Redirecting...

केही त गर्यो जेनजी आन्दोलनले : कांग्रेसका ४ नेताले चुनाव त्यागे, एमालेका २ जनाले राजनीति छोडे - www.sutranews.com

केही त गर्यो जेनजी आन्दोलनले : कांग्रेसका ४ नेताले चुनाव त्यागे, एमालेका २ जनाले राजनीति छोडे - www.sutranews.com
Source: sutr

काठमाडौं । पार्टीको ११ औं महाधिवेशन जारी रहँदा नेकपा एमालेका दुई उपाध्यक्षले युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरे। उनीहरू दुवैले पार्टीभित्र ७० वर्षे उमेर हद लागू गर्नुपर्नेमा जोड दिँदै आफूहरू ७० वर्ष नाघिसकेको कारण आउँदो महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि जिम्मेवारी हस्तान्तरण गर्दै विदा हुन आग्रह गरेका छन्। तथापि ओलीले विधान संसोधन गरेरै भएपनि तेस्रो पटक अध्यक्ष बन्ने ध्याउन्नमा अनेकन कसरत गरिरहेका छन्। एमालेमै अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि यसपटक कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन्। बडालले पछिल्लो समय आफूले पाएको जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको स्वीकार गर्दै आत्मसमीक्षासहित महाधिवेशनबाट कुनै पनि पदमा नबस्ने निर्णय सार्वजनिक गरे। आइतबारदेखि महाधिवेशनको बन्दसत्र सुरू भएसँगै एमालेभित्र उम्मेदवारी नदिने घोषणा गर्ने नेताहरूको संख्या क्रमशः बढ्दै गएको छ। आजै एमाले रूपन्देहीका सचिव तथा उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव चित्रबहादुर कार्की एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। मूलधार भनिएको एमाले मात्र हैन, कांग्रेसमा समेत विग्रह आउँदै गएको छ। यसको मूलभूत कारण भने गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछि सिर्जित राजनीतिक घटनाक्रमले हो। आन्दोलनपछि पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको बहस तीव्र बन्दै जाँदा कांग्रेसका प्रभावशाली नेताहरूले आमनिर्वाचन नलड्ने घोषणा गरिसकेका छन्। त्यसमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, केन्द्रीय सदस्य जिपछिरिङ लामा र धादिङ सभापति रामनाथ अधिकारी छन्। अघिल्लो सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका ५२ वर्षीय पाण्डेले आन्दोलनका बेला युवाहरूका माग समयमै सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। त्यसकारण अब प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा कुनै पनि तहको निर्वाचन नलड्ने उनको उद्घोष छ। उता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गर्दै काठमाडौं क्षेत्र नम्बर १० बाट लगातार तीन पटक निर्वाचित केसीले अब प्रतिनिधिसभा वा राष्ट्रिय सभाको कुनै पनि निर्वाचन लड्ने छैनन्। पार्टीलाई पुस्तान्तरणको दिशामा लैजान आफूले नै उदाहरण प्रस्तुत गरेको भन्दै उनले ‘भाषणमा मात्र होइन, व्यवहारमै बाटो खोल्नुपर्छ’ भन्ने सन्देश दिए।