दूधकोशी र अरुणबीच हलेसी महादेव - sahityapost.com
शुभभाव र शिवभाव राखेर खोज्ने हो भने “गङ्गाको मुहान र विष्णुले भस्मासुर मारेको स्थान” पनि पक्कै फेला पर्छ । मलाई मात्र होइन हलेसी महादेव र यस क्षेत्रको भूगोललाई पनि यो महसुस भएको हुनुपर्छ । … पहाडका राजमार्ग : नागबेली परेका बाटाहरू कुङलुङ परेका छन् । कतै भीरका पेट चिरेर, कतै नदीका पेटी पुरेर, कतै डाँडालाई फन्को मारेर बनेका छन् सडक । परबाट हेर्दा पहाडले सेतो पटुकी फनफनी बाँधजस्तै । सदरमुकाम जोड्ने बाटा कतै क्रिम दलेको छाला जस्तै चिल्लो, कतै मासु उप्किएर अस्थिपञ्जर निस्केजस्तै अनि कतै प्रकृतिकै भरोसामा लम्पसार परेका । घाम, छाया, सिमसिमे पानी, हुस्सु कुहिरो र चिसो बतास छिनछिनमा फेरिने मौसमका स्वरूप । सवारी साधान घरि रुखभित्र पस्छ र धेरै पर फुत्त घाममा निस्कन्छ । चरक्क घामले तात्तिन्छ र यात्रुको निधारबाट तरक्क पसिनाका चल्ला कोरल्छ । पुर्लुक्क लड्छन् र बग्छन् । कतै हुस्सु कुहिरो ओडेर दौडिन्छ, यात्रुका जीउबाट काँडा उमार्छ । जिम्न्यास्टिक हान्नू, पुसअप र सेटअप गदै दौडिनु गाडीको नियति नै हो । ठाउँ ठाउँ त पुग्छ के जसरी गुडुङ् गरेन भने ठाउँ ठाउँमा आफूभन्दा पहिले मुटु तल झरेन भने पहाडमा गाडी चढ्नुको मजा नै हुँदैन बाबै ! सुनसरीको इनरुवाबाट खोटाङको हलेसी : यस वर्ष श्रावण महीनामा म इनरुवाबाट गाइघाट हुँदै हलेसी जान कस्सिएँ । साउनका पहिलो सोमबार हलेसी महादेवको दर्शन गर्ने इरादा सानो होइन । पुरानै पनि हो । इनरुवा जिल्ला अदालतमा काम गर्ने छोरा, बुहारी र नातिलाइ भेटौँ भनेर पुगेको थिएँ इनरुवा । गाइघाट चाहिँ कथाकार बोधकुमार घिमिरेको कथासङ्ग्रह र कवि हिमालय पोख्रेलको खण्डकाव्य विमोचनको निम्तो मान्न जाँदै थिएँ । सुनसरीबाट उदयपुर जाने गाडी चढेदेखि बेलटारसम्म सलल । उकालो चढेर केही घुम्ती छिचोलेपछि बाटोले मौलिक स्वरूप ग्रहण गर्यो । सगरमाथा हाइवेको दुःखसँग गाडीले समवेदना व्यक्त गरिरह्यो । घुर्मी पुग्ने बेला सिमेण्टको रङमाथि रमाउँदै दौडियो गाडी । घुर्मीमा खाना खाएर सुनकोशीको वाहब नियालियो । सुन बग्नुपर्ने कोशी त फलामे रङमा उर्लिरहेको । पुल तरेर ओखलढुङ्गाको पुच्छरका कुइनेटा छिचोलेर ३५ मिनेटपछि दूधकोशी आयो । गाडीको झ्यालबाट देखिने अग्ला डाँडा र तिनका चुलीहरू नियल्दै सिद्धिचरणको प्यारो ओखलढुङ्गा कहाँनेर होला भनिरहे आँखाले । पहाड फोरेर झेरेको एउटा खहरे देखेर “त्यो गिरि फोरी बहने रोशी” यही हो कि भनें । पानी विनाको खहरे त पक्कै रोशी होइन होला ! सोधूँ कसैलाई चिनेको छैन । झ्याल बाहिर हेर्दा पहेँला वस्त्रधारी अनगिन्ती नारीपुरुष मोटरसाइकलमा तीनकुने वैदिक झण्डा फहराएर दौडिरहेका । बिसाएर सेल्फी हानिरहेका । तराई मधेश र भारतबाट आएका धार्मिक पर्यटक थिए ती । कति आस्थामा बाँचेको रहेछ मैदान ? लाग्यो, पक्कै भोलि हलेसीमा ठूलै लामको सामना गर्नुपर्ने भयो । जे होस्– देवताले चिनाएको जिल्ला खोटाङ, कविले चिनाएको जिल्ला ओखलढुङ्गा । एउटा युगमा एउटा कवि जन्मनु र उनका कविता पाठ्यपुस्तकमा छापिनु पनि भगवान्ले बास गर्नु जत्तिकै रहेछ क्यारे ।दूधकोशी बाढीमा पनि सेतोसेतै देखिन्थ्यो । शुरु भयो भगवान् शिवको पावनभूमि हलेसी रहेको जिल्ला खोटाङ । कति भाग्यमानी छन् खोटाङेहरू । त्यतिका मान्छे साउनभरि आइरहन्छन् रे । अरुबेला पनि अलि कम सङ्ख्यामा निरन्तर आउँदा रहेछन् । पर्यटनको केन्द्र बन्न पुगेको खोटाङमा प्रवेश गरेपछि मभित्र अध्यात्मिक आस्थाभाव जाग्यो । झण्डै साढे आठ घण्टापछि सुमो हलेसी चोकमा रोकियो । हलेसी भिलेज होटल जाने सल्लाह अनुसार सरासर आएर झोला बिसाएँ । प्रोप्राइटरलाई सोध्दा ठाउँ खाली नभएको जानकारी पाएँ । हिजोदेखि हलका ज्वरो त छँदै थियो, होटल मालिकको सन्देशले दुइचार डिग्री ह्वात्तै थपियो । एउटा सिटामोल पानीसँग खाएँ । अन्यमनस्क भएर खलखली पसिना काड्दै टेबुलमा झोला राखेर पल्याकपुलुक हेर्दै थिएँ । हाम्रै टोलबासी डम्बर बारकोटी, सुमन श्रेष्ठ, केशव भट्टराई, ड्यानिस पराजुली लगायत हिमालय किरण पब्लिक क्याम्पसका स्टाफ प्रकट हुनुभयो । ज्वरो फेरि पुरानै डिग्रीमा फर्कियो । भिलेजका मालिकले नजिकै कतै एउटासम्म कोठा मिलाइदिने आश्वासन दिनुभएकाले उहाँहरूसँग कोठाको कुरा गरिन । ट्रेड युनियन कांग्रेस खोटाङका अध्यक्षलाई सोर्स लाएर मिलाएको कुरा के भन्नू । उहाँहरूको १८ जनाको जम्बो टोली पद्मा होटलमा बसेछ । म बाङ्देलोमा बसें । त्यतिका होटल भएको पटाङिगनीमा बास पाउन चर्को भएपछि भोलि त दर्शनमात्र होला, अवलोकन चाहिँ आजै गारौं भन्ने सल्लाह गरेर प्रिय स्वजनहरूसँग गएँ । मरातिका गुफा र हलेसी महादेव : नजिकै पुग्दासम्म म ‘कहाँ छ हलेसी महादेव ?’ भनेर केशव दाइलाई सोध्दै थिएँ । हामी सङ्खुवासभाली त याङ्ले खर्कबाटै उ… माथि शिवधारा र पार्वती गुफा देख्ने बानी परेका । खोटाङ्मा त महादेव लुकेरै बसेको जस्तो लाग्यो । भस्मासुरलाई गलत वरदान दिएपछि भाग्दै भाग्दै जाँदा स्वात्तै पसेर लुके झैं । मैले सोधिनसकी गेट आइपुगेको रहेछ । जुत्ता फुकालेर प्रवेशद्वारबाट भित्र पस्यौं । गेटकै दायाँपट्टि भगवान् बुद्धको मातिका गुम्बा रहेछ । श्रद्धाले शिर निहुराइ ढोग गरेर अघि बढ्यौं । दश पाइला अघि बढेपछि पत्थरको गुफाको टाउको देखियो । माथि जमीनमा पूरै हरियाली भएकाले पत्याइसक्नु छैन । चार पाइलाअघि बढेपछि सिङ्गमर्मरको सिँडी र रेलिङको बार ओरालो लाग्यो । जति पाइलाहरू तललो खुड्किलामा अडिँदै जान्छन् उति रहस्यमय गुफाको चामत्कारिक अवयवहरू देखिँदै जाँदा रहेछन् । साढे चार बजेको त्यो समय, मान्छे त कति हो कति छन् बा । ६/७ जना नगरप्रहरी र प्रहरीलाई हम्मेहम्मे नै जस्तो पो छ । हामी शनैःशनैः प्रवेश गर्यौं । जति नजीक गयो उति अनौठा पत्थरका आकृतिहरूले मनलाई तान्दै लगे । अध्यात्मिक दर्शन भोलि गर्ने वस्तुस्थितिको अध्ययन आज गर्ने भनेर गएको । अध्यात्मिक त बनाइदिँदो रहेछ तीर्थले आफैं । हलेसी महादेव मरातिक गुफा । सगरमाथा हिमालबाट १८५ किमी पूर्व र काठमाडौंबाट १८२ किमी पूर्व हलेसी गाविस वडा नं. ४ मा पर्दछ । हिन्दू धर्मावलम्बीका कथनानुसार भस्मासुरबाट महादेव भागेर लुकेको गुफा भनेर परिचित छ । हलेसी महादेव नेपालको अर्को पशुपतिनाथका रूपमा पनि चिनिन्छ । निधारमा त्रिपुण्ड, विभुत र भष्म धारण गर्नु, नागको माला र बाघको छाला पहिरिनु शिवको आभुषण हो, उनलाई मन पर्ने रङ नीलो हो । उनलाई रातो फूल चढाएको मन पर्छ । भाङ, धतुरो,दूध, मिठाइ सेतो रङमा चढाएको असल मान्नु हुन्छ । शिवलाई बोलाउने महामृयुञ्जय मन्त्र ओम् नमः शिवाय: हो । लिङ्ग शिवको प्रतीक हो । शिवमा एकाकार हुन भक्तहरू उच्च स्वरमा हरहर महादेव भनी उच्चारण गर्ने गर्छन् । भगवान् शिव त्रिशूल, नन्दी र नागको माध्यमबाट सञ्चार गर्नुहुन्छ । धर्ती र व्रम्हाण्डको हरेक अणुअणुमा व्यप्त हुनु शिवको रहस्य हो । बौद्ध धर्माग्रन्थ अनुसार गुरु पद्यसंभव र राजकुमारी मन्दावरले तीन महीना आयु साधना गरेर सफलता हासिल गरेपछि बुद्ध अमितायुस्बाट आयु सिद्धिको प्राप्त गरे । आयुसिद्धिको अर्थ मरणको अन्त्य वा समाप्ति हुनाले मरण अन्त्य मिलित भएर संस्कृत भाषामा मरातिक भनिएको उल्लेख छ । यति पूर्वज्ञान त छिर्नुअघि लिएकै थिएँ । अलौकिक सौन्दर्य : नजर पर्यो पहिरनमा झकिझकाऊ शिवको मूर्तिमा, जसको ठीक माथि सुनौलो नागराजबाट विद्युतीय प्रकाश परावर्तन भइरहेथ्यो । फूलको मालाले वेष्ठित शिवको रातो मूर्ति । नागराज सुनको होला । दायाँपट्टि नजिकै पिताम्बर धारी शिवलिङ्ग रातो फूलका माला पहिराइएको । सामुन्नेमा पत्थरकै बसाहाको मूर्ति । माथिबाट सप्रिएका जर्सी गाईका जस्ता चारवटा थुन । गणेश भगवान्को मूर्ति । गर्भद्वार, पापद्वार, कर्मद्वार पनि । कालीनाग देवता । सुमनजीले औंल्याउँदै जानु भयो, म त्यहाँ प्रकृतिको आश्चर्यजनक गुफाभित्रका चामत्कारिक चट्टानका आकृतिमा नजर घुमाइरहें । मनभित्र हृदयबाट नमः शिवाय उच्चारण भयो । धर्मद्वार र कर्मद्वारका अग्ला प्रस्तर खम्बाहरूमा दृष्टि पर्न गयो । भैरव गुफा पर अँध्यारोमा देखियो । चट्टानहरू कस्तो जीवन्त बनेर बोलिरहेथे– “मतिर खै हेरेको भक्त ?” – हेर्न बाँकी नै छ भगवान् । माता पार्वतीको स्थानतिर नयन पुगे । शिवको बायाँपट्टि एउटा खोपीमा धपक्क बलेको मुहारमा पोखिएको पार्वतीको मुस्कानले लालायित बनायो । हामी हेरिसकेर पस्यौं । सबै प्रस्तर मूर्तिहरूमा स्नेह, श्रद्धा र भक्ति भावले सुम्सुमाउँदै, आलिङ्गन गर्दै गएँ म । कुनै अङ्गालाभित्र अटाउने त कोही अटाउन नमान्ने । एक दुई द्वारमा छिरियो पनि । पापद्वारमा प्रवेश निषेध गरिएको रहेछ । पार्वतीको कुटीतिर जाने बाटोको बायाँपट्टि एक आसनमा बौद्ध धर्मगुरु ध्यानस्थ देखिए । पार्वती माताका चरणमा धेरैबेर साष्टाङ् दण्डवत् गरेर फर्किएँ । सानैमा आम मरेकाले म मात दुर्गालाई आमा मानेर अग्रपूजा गर्छु । हामी शिवलाई दाहिने पारेर बाहिरको पदमार्गबाट तेर्सो अनि ओरालाले लाग्यौं । ओरालो सकिनेबित्तिकै अर्को चामत्कारिक गुफामा छिर्न पाइयो । पस्नेबित्तिकै बायाँतर्फ भित्ताम प्वाल रहेछ । गौरी शङ्ख भनिँदो रहेछ । फुक्न सक्नेहरूले मजाले फुके । आफ्नो प्रयास पनि रिर्थक नै चाहिँ भएन । अघिल्तिर सिँढीहरू चढ्दै जाँदा कलकल पानीको छाँगो देखियो । लुकेर अलिकति देखिने : डेभिड फल्स नाम राखिदिएका रहेछन् । घुँडा मारेर पानी लिने प्रयास गर्दा हातमा दुईचार थोपा पर्यो । शिरमा अचाएँ । अघिल्तिर घामको उज्याले पोखियो । ओहो ! आकाश देखिँदो रहेछ । एउटा खेतको खलेगरे जत्रै गोलो भ्वाङ । लगभग ५० मिटरमाथि पत्थर फोरेर बनेको त्यस भ्वाङको आफ्नै कथा रहेछ – “भगवान् शिवले भस्मासुर राक्षसलाई जसको शिरमा हात राख्छौ त्यसैको भष्म हुनेछ ।” भनेर वरदान दिएपछि राक्षसले पार्वती राम्री देखेर ग्रहण गर्न शिवलाई नै मार्न लखेटेपछि शिव अत्तिएर भाग्दा शिरले हानेर भ्वाङ पारेको भन्दा रहेछन् । नभन्दै दायाँपट्टि भित्तामा दायाँ पाउ तल र बायाँ पाउ माथि स्पष्ट डोब देखिन्छ । आइन्सटाइन आए पनि होइन भन्ने आधार पाउँदैनन् । उसो त विज्ञान पढेका मान्छेले ज्वालमुखी विस्फोट भएको ठाउँ पनि भनी टोपल्ने रहेछन् । त्यस प्रकारको कडा चट्टानबाट ज्वालामुखी विष्फोट हुने कुरै काँही लेखेको छैन । मलाई लाग्यो, शिवजी पहिले यहाँ बस्दा रहेछन् क्यारे । शङ्ख पनि रहेछ, गङ्गा पनि । भस्मासुरले लखेट्दा हतारमा शङ्ख छुटेछ । गङ्गा उतैबाट बगिरहेकी छन् । भागेर ओल्लापट्टि हालको हलेसी महादेव स्थानमा भूमिगत भएका रहेछन् क्यारे । अनुभूति र सम्भावना: लखेटिरहेको भस्मासुरलाई पक्कै पनि सुन्दरी युवती रूप धारण गरेर छल गरी विष्णुले यिनै दुई गुफाको बीचको जङ्गलमा मारिदिएको हुनुपर्छ । स्थानीय बासीले यस बीचको जङ्गलमा खोज अनुसन्धान गर्नुपर्ने देखियो । “विष्णुले भस्मासुर मारेको स्थान” कुनै न कुनै रूपमा हुनपर्दछ । त्यसको पनि सही स्थान पत्ता लगाएर विष्णुले भस्मासुर मारेको प्रस्तर आकृति नै फेला पर्ला नत्र मूर्ति नै बनाएर राख्न सके एउटा छुट्टै धार्मिक सौन्दर्य थप गर्न सकिँदो हो । पौराणिक कथाको कैलाश पर्वत पनि यसलाई मान्न सकिन्थ्यो । भगवान् शिवको केन्द्रीय निवासमा गङ्गाजल नहुनु अर्को अपर्याप्तता लाग्यो । आकाश देखिने गुफाभित्र बगेको पानीको मुहान पक्कै शिवको जटाबाट निस्केको गङ्गा हुनुपर्छ । मुहान पत्ता लगाएर उक्त पानीको केही अंश शिवको केन्द्रीय गुफाबाट मूर्तिमाथि खसाएर शिवलाई वा दायाँबायाँ खसाएर भक्तलाई “गङ्गा स्नान”को आनन्द प्रदान गर्न सकिन्थ्यो कि । असम्भव भन्ने कुरा दुनियाँमा केही छैन । शुभभाव र शिवभाव राखेर खोज्ने हो भने “गङ्गाको मुहान र विष्णुले भस्मासुर मारेको स्थान” पनि पक्कै फेला पर्छ । मलाई मात्र होइन हलेसी महादेव र यस क्षेत्रको भूगोललाई पनि यो महसुस भएको हुनुपर्छ । हामी त्यहाँबाट निस्केर गौतम बुद्धले तपस्या गरेको गुफातर्फ तेर्सियौं । चौतारीमा केशव दाइ, डम्बर भाइ र सुमन भाइका सपरिवारले – “खोटाङ जिल्ला दिक्तेल बजार .. लै लै सम्झनामा आउँछ हजार ।” गीत गाए । अरुण भ्याल्लीले ताली बजायो । म हल्का नाचेर रमाइलो गर्यौं । पङ्तिमा धैर्यताको खाँचो : किराँतले आफ्नो तुवाचुङ भनेर मान्ने हलेसी महादेको दर्शन भने साउन ५ गते सोमबार कालिका एकादशीको शुभविहानीमा गर्ने योजना हो । बिहान डालीमा फूलपाती र तामाको लोटा बोकेर निस्किएँ । गेटमा डिउटी कमाण्डर सई साहबले लाइन बस्न नपर्ने गरी सहयोग गर्ने बताएका थिए । तर आफूलाई भने तराई, मधेश र भारतका दर्शनार्थीहरूको लाइनमा बसेर लामो प्रतीक्षा गरेर दर्शन गर्ने इच्छा भयो । म पनि त भुइँमान्छे, शक्तिको प्रयोग गरेर भगवान्को दर्शन गर्ने चहाना भएन । अर्कोतर्फ भिन्न समुदायका मानिसहरूसँग मूल्यको अध्ययन गर्नु पनि थियो । एक हातमा जल भरेको कलश र अर्को हातमा फूल अक्षता भरिएको डाली लिएर म फूटबल मैदानमा झरें । पूर्ण कदको फुटबल मैदानमा सात फन्को लाइनको पछाडि उभिएँ । घरि भीडमा छिर्न खोज्ने, नजिककाले हल्ला गर्ने, प्रहरीले आएर हटाउने रमाइलो उपक्रम हेरियो । चिनेजानेका र अलि सुकिला भए आँखा झिम्क्याएर लाइनको बीचमा चुपचाप घुसाएर सामसुम गरेको पनि पनि देखियो । मौनता पूर्वक यो प्रक्रिया नियाल्दै एकएक पाइलो सर्दै जाँदा सवा एक घण्टामा मैदानबाट खुड्किलामा पाइलो पर्यो । अझै ६०० खुड्किला उक्लिन बाँकी छ । मान्छे निकै बाक्लो लहरमा पहेँला वस्त्रमा मैदान र सडकभरि सुन फुले झैं उभिएका छन् । धैर्य के हो? किन चाहिन्छ ? भन्ने शिक्षा पहिलोपल्ट अनुसाशित तरिकाले हासिल गरें । झण्डै डेढ घण्टामा खुड्किला काटेपछि जम्मा पौने तीन घण्टामा हलेसी महादेवको प्रवेश द्वारमा पाइला पर्यो । पूजा र दर्शनमा भने उभिएर हात जोड्नेसम्म फुर्सद भएन । हिजो नै अवलोकनमा लिएको गहिरो विम्ब मुटुभरि छँदै थियो । बाहिर निस्केर सई साहेबलाई बोलएर भने– “सई साहेब, म पालोमा नै बसेर दर्शन गरें । सदाशयताका लागि धन्यवाद ल !” समापनः साढे १२ बजे काठमाडौंबाट आएको सुमो चढेर भोजपुर आइपुगें । बजारमा मुस्किलले होटल पाएँ । पिलुवा, सप्तकोशी, सुनकोशी, दूधकोशी तरेकै थिएँ । ६ गते बिहानै पहिलोपल्ट भोजपुरतिरबाट अरुण पनि तरें । The post दूधकोशी र अरुणबीच हलेसी महादेव appeared first on साहित्यपोस्ट.