जेन-जी आन्दोलनले पायो ‘जनआन्दोलन’ को मान्यता - nagariknews.nagariknetwork.com
सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिबिच अन्ततः लिखित सम्झौता भएको छ।बुधबार साँझ सिंहदरबारमा आयोजित एक विशेष कार्यक्रमका बिच दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।सम्झौताअनुसार सरकारले गत भदौमा भएको जेन-जी आन्दोलनलाई अब औपचारिक रूपमा ‘जनआन्दोलन’ को मान्यता दिने भएको छ।हस्ताक्षरित सहमतिपत्रमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने मुख्य बुँदा उल्लेख छ।साथै, मुलुकको राजनीतिक पुनर्संरचना र जनचाहना अनुरुप संविधानमा आवश्यक परिमार्जन गर्नका लागि ‘संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने सहमति पनि भएको छ।जेनजी आन्दोलनकै पृष्ठभूमिमा वर्तमान अन्तरिम सरकार गठन भएको तीन महिना बितिसक्दा पनि आन्दोलनकारी पक्ष र सरकारबिच औपचारिक लिखित सम्झौता हुन सकेको थिएन।पछिल्लो समय आन्दोलनका क्रममा भएका घटनाहरूलाई लिएर धरपकड तथा अपराधिकरण बढ्दै गएको भन्दै जेन-जी प्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै आएका थिए।जेन-जी पक्षको गुनासो र निरन्तरको दबाबपछि सरकार औपचारिक सम्झौता गर्न तयार भएको हो।