दिक्तेल–रेग्मीटार सडकः घर्तीभिरको चट्टान फुटाउन सुरु - kendrabindu.com
खोटाङ। दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको दिक्तेल–रेग्मीटार सडकखण्डअन्तर्गत घर्तीभिरको चट्टान फुटाउन सुरु गरिएको छ। कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरमा काम सुरु भएको हो। दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८२÷८३ मा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु दुई करोड बजेट विनियोजन गरिएको थियो। ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले रु एक करोड सात लाख ७७ हजार ८४७ मा सम्झौता गरेर चट्टान फुटाउने काम सुरु गरेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ। यो सडक दिक्तेलबाट तराईका विभिन्न जिल्लामा पुग्ने सबैभन्दा छोटो मार्ग भएकाले प्राथमिकतामा राखिएको छ। घर्तीभिर क्षेत्रमा रहेको ठूला चट्टान सडक सञ्चालनका लागि बाधक बन्दै आएका थिए। दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक साढे १७ किलोमिटर छोटो रहेको छ। नगरपालिकाले दिक्तेलदेखि घर्तीभिर र रेग्मीटारदेखि घर्तीभिरसम्म कच्ची सडक निर्माण गरिसकेको छ। सडक सञ्चालनमा आएपछि तराईका जिल्लासँग आवतजावत, खाद्यान्न, इन्धन, हार्डवेयर र अन्य उपभोग्य सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ। यसै आर्थिक वर्षमा चट्टान फुटाउने र सडक सफा गर्ने कामका लागि ठेक्का लगाइएको छ। यसै सडकअन्तर्गत दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ। कोशी प्रदेश सरकारको रु तीन करोड बजेटमा पिङ्गला अन्सुरी फूलबारी जेभीले रु दुई करोड ७० लाखमा सम्झौता गरेर ट्रस पुल निर्माण सुरु गरेको छ। पुल निर्माणका लागि आवश्यक स्टिल ट्रस निर्माणस्थलमा पु¥याइएको छ। हाल कच्ची अवस्थामा रहेको सडकमा दिखुवाखोलामा पुल नहुँदा वर्षात्को समयमा करिब छ महिना यातायात अवरुद्ध हुने गरेको छ। पुल निर्माण भएपछि वर्षभरि यातायात सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। दिक्तेल–महुरे र महुरे–राजापानी–रेग्मीटार सडक गरी कुल ५९ किलोमिटर सडक रहेको छ। निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक सञ्चालनमा आएपछि दूरी घट्ने र यातायात सहज हुने अपेक्षा गरिएको छ।