपिलवस्तु जिल्लामा विद्युत आपूर्ति थप नियमित, भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ । प्राधिकरणका अनुसार पहाडी जिल्लामा लामो दूरीबाट विद्युत आपूर्ति गर्दा हुने भोल्टेज घट्ने, ओभरलोड हुने तथा बारम्बार विद्युत अवरुद्ध हुने समस्या कम हुने अपेक्षा गरिएको छ । करिब चार अर्ब ७६ करोड रुपैयाँ लगानीमा निर्माण भएको प्रसारणलाइन र सवस्टेशन सञ्चालनमा आएसँगै सम्बन्धित जिल्लाका बासिन्दाले सहज र भरपर्दो विद्युत सेवा पाउने अपेक्षा गरिएको छ ।