जाडोमा काँप्दै पढ्न बाध्य मकवानपुरगढीका विद्यार्थी - ehimalayatimes.com
हेटौंडा । मंसिरको कठ्याङ्ग्रिने जाडो। १३ वर्षीय समिर स्याङ्तान पातलो सर्ट–पाइन्ट र चप्पलमै बिहानै विद्यालयतिर हिड्छन्। मकवानपुरगढी–२ का समीर चार वर्षदेखि फुपुको घरमा बसेर पढ्दै आएका छन्। घर नाम्टार–९ भएतापनि विद्यालय टाढा भएकाले विद्यालय नजिक फुपुको घरमै बस्दा पनि उनीसँग न्यानो कपडा छैन। बिहान ६ बजेदेखि ४ बजेसम्म कक्षामा बस्दा उनी निरन्तर काँपिरहन्छन्। समीर भन्छन्— “घरमा बस्दा त जेनतेन न्यानो लाउँछु, स्कुल आउन भने नयाँ छैन। आमाबुबालाई पैसा छैन भन्ने थाहा छ, स्विटर माग्न पनि मन लाग्दैन।”उनको पीडा अहिलेसम्म विद्यालयमा न्यानो पोसाक नपाएका सयौँ विद्यार्थीको साझा कथा हो। मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माध्यमिक विद्यालय २०३५ सालमा स्थापना भएको हो। हाल १२ कक्षासम्म अध्ययन हुने यस विद्यालयमा ४१९ विद्यार्थी पढ्छन्, जसमध्ये ४० प्रतिशत अत्यन्तै कमजोर आर्थिक पृष्ठभूमिबाट आएका छन्। धेरै विद्यार्थी तामाङ र दलित समुदायका छन्। विद्यालयका प्रधानाध्यापक कमल फुयालका अनुसार यहाँका धेरैजसो विद्यार्थी अभिभावकविहीन छन्, वा अभिभावक भए पनि उनीहरूबाट बालबालिकाले पाउनुपर्ने अभिभावकत्व छैन। कापी–कलमदेखि लिएर नियमित पोसाकसम्मको खर्च व्यहोर्न नसक्ने विद्यार्थी धेरै छन्। विद्यालयसँग आयस्रोत नहुँदा परिस्थिति झन् जटिल बन्दै गएको फुयालले बनाउनुभयो । विद्यालयमा सञ्चालित एक मात्र बस धान्नै मुस्किल परिरहेको छ। “बस राखेको दुई वर्ष भयो, मासिक खर्च एक लाख आउँछ, तिर्न सक्ने विद्यार्थी छैनन्,”फुयाल भन्नुहुन्छ, बस चले पनि धेरै विद्यार्थी बस चढ्ने स्थानसम्म डेढ घण्टा पैदल हिँडेर पुग्छन्।” भूकम्प जोखिममा रहेको पुरानो भवनमै पढाउनुपर्ने बाध्यता छ। खाजाका लागि सरकारले रकम त दिन्छ तर खाजा पकाउने कर्मचारी नहुनुले समस्या थपिएको छ। अहिले साना कक्षाका विद्यार्थीले मात्र खाजा पाउँछन्। कक्षा ९ देखि १२ का विद्यार्थी भने भोकै कक्षा बस्न बाध्य छन्। प्रधानाध्यापक फुयाल विद्यालयको कठिन अवस्थाबारे खुलाउँदै भन्नुहुन्छ— “यहाँको प्रधानाध्यापक पद त तालो–आलु जस्तै भएको छ, जसले पायो फुत्त फ्याकिदिने। अभिभावक सक्षम छैनन्, स्थानीय सरकारले पनि पर्याप्त साथ दिन सकेको छैन। अब सहयोग नआए विद्यालय नै चलाउन नसकिने अवस्थामा छौँ।” विद्यालयमा नियमित पोसाकको शुल्क तिर्न नसक्ने विद्यार्थी ४० प्रतिशत छन्। व्यवस्थापन कसरी गर्ने भन्ने विषय विद्यालयको प्रमुख चिन्ता बनेको छ। भवन, शिक्षक र सामग्री तीनै क्षेत्रमा अभाव देखिन्छ। समीर स्याङ्तान जस्तै विद्यार्थी न्यानो स्विटरकै अभावमा चिसो सहेर पढ्दै छन्। चण्डिका माध्यमिक विद्यालय व्यवस्थापन संघ–संस्थासँग गुहार गरिरहेको छ। विद्यालय प्रशासनको एक मात्र अपेक्षा छ—कसैले सहयोगी हात बढाओस्, ताकि बच्चाहरू न्यानो कपडामा, सुरक्षित भवनमा र भोकै नपढी शिक्षा लिन सकून्। मकवानपुरका ग्रामीण भेगको शिक्षा प्रणालीका यिनै कठिनाइले समिरजस्ता बालबालिका आज पनि जाडो सहेर, काँप्दै, चप्पलमै विद्यालय पुग्नपर्ने बाध्य छन्।