Redirecting...

भ्रामक सूचना प्रवाह गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ - ehimalayatimes.com

भ्रामक सूचना प्रवाह गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । निर्वाचन आयोगविरुद्ध भ्रामक सूचना प्रवाह गरेको आरोपमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिन निर्वाचन आयोगसँग ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी गर्नुभएको थियो । उक्त दाबी निराधार र भ्रामक रहेको ठहर गर्दै निर्वाचन आयोगले अनुसन्धानको दायरामा ल्याउन नेपाल प्रहरीको साइबर ब्युरोलाई आइतबार पत्राचार गरेको थियो । निर्वाचन आयोगको उजुरीका आधारमा कास्की प्रहरीले प्रसाईंलाई पोखराको एयरपोर्ट चोकबाट पक्राउ गरेको हो । कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई मान्यता दिन निर्वाचन आयोगसँग ५२ करोड रुपैयाँ लेनदेन भएको आरोप लगाउनुभएको थियो । निर्वाचन आयोगले उक्त आरोप पूर्णरूपमा असत्य रहेको बताउँदै कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । यसअघि पनि प्रसाईं पटक-पटक साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पर्दै छुट्दै आउनुभएको थियो । हाल उहाँमाथि निर्वाचन आयोगविरुद्ध भ्रामक सूचना प्रवाह गरेको अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजावादी अभियन्ता प्रसाईंले केही समयअघि विभिन्न माग राखी निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आउनुभएको थियो । तर, माघ २ गते (बिहीबार) उहाँको समूह र सरकारबीच सहमति भएको थियो । सिंहदरबारमा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको थियो ।