Redirecting...

रास्वपाले भन्योः पार्टी नेतृत्व फेर्न सकिँदैन - nagariknews.nagariknetwork.com

रास्वपाले भन्योः पार्टी नेतृत्व फेर्न सकिँदैन - nagariknews.nagariknetwork.com
Source: ngrk

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नेतृत्व फेर्न नसकिने धारणा अघि सारेको छ । चितवनको सौराहामा जारी विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गर्दै अहिलेको अवस्थामा रास्वपाको नेतृत्व परिवर्तन गर्न नसकिने धारणा राखेका हुन् । मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको लगायतका व्यक्तिलाई जोडेर पार्टी निर्माण गर्ने धारणा आइरहेका बेला अर्यालले मुल नेतृत्व नै परिवर्तन गर्ने कुरा स्वीकार नहुने बताएका हुन् । ‘पार्टीमा चर्चित व्यक्तिलाई ल्याउनको लागि वातावरण बनाउनुपर्छ भन्ने जायज कुरा हो । यसमा सहमत हुँदा–हुँदै पनि रिफर्म वा स्वागत को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन’ उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ‘ अहिलेको नेतृत्वलाई विस्थापित नभइ स्थापित गरेर लैजानुपर्छ । उनले चर्चित व्यक्तिलाई आयात गर्दा पार्टीलाई घेराबन्दी गरेर सकाइदिने आशंका व्यक्त गरेका छन् । ‘चौतर्फीरूपमा योजनाबद्ध तरिकाले मूलमूल नेतृत्वमा प्रहार गरी पार्टीलाई नै सकाइदिने योजनालाई बुझ्न सकेनौं भने हामीले पनि हार्छौं र जनतालाई पनि हराउँछौं ।’ उनले भनेका छन् ‘अहिले नेतृत्वहरूलाई विस्थापति होइन, स्थापित गर्ने समय हो’ रास्वपा ४० महिनाको बामे सर्दै गरेको पार्टी भएकाले सिक्ने क्रम जारी रहेको उनले बताएका छन् । विधान, संगठनात्मक संरचना एवं पार्टी सञ्चालन प्रक्रिया तथा संगठनको विभिन्न तहमा नेतृत्व परिवर्तन, जिम्मेवारी हेरफेर र थपघटका कार्य पनि गर्दै आएको बताउँदै पार्टीका समितिहरूलाई समावेशी बनाउने प्रक्रिया निरन्तर महत्व र प्राथमिकतामा राखेको बताएका छन् । आग्रह–पूर्वाग्रह र व्यक्तिगत महत्वकांक्षाको लेपन नलगाई खुला र हार्दिक छलफल गर्न सक्दा मात्र पार्टीलाई नयाँ रफ्तारमा अगाडि बढाउन सक्ने उनले भनेका छन् ।शनिबारसम्म सञ्चालन हुने रास्वपाको विस्तारित बैठकमा ५१२ जना प्रतिनिधिको सहभागिता रहेको छ ।