व्यापार सम्झौतामा कार्यान्वयन नगरेको ट्रम्पको आरोप, दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ - bishwokhabar.com
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने ट्रम्पको घोषणा छ । उनले यो जानकारी सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मार्फत् दिएका छन् । ट्रम्पले यसलाई ‘रेसिप्रोकल ट्यारिफ’ भनेका छन् । कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यस देशबाट आउने वस्तुमा बढी आयात शुल्क अर्थात् ट्यारिफ लगाउने नीति नै ‘रेसिप्रोकल ट्यारिफ’ हो । दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौतामा ‘ठीकसँग कार्यान्वयन नगरेको’ आरोप लगाउँदै ट्रम्पले ट्यारिफ वृद्धिको घोषणा गरेका हुन् । ट्रम्पका अनुसार दक्षिण कोरियाको संसदले उक्त सम्झौतामा अनुमोदन दिन ढिलाइ गरेको छ । अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ छिटो घटाइसकेको ट्रम्पको भनाइ छ । यता, दक्षिण कोरियाले भने ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी नआएको जनाएको छ । साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने धारणा दक्षिण कोरियाको रहेको बीबीसीले जनाएको छ । दक्षिण कोरियाबाट अमेरिकाले मुख्यत: औद्योगिक र उच्च प्रविधिका सामान आयात गर्छ । खासगरी कार र अटो पार्ट्स (हुन्डाई, किआजस्ता ब्रान्डका गाडी र त्यसका पार्ट्स)हरु प्रमुख छन् । साथै, सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टिभी, डिस्प्ले प्यानल, भारी मेसिन, प्लास्टिक, रासायनिक कच्चा पदार्थ, स्टिल शीट, पाइप, अन्य धातुजन्य सामग्री, केही औषधि, मेडिकल टेक्नोलोजीका उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री र इलेक्ट्रिक गाडीका कम्पोनेन्टहरु अमेरिकाले दक्षिण कोरियाबाट आयात गर्ने प्रमुख सामानमा पर्दछन् । यी क्षेत्रमा ट्यारिफ बढ्दा दुवै देशका उद्योग र उपभोक्तामा प्रत्यक्ष असर पर्न सक्ने आँकलन छ ।