कथा : ट्वाँके दाइ - sahityapost.com
असारको महीना थियो । एसएलसीको उत्कृष्ट नतिजाले हौसिएरै म आई.एस्सी. पढ्न काठमाडौं आउने भए । घर छोडेर कहिले टाढा नहिँडेको म, असारे झरीको बेला रात्रिबस चढेर, आफ्नै रुखमा फलेका एक कार्टुन आँप बोकी बुबाको पछि लागि काठमाडौं हिँडे । दाइ काठमाडौंमै भएकाले दाइ र म डेरा गरेर बानेश्वरको एउटा कोठामा बस्न थाल्यौँ । सँगैको अरु दुई कोठामा झापाका एक दम्पती दुई स्कूले छोराछोरीसहित बस्थे । छिमेकी दाइ कट्टर पण्डितका छोरा रहेछन् । थरले आचार्य भए पनि बाउले विद्यालय र नागरिकतामा उपाध्याय लेखाइदिएकाले उनको औपचारिक नाम टीकाप्रसाद उपाध्याय थियो । झापातिरै आइए पढ्दापढ्दै लोकसेवा पास गरेर खरदार भएका रहेछन् । मेची क्याम्पस पढ्दा बाम राजनीतिमा डुबेरै लागेका टीका दाइ टीपी शर्मा भनेर चिनिन रुचाउँथे । टीकाप्रसाद उपाध्याय उनलाई पुरातनवादी नाम लाग्थ्यो । खरदार भएर काठमाडौंमा जागिर खाँदा पाटन क्याम्पसमा बीए पढ्न थालेछन्, राजनीतिशास्त्र र अर्थशास्त्र लिएर । टीपी दाइको काठमाडौंकी नेवार केटीसँग प्रेमसम्बन्ध झाङ्गिएर भागी विवाह भएको रहेछ । विवाहपछि दाइलाई पण्डित बाउले घर छिर्न दिएका रहेनछन् । भाउजू-आमासँग लुकिछिपी भेटे पनि बाउ र दाइसँग चैँ सम्पर्कविच्छेद नै थियो । टीपी दाइ बाम राजनीतिमा मजैले भिजेका थिए । नाम चलेका बाम नेताहरूसँग उनको राम्रै उठबस थियो । बेलाबेलामा भन्थे – “हाम्रो पार्टी त सत्तामा पुगोस् अनि मैले जानेको छु ।” त्यतिबेला उनको पार्टी प्रतिपक्षमा थियो अनि उनी हुलाक कार्यालयका खरदार । अफिसमा उनको खासै काम थिएन । उनी पार्टीकै काममा व्यस्त हुन्थे । भन्थे, “हुलाकको जागिर छ, जाबो खरदारको तलबले काठमाडौंमा कसरी बाँच्नु ?” भाउजू नीजि विद्यालयमा प्राथमिक कक्षाहरूमा पढाउथिन् । छोराछोरीहरू त्यही विद्यालयमा निशुल्क पढ्थे । पढाउँदा बच्चाबच्चीको हेरविचार गर्न सजिलो र विद्यालयमा शुल्क पनि नलाग्ने भएकाले भाउजूले चित्त नबुझे पनि पढाउने कामलाई निरन्तरता दिएकी थिइन् । कहिलेकाहीँ गणित र विज्ञानका कुराहरू मैले पनि छोराछोरीलाई पढाउनु र सिकाउनुपर्ने हुन्थ्यो । टीपी दाइ मिहिनेती थिए । साइकलमा हिँड्थे । पकाउने, भाँडा मोल्ने, लुगा धुने सबै काम गर्थे । गीत गाउन, नाच्न, तास खेल्न, गफ गर्न आदि सबैमा खप्पिस थिए । अरुले भन्थे –“एक त झापाली, त्यहाँ माथि कम्युनिस्ट, गफमा टीपीलाई कस्ले सक्ने ?” हुन पनि हो – उखान टुक्का जोडेर, सन्दर्भ मिलाएर गफ गर्न उधुमै जानेका थिए । कहिलेकाहीँ शास्त्रका गफ दिन पनि भ्याउँथे । भाउजू रीस उठेका बेला भन्थिन् – “हुनेखाने परिवारका कस्ता कस्ता डाक्टर इन्जिनियर माग्न आका थिए, तिम्रा गफमा फसेर दुःख पाएँ ।” दाइ हाँस्दै भन्थे – “पछि लाग्ने, फिदा हुने धेरै थिए, किन किन यो मन तिमीमै बस्यो ।” दाइ सकेसम्म भाउजूलाई खुशी पार्ने प्रयत्नमा हुन्थे । घरधन्दा सबै भ्याउँथे । तलब आएको दिन भाउजू र केटाकेटीलाई मनपर्ने मःम बोकेर आउँथे । भाउजूलाई सुनको सिक्री किन्दिछु भनेको धेरै वर्ष भए पनि किनिदिन सकेका थिएनन् । उनलाई रक्सी एकदमै मन पर्थ्यो । कहिलेकाहीँ भन्थे – “खसीको हृयाकुलासँग हिृस्की पिएर आनन्दले बस्न पाए पो !” दाइको त्यही कुरा बुझेर होला भाउजू तलब आएको दिन एक क्वाटर हिृस्की र आधा किलो कुखुराको मासु लिएर आउथिन् र भन्थिन् – “खसीको हृयाकुला किन्ने पैसो नै पुगेन ।” आर्थिक अभाव भए पनि परिवार खुशी थियो, सबैमा आत्मियता थियो, जीवन जीवन्त थियो । टीपी दाइ राजनीतिमा मात्र होइन सामाजिक काममा पनि उत्तिकै भिजेका थिए । बिहे, व्रतबन्ध, पूजा, सामाजिक काम आदिमा सक्रिय भएर खट्थे । त्यसैले उनलाई धेरैले मन पराउँथे । धेरै मान्छे चिनेका थिए । साँच्चै भन्नुपर्दा दाइ आँखामा हाल्दा पनि नबिझाउने मान्छे थिए । केही समयपछि दाइको पार्टीले सरकारको नेतृत्व गर्यो । त्यो दाइको जीवनकै सबैभन्दा खुशीको दिन थियो । उनी खुशीयाली मनाउँदै र शुभकामना आदानप्रदान गर्दै रातको एक बजेमात्र घर आइपुगेका थिए । मजैले रमेर घर आएका दाइलाई साइकल कहाँ छोडेँ भन्ने पनि थाहा थिएन । कुनै नवनियुक्त मन्त्रीको गाडीले उनलाई छाडिदिएको रहेछ । नशाको सुरमा भन्दै थिए – “चार जना त मेरै लगौटियाहरू मन्त्री भएछन्, अब टीपीका दिन फिरे ।” दाइको पार्टीको सरकार बनेको तेस्रो दिन हुलाकबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा उनको सरुवा भयो । कार्यालयबाट सधैँ चाँडै फर्किने दाइ नयाँ कार्यालयको पहिलो दिन नै दुई–चार पेग हिृस्कीको नशामा राती दश बजेतिर एक बोतल स्कच हिृस्की झोलामा बोकेर हल्लिँदै आइपुगे । उनी आउदा बच्चाहरू सुतिसकेका भए पनि भाउजू कुरेर बसिरहेकी थिइन् । बच्चा र भाउजूलाई उनले मःम र सेकुवा पनि बोकेर ल्याइदिएका रहेछन् । त्यो मःम र सेकुवा खान पाउँदा बच्चाहरूलाई दशैं आए झैँ भएको थियो । दाइको दैनिकी चल्दै गयो, अझ प्रगाढ रूपमा । एक महीनाभित्रै उनमा व्यापक परिवर्तन आइसकेको थियो । साइकल कहाँ छोडे भन्ने उनलाई याद भएन, न त खोजी नै गरे । एक हप्तामा नयाँ मोटरसाइकल किने । लाइसेन्स नभए पनि लडाउँदै चलाउँदै सिके । बेलुका मातेरै पनि मोटरसाइकल घर ल्याइपुर्याउँथे । बच्चाबच्ची र भाउजूलाई भनेजति लुगाफाटा, खेलौना मात्र होइन भाउजूले वर्षौदेखि रहर गरेको सुनको सिक्रीका साथमा औँठी, नौगेडी, हार सबै ल्याइदिए । अब दाइलाई ती दुई कोठा साना भए । छेउको घरको दोस्रो तला खाली थियो, त्यतै सरे । टीपी दाइ अब ट्वाँके दाइ भइसकेका थिए । विमानस्थल भन्सार कार्यालयको अदृश्य आम्दानीले उनलाई घरमा भेट्टाउन मुस्किल बनाइदियो, उनी पनि अदृश्य झैँ भए । एकदिन बेलुका मलाई खाना खाने निम्तो आयो । म पुग्दा दाइ आफूलाई मनपर्ने स्कचमा रमिँदै रैछन् । मलाई देखेर प्रफुल्लित हुँदै भन्न थाले – “तिमी हुन त मेरा सहगोत्री हौ, तर तिमी आफ्नै भाइ झैँ लाग्छ । एकदमै माया लाग्छ । पहिले त मेरो सहयोग गर्न सक्ने अवस्था थिएन । साह्रो गार्हो पर्यो भने मलाई भन्नु है ! म अब सक्ने भाको छु ।” फेरि भन्न थाले – “मेरो तेस्रो पेग हो, भन्सारमा जफत गरेको स्कच बढो मीठो छ । भाइलाई एक पेग हालेँ है ।” म विद्यार्थी मान्छे, रक्सी त्यतिबेलासम्म चाखेको थिएन । घरबाट काठमाडौं हिँड्ने बेला गाउँका दुईचार जँड्याहाहरूको उदाहरण दिँदै आमाले भन्नुभएको थियो – “त्यो रक्सी चैँ नखानु है बाबु, त्यसले मति भ्रष्ट गर्छ ।” तर सबैले खाएको अनि खाएर रमाएको देखेर मलाई पनि चाखूँ–चाखूँ लागेको थियो । फेरि अर्को मनले भन्यो – “तँ विद्यार्थी मान्छे, अहिलेदेखि रक्सी खान थालिस् भने कसरी पढ्छस् ?” अर्को कोठामा दाइका छोराछोरी जुस र स्न्याक्स खाँदै गरेको देखेँ अनि भनेँ – “म यो रक्सी खादिनँ, एक गिलास जुस दिनुस् न ।” मेरो जुस खाने कुराले दाइ त्यति खुशी भएनन् । उनलाई दाजुभाइ रम्न रहर लागेको रहेछ । त्यो बुझेर भाउजूले भनिन् – “कि वाइन, वियर खाने बाबु ? एक गिलास म पनि खाँउला ।” भाउजूको त्यो अनुरोध मात्र नभएर रहर पनि हो झैँ लाग्यो र भने – “हैन भाउजू, हजुर खानुस् । मेरो भोलि बिहानै कलेज छ, अरु कुरा हजुरहरूलाई साथ दिन्छु नि ।” भाउजूले मलाई एक गिलास जुस दिँदै आफूलाई सेतो वाइन खन्याइन् । दाइले चौथो पेग शुरु गरे । योसँगै दाइको गफको रफतार बढ्न थाल्यो । एक त झापाली, त्यसमाथि कम्युनिस्ट । अझ रक्सी खाएपछि गफको के सिमा हुने भयो र ? दाइले बढी गफ दिँदा भाउजूले बेलाबेलामा रोक्थिन् । तर एक ग्लास वाइन सकेपछि त भाउजूले पनि दाइका गफमा सार मिलाउन थालिन् । दाइ खुल्दै गए – “यो भन्सार त गज्जबको ठाउँ रैछ । जाबो म खरदारले एक महीनामै पाँच वर्षको तलबभन्दा बढी कमाउन सक्दो रैछु । अझ ठूला हाकिमहरूको त कति हो कति । एक वर्ष टिके भने यै घर किन्दिन्छु ।” मलाई अलि कौतुहलता लाग्यो, त्यत्रो कमाइ कसरी हुन्छ भनेर । सोधे – “दाइ, कसरी एक वर्षमा त्यत्रो कमाउनु हौ, फेरि अख्तियार लाग्ला नि !” मेरो कुरा सुनेर दाइले हाँस्दै भने – “भाइ, मिलाएर खानुपर्छ क्या ! आफूमात्र खाने हैन तलदेखि माथिसम्म सबैलाई खुशी पार्दै मिलाएर खानुपर्छ ।” मलाई हिृस्कीमा पानी मिलाएर खाने कुरा त थाहा थियो । तर यो घुस पनि मिलाएर खानुपर्छ भन्ने कुरा चैँ मेरा लागि नयाँ थियो । दाइ झन् खुल्दै गए । गफैगफमा उनले भन्सारमा सुनलाई कागजमा चाँदी बनाउने, रक्सीलाई पानी बनाउने, मोबाइल कम्प्युटरलाई खेलौना बनाउने आदि काम गरेर सरकारी राजश्व ठगेर व्यापारी, कर्मचारीले तस्करी गर्ने र त्यसरी आउने रकम कर्मचारी, नेता, मन्त्री, प्रहरी आदिसम्म पुग्ने खुलासा गरे । अनि भने – “ठूला मान्छेले धेरै पाउँछन्, हामी जाबो खरदारले थोरैमै चित्त बुझाउनुपर्छ । सरुवा भएर भन्सार जान नै पैसा बुझाउनुपर्छ । मेरो पो साथी मन्त्री भएर नबुझाई गएँ । त्यै पनि चुनाव खर्च त उसलाई दिनैपर्छ, अलिअलि माग्न थालिसक्यो ।” दाइले थोरै भनेकोबाटै बानेश्वरमा एक वर्षमा घर किन्ने कुरा गर्दैछन् । अब ठूला पदले पाउने धेरैको मैले अनुमान गर्नै सकिनँ । मलाई लाग्यो, देश त यस्तै धमिराहरूले खाइरहेका रहेछन् । मैले फुर्काउँदै सोधेँ – “अनि दाइ, यो खाएको पैसा चैँ कसरी व्यवस्थापन गर्ने ?” “तिमी साह्रै सोझा छौ भाइ !”, दाइ भन्न थाले – “पुर्ख्याैली सम्पति देखाउने, ससुरालीको दाइजो देखाउने, खेतिपातीको आम्दानी देखाउने, सुन किन्ने, आफ्नाका नाममा जग्गा किन्ने, पैसा राख्ने, जग्गा किनबेच गरेर नाफा देखाउने, सहकारीमा पैसा राख्ने, महङ्गा सामान किन्ने, होटेल, रेस्टुरेन्ट, क्यासिनोमा रमझम गर्ने, देशविदेश घुमफिर गर्ने । त्यस्ता कति हो कति तरिका छन् । यो पैसा बैंक खातामा देखिने हो र ? अझ विदेशमा छोराछोरी आफन्त हुनेले हुण्डी गरी उता पठाउँछन् । केही गरी फसिहाले अख्तियार, अदालत सबैतिर पैसा त चलिहाल्छ नि !” ट्वाँके दाइले मातेरै भनेको भए पनि उनको कुराले मलाई गम्भीर बनायो । अब हामी खाना खानतिर लाग्यौँ । दाइ पुरै झ्याप थिए, खासै खाना खाएनन् । भाउजूलाई पनि वाइन हल्का लागेको थियो । तर भाउजूले पकाएको खाना गज्जब मीठो थियो । दाइका कुरा सुनेर म गम्भीर भएकाले खासै स्वाद लिन भने पाइनँ । दाइ अझै भित्री कुरा खोल्दै थिए, अनि भाउजू दाइलाई ‘धेरै बोलिस्’ भनेर गाली गर्दै थिइन् । रातको दश बजिसकेको थियो । खाना खाएर म आफ्नो कोठातिर लागेँ । मनमा अनेकौँ प्रश्नहरू घुमिरहे । ‘टीपी दाइ अब टीपी रहेनन्, ट्वाँके भए’ भनेर औधी पीर पर्यो । भ्रष्टाचारको अदृश्य र दर्दनाक तस्वीरले सुत्न दिएन । संस्थागत भ्रष्ट्राचारले देशलाई कसरी सखाप पार्दो रैछ भन्ने चिन्ताले औधी सतायो । दाइ भन्सार गएपछि मेरो खासै भेट हुँदैनथ्यो । भाउजू र केटाकेटीसँग चैँ बाक्लै भेट हुन्थ्यो । केटाकेटीहरूले स्कुलमा पढाएको केही बुझेनन् भने मलाई सोध्न आइहाल्थे । केहीपछि एक दिन भाउजूले बोलाइन् । चिन्तित हुँदै भनिन् – “दाइलाई सम्झाइदिनु पर्यो । सधैँ रक्सी खाएर मात्ने, घर कहिले आउने त कहिले नआउने । न केटाकेटीलाई समय दिएको छ, न त मलाई नै । मलाई त दाइको ताल देखेर बैराग्य लागिसक्यो । पैसा मात्र सबै होइन । पैसा चाहिन्छ, तर बचेर कमाउनुपर्यो, अनुशासनमा बस्नुपर्यो ।” भाउजू अझै थुप्रै कुरा भन्दै थिइन् । सबै कुरा मैले नबुझे पनि मलाई उहाँको कुराले गम्भीर बनायो । भाउजूको गम्भीर गुनासो सुनेपछि दाइलाई एक्लै भेट्ने विचार गरेर एक शुक्रवार कार्यालय सकिने बेलामा एयरपोर्ट नै गए । मलाई देखेर दाइले आश्चर्य र खुशी एक साथ प्रकट गर्दै भने – “ओहो ! मेरो भाइ आएछ । यहाँको काम यस्तै हो, धेरै काम कार्यालय समय सकिएपछि पनि हुन्छ । एकछिन बस्दै गर, काम सकिएपछि दाजुभाइ कतै गएर गफ गर्नुपर्छ ।” मलाई दाइ र दाइको दैनिकी बुझ्नु थियो । दाइको प्रस्ताव स्वीकार गरेर बाहिर एक ठाउँमा कुरेर बसेँ । दुई घण्टा जतिमा दाइ आए, अरु चार–पाँच जना अघिपछि लगाएर, अनि भने – “ए भाइ, ल हिँड् यहाँ नजिकै एउटा सेकुवा पसल छ, त्यही सेकुवा खाँदै गफ गरौँला ।” प्रस्ताव स्वीकारेर उनकै पछि लागेँ । उनीहरूका लागि सेकुवा पसलमा छुट्टै विशेष कोठा रहेछ । पसलमा पुग्नेबित्तिकै दाइले एक बोतल ह्स्किी र सेकुवा मगाएर भने – “तिमी पनि आज एक पेग लेऊ, मेरा साथीहरूसँग बसेर खाने अवसर तिम्लाई फेरि कहिले जुर्ला र ?” मलाई दाइको दैनिकी नियाल्नु थियो । मैले पिइनँ भने दाइ नखुल्लान् कि भनेर भनेँ – “म एक ग्लास बियर लिन्छु नि ।” दाइले खुशी हुँदै भनेँ – “शुरु गर्ने एक ग्लासबाटै हो ।” दाइ र दाइका साथीहरू गफिँदै गए । शुरुमा त मलाई देखेर साथीहरू खुलेका थिएनन्, विस्तारै खुल्दै गए । दाइसँग दुईजना उनकै कार्यालयका साथीहरू रहेछन्, एकजना भन्सार एजेन्ट र अर्को एक जना कुनै व्यापारीको प्रतिनिधि रहेछन् । दाइले मलाई चैँ मन्त्रीको भान्जा भनेर चिनाइदिएका रहेछन् । दाइका साथीहरूले मलाई निकै आदर गर्दै थिए, तर मलाई भने अप्ठ्यारो लागिरहेको थियो । चार–पाँच पेग लगाइसकेपछि उनीहरू बढी नै खुल्न थाले । विस्तारै उनीहरूले आफ्ना भन्सारका चर्तिकलाहरूदेखि ठमेलका डान्सबार, सुन्धाराका होटेल र क्यासिनोसम्मका कुरा गर्न भ्याए । दाइ निकै बिग्रिएछन् भन्ने कुरा मैले बुझेँ । झप्प मातेका थिए, धेरै कुरा गरेर काम पनि थिएन । रातको आठ बजिसकेको थियो । म त्यहाँबाट निस्कन खोजेँ । दाइले सँगै जानुपर्छ भनेर रोक्न खोजे पनि साथीहरूले ‘भाइलाई जान दिऊँ’ भनेपछि मलाई दुई हजार रुपैयाँ दिएर ट्याक्सी चढेर जाँऊ भनी बिदा गरे । ट्याक्सी चढ्नुको साटो म हिँडेरै गएँ । चालिस मिनेट जति लाग्यो । सोचेँ, ट्याक्सी चढ्ने पैसाले त एउटा किताब आउँछ । बाटो हिँड्दा सोचेँ – “पैसाले मानिसलाई सुविधा त दिन्छ, तर फोगटको पैसा बढी भयो भने यसले कुलततिर डोर्याउँछ ।” टीपी दाइले छोटो समयमा अकुत पैसा कमाए, श्रोत नदेखिने । सङ्गत त्यस्तै फेला पारे । केही महीनामै उनको दैनिकी, व्यवहार, प्राथमिकता सबै बदलियो । आँखामा हाल्दा पनि नबिझाउने दाइ घरमा भन्दा बढी समय भट्टी, बार र क्यासिनोमा बिताउन थाले । खरदारको तलबले महीना दिनमा एकपटक खसीको ह्याकुला खान नसक्ने दाइ उल्फको धन फुपूको श्राद्ध भने झैँ भट्टी र बारमा हजारौँ टिप्स बाँड्दै हिँड्न थाले । केही दिनमा म भाउजूलाई भेट्न गएँ । भाउजूले दाइका नयाँ कुलतहरूको सुइँको पाइसकेकी रहिछन् । मैले दाइसँगको मेरो भेटको कुरा खोतल्ना साथ गहभरि आँशु पार्दै भनिन् – “दाइका कुलतहरूले सीमा नाघिसक्यो । अब त मलाई फेरि हुलाकमै सरुवा भैदिए हुन्थ्यो भन्ने भैसक्यो । कहिले भ्रष्टाचारको काण्डमा फस्लान् कि कहिले होटेल, डिस्कोबाट प्रहरीले समाउलान भन्ने भैसक्यो । हाम्रो कुरा केही सुन्दैनन् ।” भाउजूलाई के भन्ने ? केही शब्द मेरा ओठमा आएनन् । दाइलाई एकाबिहानै भेटेर कुरा गर्छु भनेर म निस्किएँ । दाइ राति दश बजेपछि मातेर घर आउँथे । कहिलेकाहीँ त घरै आउँदैनथे । विहान कलेज भएकाले भेट्न अनुकुल पर्दैनथ्यो । भाउजूसँग मेरो भेट भएको तीन दिनपछि दाइको पार्टीको सरकार विगठन भएछ । सरकार ढलेको खबर सुन्नासाथ खुशीले गदगद भएर भाउजू मेरो कोठामा आएर भनिन् –“बल्ल यो सरकार ढल्यो, अब दाइलाई भन्सारबाट हटाउँछन् । बरु तै हुलाकमै सरुवा भैदिए हुन्थ्यो । अलिअलि सम्पत्ति भैगयो, धेरै किन चाहियो र ?” मनमनै सोचेँ – “अभाव र दुःख हुँदा यिनै भाउजू दाइ भन्सार सरुवा हुँदा खुशीले उफ्रिएकी थिइन् । आज, वर्ष दिन पनि भएको छैन, उनलाई दाइको भन्सारको जागिर चाहिएन । घुस नखाने त्यै हुलाकको जागिरले आर्थिक सुख नदिए पनि पारिवारिक सुख त दिएको थियो ।” सरकार फेरिएको हप्ता दिनभित्रै दाइको भन्सारबाट सिंहदरवारभित्र कुनै एउटा मन्त्रालयमा सरुवा भयो । दाइको भट्टी, डिस्को र क्यासिनोको दैनिकी विस्तारै कम भएर लगभग बन्दै भयो । भन्सारमा हुँदा थुप्रै रक्सीका बोतल घर ल्याएर थन्क्याएका रहेछन् – प्रायःजसो बेलुका एक पेग टुच्च लगाउँछन् र भन्छन् – “मेरो सरकार त आओस् फेरि, बानेश्वरमा घर हैन महल किन्छु ।” The post कथा : ट्वाँके दाइ appeared first on साहित्यपोस्ट.