Redirecting...

निबन्ध: चार्वाक दर्शन अथवा प्रवृत्ति - sahityapost.com

निबन्ध: चार्वाक दर्शन अथवा प्रवृत्ति - sahityapost.com
Source: shpt

चारु+वाक् अर्थात् मीठो बोलीका अर्थमा चार्वाक् शब्द निर्माण हुन्छ । यो पौरस्त्य दर्शनमध्ये अत्यन्त भौतिकवादी दर्शन मानिन्छ । समग्र पूर्वीय दर्शन आस्तिक र नास्तिक गरी दुई वर्गमा विभाजित छन् । सामान्य अर्थमा आस्तिक भनेको ईश्वरको अस्तित्व स्वीकार गर्ने र नास्तिकले ईश्वरीय सत्ता अस्वीकार गर्न भन्ने बुझिन्छ । तर यसको तात्पर्य यतिमा मात्र सीमित छैन । पौरस्त्य दर्शनले वस्तु सिद्धिका लागि प्रमाणको खोजी गर्छ । समग्र पौरस्त्य दर्शन एक प्रमाणवादीदेखि लिएर अनेक प्रमाणवादी भए पनि मुख्यत: प्रमाण चार किसिमका मानिएका छन् । ती प्रमाणमा प्रत्यक्ष, अनुमान, उपमान र शाब्द( आप्त वचन) हुन् । यी बाहेक पनि अन्य प्रमाणको परिकल्पना गरिएको देखिन्छ । प्रमाणद्वारा प्रमेयको सिद्धि हुने गर्दछ । प्रमाणका अभावमा आफूले स्थापित गरेको सिद्धान्त पुष्टि गर्न सकिँदैन । आधुनिक न्याय प्रणालीमा पनि यसलाई फरक तरिकाले स्वीकार गरेको देखिन्छ । आप्त भनेको कुनै अवस्थामा असत्यको पक्षधर नहुने ऋषिमहर्षिहरूको वचन हो । प्राय: पूर्वीय दर्शनले वेदमा उल्लेख भएका वाक्य, प्रमाणको रूपमा स्वीकार गरेको छ । पूर्वका दर्शनमा आस्तिकभित्र न्यायवैशेषिक, मीमांसा, वेदान्त, योग र साङ्ख्यलाई राखिन्छ । यी दर्शनले वेदोक्त वाणीलाई प्रमाणका रूपमा स्वीकार गरेको पाइन्छ । नास्तिकभित्र समावेश भएकाहरू बौद्ध, जैन र चार्वाक वेदवाणीलाई प्रमाण मान्दैनन् । त्यसैले यी दर्शन नास्तिक बन्न गए । बौद्ध र जैन आफ्ना संस्थापकका वाणीलाई प्रमाण मान्छन् । तसर्थ यी दुई दर्शन अर्द्ध नास्तिक हुन् भनेर स्वीकार गर्दा मध्यमार्गी भइन्छ । चार्वाकको अवस्था केही पृथक् छ । यस दर्शनले वेद र ईश्वर दुवैलाई अस्वीकार गर्दछ । यसको मूल भाव तलका दुई पङ्क्तिमा निहीत छ : पीत्वा पीत्वा पुन: पीत्वा यावत् पतति भूतले ।उत्थाय च पुन: पीत्वा पुनर्जन्म नविद्यते ।। अर्थात्; पिएर, पिएर फेरि पिएर जबसम्म भुइँमा लडिँदैन तबसम्म पिएर जब उठिन्छ फेरि पिएर किनकि पुनर्जन्म हुन्छ भन्ने गतिलो आधार छैन । त्यस्तै अर्को पङ्क्तिमा: यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत् ।भस्मीभूतस्य देशस्य पुनरागमनं कुत: ।। अर्थात्; जति समय बाँचिन्छ, त्यति समय सुखपूर्वक बाँच । ऋण गरेर भए पनि घिउ खानुपर्छ । आगामा खरानी भएर जाने देहको फेरि आउने सुनिश्चितता छैन । यी दुई श्लोकले समग्र चार्वाकको विचारलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस्ता विचारलाई व्यङ्गात्मक रूपमै भए पनि हरिवंश राय वचन, भरितेन्दु हरिश्चन्द्र लगायत विश्वभरका साहित्यकारले सिर्जनामा प्रयोग गरेका छन् । भरतेन्दुले “मधुशाला” नाटकमा समता र समानताको गतिलो उदाहरण मधुशाला भएको उल्लेख गरेका छन् । मधुशालामा जात, धर्म, सम्प्रदाय आदि केही नहेरिने र त्यसभन्दा बाहिर निस्केपछि विभिन्न आधारमा विभाजित हुने र समाजमा हिंसा मच्चाउने कार्य भइरहेको उल्लेख गरेका छन् । तथापि यो उनको समाजप्रतिको व्यङ्ग्य हो । मूलत: उनी यस विचारधाराका पक्षपाती होइनन् । हामी मानव अधिकांशमा समयमा आन्तरिक रूपमा चार्वाकसँगै नजिक हुन्छौँ । हामी आवरणमा अन्य जस्तो बने पनि मूल रूपमा अधिकांश मनुष्य चार्वाक नै हो तथापि यस तथ्यलाई हामी स्वीकार गर्नचाहिँ सक्दैनौँ । चार्वाक विचारधारा वेददेखि नै विकसित हुँदै आएको मानिन्छ । तर यसको साहित्यका बारेमा अन्य दर्शन जस्तो स्पष्टसँग उल्लेख भएको पाइँदैन । यसलाई बार्हस्पत्य दर्शनसमेत भनेको पाइन्छ । बृहस्पतिबाट सुरु भएकाले बार्हस्पत्य बन्न गएको हो । बृहस्पति, देवताका गुरु मानिन्छन् । यहाँ स्वाभाविक जिज्ञासा हुनसक्छ र हुनु पनि पर्दछ । देव गुरुले किन चरम भौतिकवादी दर्शनको सुरुवात गरे ? यसको कारण के होला ? विद्वानहरूको तर्क पाइन्छ । यस सन्दर्भमा असुरहरूलाई दिग्भ्रमित गरी मोजमज्जामा नै रहन दिनका लागि बृहस्पतिले यसलाई प्रतिपादन गरे । पौरस्त्य भूमि दार्शनिकहरूको हो । प्राचीन समयमा यस पावन भूमिमा अनेक दर्शनको सुरुवात र विकास भएको मानिन्छ । प्राचीन कालमा यहाँ चिन्तनको समृद्ध परम्परा थियो । पश्चिमी जगतमा पनि चिन्तन नभएको होइन तर पूर्वको जस्त‍ो शक्तिशाली विचारधारा त्यता नभएको हो । विडम्बना, जति हामी आधुनिकतामा प्रवेश गर्यौं, त्यति हामी चिन्तनमा पछि पर्दै गयौँ । हाम्रो वैभवशाली उपस्थिति कमजोर बन्दै गयो । पश्चिम चिन्तनमा समृद्ध हुँँदै गयो । त्यसैले आज हाम्रातिर मौलिक प्रकृतिको विचार शून्यप्राय: छ । पुन: मूल प्रसङ्गतिरै लागौँ । चार्वाक दर्शनको सुरुवात कर्ता बृहस्पति हुन् भनिए पनि कयौँ बृहस्पतिको उपस्थिति रहेको पाइन्छ । कामसूत्रका लेखक वात्स्यायनलाई पनि कहीँ कतै बृहस्पति भनेर उल्लेख गरेको पाइन्छ । यही परम्परामा चार्वाक नामधारी कुनै विद्वान् भए । त्यसपछि यस दर्शनलाई अगाडि बढाए । यस दर्शनलाई लोकायत पनि भनिन्छ । यसको आशय केवल यो भौतिक जगत नै सत्य हो । यसपछिको स्वर्ग, नर्क आदिको परिकल्पना झुट सिवाय अरू केही होइन भन्ने यिनीहरूको विचार हो । ईश्वर,मोक्ष जस्ता अन्य पूर्वीय दर्शनले परिकल्पना गरेका सिद्धान्त यिनीहरूका लागि केवल पाण्डित्य प्रदर्शन र मान्छेलाई एक प्रकारको कहिल्यै पूर्ण नहुने मृगतृष्णा मरिचीका थियो । जुन कुरा छैन, त्यसमा आशावादी बनाउने चेष्टामात्र मानिन्थ्यो । छैटौँ शताब्दीमा यस दार्शनिक परम्परामा अजित केशकम्ब्ली गरेका प्रसिद्ध व्यक्ति भए । अजितको अर्थ हुन्छ , कहिल्यै जित्न नसकिने अथवा अपराजित भन्ने । यिनलाई शास्त्रार्थ भनौँ अथवा तर्कमा, पराजित गर्न असम्भव जस्तै थियो । जुनसुकै दर्शनक‍ो निर्माणमा देश, काल र परिस्थितिको गम्भीर प्रभाव हुन्छ। चार्वाक दर्शनको निर्माणमा पनि त्यो प्रभाव देख्न सकिन्छ । यिनीहरूको केही छिटपुटबाहेक अन्य स्वतन्त्र सैद्धान्तिक कृतिहरू उपलब्ध छैनन् । यसका अनेक कारण हुनसक्छन् । यो दर्शन सबैका दृष्टिमा निन्दित थियो । हाम्रो समाज आडम्बरी पनि छ । अन्य विचारधारालाई सहज रूपमा स्वीकार गरिँदैन । यस दर्शनलाई पनि स्वाभाविक रूपमा सहज ढङ्गले स्विकारेको पाइँदैन । त्यसैले यसका ग्रन्थसम्पदालाई नामेट पार्ने प्रयास भएको हुनसक्छ । नत्र प्रबल तार्किक क्षमता राख्ने यससम्बन्धी प्रशस्त साहित्य उपलब्ध नहुनु आश्चर्यकै विषय हो । चार्वाकहरूको विचार अप्रत्यक्ष अन्य दर्शनमा उल्लेख गरेको पाइन्छ । त्यसमा पनि चार्वाकहरूको विचार यो हो तर वस्तुत: उनीहरूको विचार गलत छ भनेर खण्डन गर्नका लागि मात्र समेटिएको देखिन्छ । यसले खास चार्वाकको सैद्धान्तिक दृष्टिकोण के थियो भनेर बुझ्न कठिनाइ अवश्य भएको पाइन्छ । चार्वाक दर्शनमा जयराशि भट्टको ` तत्त्वपल्लवसिंह´ नामक ग्रन्थ उपलब्ध छ । यसमा चार्वाकका केही मतहरू उल्लेख पाइन्छन् । यसको समय छैटौँ शताब्दी मानिन्छ । विश्व दार्शनिक जगतमा छैटौँ शताब्दी स्वर्ण युग थियो । यही समयमा पूर्वमा भगवान् गौतम बुद्ध, महावीर जैन, चीनमा कन्फ्युसियस, लाओत्सु, इरान, इराकतिर जरथुस्त्र, पश्चिममा थेलिज जस्ता दार्शनिकहरू भए । यिनीहरूले संसारलाई नवीनतम दर्शन दिने प्रयास गरेका छन् । कुनै पनि दर्शन आफैँमा पूर्ण हुँदैन । यसको अपवाद चार्वाक पनि होइन । यो आक्रामक दर्शन मानिन्छ । यिनीहरू विरोधीसँग उग्र रूपमा मुखरित हुन्थे । आफ्ना विचार र सिद्धान्तलाई प्रबल तार्किक क्षमताले प्रमाणित गर्दथे । यसैका कारण समाजमा यसकै प्रबलता हुने र नैतिक बन्धन नरहने भयले यसका ग्रन्थसम्पदालाई सुनियोजित रूपमा विनाश गरिएको हुनसक्छ । तत्त्वपल्ल्लव सिंहमा चार्वाक दर्शनको मान्यता प्रस्तुत भएको छ । यस दर्शनले प्रत्यक्षलाई मात्र प्रमाण मान्छ । जुन कुराको चाक्षुष प्रत्यक्ष हुँदैन, त्य‍ो प्रमाणित गर्न सकिँदैन भन्ने मान्यता यिनीहरूको रहेको पाइन्छ । यसै गरी तत्त्व मीमांसामा चार पदार्थ पृथ्वी, जल, तेज र वायु मात्र मान्नु यिनीहरूको अर्को विशेषता हो । सुखवाद यिनीहरूको अर्को मान्यता हो । जसरी भए पनि सुखभोग गर्नु नै जीवनको लक्ष्य हो । स्वर्ग, नर्क, ईश्वर आदिको अस्तित्व अस्वीकार गरेपछि यही संसार सत्य हो । मरणमेवापवर्ग अर्थात् मर्नु नै मुक्त हुनु हो । पौरस्त्य दर्शनमा मुक्तिका बारेमा मत भिन्नता देखिन्छ । मुक्ति, मोक्ष, निर्वाण, अपवर्ग जस्ता शब्दहरू यसका पर्यायका रूपमा प्रयोग भएका छन् । यसको स्वरूपका बारेमा त सबै दर्शनमा ठूलो अन्तर देखिन्छ । त्यसैले जीवन रहुन्जेल सुखभोग गर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । चार्वाकको चिन्तन यस्त‍ो थियो भनेर केही सूत्र प्रस्तुत गर्ने विद्वान् माध्वाचार्य हुन् । यिनले आफ्नो `सर्वदर्शन सङ्ग्रह´मा केही चार्वाक दर्शनको भनेर सूत्रहरू दिई त्यसको खण्डन गरेका छन् । यद्यपि ती सबै विचार चार्वाककै हो भन्ने छैन । आफ्नो सहजताका लागि र उनीहरूलाई कमसल देखाउन पनि त्यस्तो कार्य भएको हुनसक्छ । चार्वाकका विचारमा धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थमध्ये अर्थ र मोक्षका पक्षमा मात्र चार्वाक छन् । चार्वाक दर्शन पूर्वको चरम भौतिकवादी दर्शन हो । यसका सबै विचार स्वीकार्य नहुन सक्छ । कुनै पनि दर्शन आफैँमा पूर्ण छैन । पूर्णताको अभावमा पनि यसले पौरस्त्य दार्शनिक धरातलमा आफूलाई दह्रैसँग उभ्याएको छ । हाम्रै समाजका उपज अनेक दर्शन हुन् । विशेष गरी बाह्य रूपमा हामी अन्य दर्शनका अनुयायी वा ती विचारबाट प्रभावित भएको नाटक गर्दछौँ तर आन्तरिक रूपमा नेपाली समाज चार्वाकको अनुयायी हो । आन्तरिक प्रवृत्ति हामी देखाउँदैनौँ । देखाउँछौ सुकिलामुकिला र महान् विचार धारा भएको नैतिकवान् तर त्यस्तो कदापि ह‍ोइन । जबसम्म धनको प्रधानता हुन्छ, समाजमा तबसम्म चार्वाक प्रवृत्ति निरन्तर रहिरहन्छ । नेपाली समाजको समग्र पक्षमा य‍ो दर्शन विद्यमान छ । त्यसैले यही समाजका उपज हाम्रा जुनसुकै क्षेत्रक‍ो नेतृत्व कर्ता भए पनि चार्वाक प्रवृत्तिमै रमाउँछ । जस्तो दृश्य त्यस्तै दृष्टिकोण हाम्रो बनेको छ । दृश्यमा अनेकता भई दृष्टिकोणमा समेत फरक देखिनुपर्थ्यो । त्यो हुन नसकेकामा हामीले विडम्बना मान्नुपर्छ । कि त समाजलाई पूर्णत: चार्वाक प्रवृत्तिमा लानुपर्यो कि त हामीमा केही सुधार आउनुपर्यो नत्र हामी चार्वाकका पक्का अनुसरणकर्ता बन्छौ । चार्वाकहरूले मानव व्यवहारको सूक्ष्म अध्ययन गरेको देखिन्छ । पश्चिममा फ्रायड, एल्फ्रड, यङ जस्ता मनोवैज्ञानिकले जुन सत्य मानव मनोविज्ञानका पक्षमा उजागर गरेका थिए, त्यस्तै मानवले बाहिरी रूपमा देखाउन इन्द्रियलाई जितेको जस्तो गरे पनि सम्पूर्णमा जितेको हुँदैन । मानवको आडम्बरपूर्ण व्यवहारलाई व्यङ्ग्य गर्दै जस्तो सोच्छौ, त्यही प्रदर्शन गर भन्ने चार्वाकहरूको विचारधारा हो । पश्चिमको मनोविज्ञान र चार्वाक सिद्धान्तमा पर्याप्त भिन्नता भए पनि मानव मन दुवैले राम्ररी नै प्रस्तुत गरेका छन् । यद्यपि चार्वाक दर्शन, ज्ञानको एउटा समृद्धशाली पक्ष भएकामा हामीले गौरवबोध चाहिँ गर्नैपर्छ । यसले चिन्तनको नवीन प्रवृत्ति देखाउन सफल भएको छ । विज्ञेषु किमधिकम् । The post निबन्ध: चार्वाक दर्शन अथवा प्रवृत्ति appeared first on साहित्यपोस्ट.