एमालेको ११ औँ महाधिवेशन- प्रतिक्रान्ति विरुद्ध एकताको महाधिवेशन, पार्टी र देशलाई केपी ओलीकै नेतृत्व आवश्यक : रामबहादुर थापा (बादल) - janatatimes.com
काठमाडौं, मंसिर १९ । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रिया उन्मुख शक्तिहरू अघि बढ्ने प्रयत्नमा रहेको बताउनुभएको छ । यस विरुद्ध जुध्न पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको अपरिहार्य आवश्यकता रहेको थापाले बताउनुभयो। प्रेस चौतारी नेपालले शुक्रबार कार्यालयमा आयोजना गरेको संवाद कार्यक्रममा उहाँले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन ‘सामान्य महाधिवेशन नभई प्रतिक्रान्ति विरुद्धको निर्णायक राजनीतिक मोड’ भएको बताउनुभयो । उहाँका अनुसार लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नेतृत्वलाई कमजोर पारेर मात्र प्रतिक्रान्ति सफल बनाउन सकिन्छ भन्ने गलत अवधारणाबाट प्रेरित शक्ति सक्रिय अहिले सक्रिय भएका छन् । ‘राजनीतिक दलको नेतृत्व विस्थापित गर्ने प्रयास भइरहेको छ, नेतृत्वलाई विस्थापित गरेर मात्र प्रतिक्रान्ति सफल हुन्छ भन्ने सोचबाट प्रतिगामी शक्ति अघि बढेका छन्’, थापाले भन्नुभयो । उहाँले एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यस्तो प्रयास विफल पार्न एमालेले ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्ने छ । थापाले भन्नुभयो, ‘प्रतिगामी शक्ति नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्, हामी हाम्रो नेतृत्वलाई संरक्षण गर्न चाहन्छौँ, अहिले एक अर्कालाई विस्थापित गरेर जाने समय होइन, एकता र सुदृढीकरणको समय हो, आवश्यक परे विधान संशोधन गरेर भए पनि सबैलाई समेटेर लैजानुपर्छ ।’ उहाँले अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिष्ट आन्दोलनको मूलधार स्थापित गर्ने, एमालेलाई ठुलो पार्टी बनाउने र देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने नेता भन्दै उच्च प्रशंसा गर्नुभयो । ‘प्रतिगामीहरूले फुटाए पनि पार्टी जनमतका हिसाबले पहिलो पार्टी बन्यो, नेपालले विकासशील मुलुकको मान्यता उहाँकै नेतृत्वमा प्राप्त गर्यो, त्यसैले अहिले पनि उहाँकै नेतृत्व राष्ट्रिय आवश्यकता हो’, थापाले भन्नुभयो । थापाका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिनु पार्टी र राष्ट्र दुवैकै आवश्यकतासँग जोडिएको छ । ‘अहिलेको अवस्थाले पार्टी र देश दुवैलाई उहाँकाे आवश्यकता छ, अझ अहिलेकाे परिस्थितिमा उहाँकाे बढी आवश्यकता छ’, थापाले भन्नुभयाे । उहाँले अहिले विभाजित भएर पार्टी र देश अघि नबढ्ने बताउनुभयाे । ‘अनावश्यक उम्मेदवारी घोषणाले पार्टीलाई विभाजन र विसर्जनतिर लैजान्छ, महाधिवेशनबाट सहमतिमा आधारित एकताबद्ध नेतृत्व निर्माण गर्नुपर्ने छ’, उहाँले भन्नुभयो । कार्यक्रममा उहाँले आगामी नेतृत्वमा आफू पनि भूमिकामा रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो । ‘महाधिवेशनबाट आउने नेतृत्वमा मेरो पनि योगदान रहने अपेक्षा छ’, उहाँले भन्नुभयो । जेनजी आन्दाेलनकाे आवरणमा नेपाललाई ध्वस्त बनाउने पश्चिमाहरूको योजना रहेको उहाँले बताउनुभयो । पश्चिमा सैन्य बल नेपाल भित्र्याउने योजना अनुसार जेनजीका नाममा आन्दोलन भएको उहाँले प्रष्ट पार्नुभयो । ‘श्रृङ्खला रुपमा पश्चिमाहरुले कलर रेबुलेसन गराउँदै छन्’, उहाँले भन्नुभयाे । अहिले जेनजीका नाममा जनतालाई भ्रमित बनाइएको बताउँदै उहाँले निकट भविष्यमा नै जनताले यो कुरा बुझ्ने थापाले बताउनुभयो । ‘हामी राष्ट्र र जनताप्रति निष्ठावान् छौँ, त्यसैले अहिले चौतर्फी घेराबन्दी हुँदा पनि हामी डराउनु पर्ने अवस्था छैन’, उहाँले भन्नुभयो । यी सबै कुराले एमालेको ११ औँ महाधिवेशन एकताको महाधिवेशन हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘हामी एकताबद्ध भएर अघि बढ्न सकेनौँ भने शत्रुको फुटाऊ र राजगरकाे अभियान सफल हुन्छ’, उहाँले भन्नुभयो । उहाँले नेकपा विगठनको दिशा तर्फ गएको बताउँदै त्यसको विगठनलाई रोक्न नसकिने बताउनुभयो । १० वटा टहरा बनाएर नेकपाको रक्षा हुन नसक्ने बताउँदै उहाँले उहाँहरूलाई अस्तित्व रक्षा गर्ने हो भने एमालेमा आउन आग्रह गर्नुभयो ।