Redirecting...

निरञ्जना  ‘निरू’को ‘वनफूलको विद्रोह’ काव्य विमोचित - sahityapost.com

निरञ्जना  ‘निरू’को ‘वनफूलको विद्रोह’ काव्य विमोचित - sahityapost.com
Source: shpt

काठमाडौँ । सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित विशेष साहित्यिक समारोहमा कवि निरञ्जना चन्द ‘निरू’को नयाँ कविता–कृति ‘वनफूलको विद्रोह’ औपचारिक रूपमा विमोचन गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, विशेष अतिथि प्रा.डा. जीविन्द्रदेव गिरी, प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षित, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. देवी नेपाल तथा कवि विमला तुम्खेवाले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएकाे थियाे । विमोचनपछि बोल्दै साहित्यकार उप्रेतीले कवि चन्दको लेखनशैलीले समकालीन समाजका यथार्थ, मानवीय संवेदनशीलता र भावनात्मक गहराइलाई सशक्त रूपमा प्रस्तुत गर्ने उल्लेख गर्नुभयाे । २०७८ सालको प्रज्ञा–प्रतिष्ठान कविता महोत्सवमै चन्दका कविताले आफूलाई गहिरो रूपमा प्रभावित पारेको बताउँदै उहाँले भन्नुभयाे,“चन्दका कवितामा मार्मिकता छ, तिख्खरता छ । पाठकको अन्तरमन चिर्ने शक्ति छ ।” उहाँका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति र विद्रोह–प्रतीकमार्फत स्वतन्त्रता, अस्तित्व र सामाजिक न्यायको स्वर काव्यात्मक ढङ्गमा उजागर गर्छ । विशेष अतिथिहरू प्रा.डा. गिरी, प्रा. उपाध्याय, प्रा.डा. पौडेल, प्रा.डा. नेपाल तथा कवि तुम्खेवाले चन्दका कवितामा जीवनका उतार–चढाव, सामाजिक यथार्थ, मानवीय अनुभूति र काव्य–संवेदनाका विविध आयामबारे टिप्पणी गर्नुभयाे । समारोहमा कवि चन्दले आफ्नो काव्य–यात्राको अनुभव बाँड्दै सिर्जना जीवनका प्रेरक पक्षहरूबारे बोल्नुभएकाे थियाे । सुर्खेत सिम्ता–साहुखोला जन्मस्थल र बर्दिया कर्मथलो भएकाे निरू समकालीन काव्यमञ्चमा सक्रिय र चर्चित कविकाे रूपमा स्थापित हुँदै आउनुभएकाे छ ।उहाँका ‘साइनो’ (२०७६), ‘निरूको निरूपण’ (२०७७) लगायतका कृतिहरू प्रकाशित छन् । कविता प्रतियोगितामा उहाँले २०७७ लुम्बिनी प्रदेश कविता प्रतियोगिता — प्रथम, २०७८ प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय कविता महोत्सव — तृतीय, २०८० साहित्य सदन राष्ट्रिय कविता महोत्सव — द्वितीय स्थान हासिल गर्दै काव्ययात्रालाई निरन्तर उचाइ दिँदै आउनुभएकाे छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको कृतिको मूल्य रु. तीन सय ९५ रहेको छ । समारोहको अध्यक्षता सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुमुम्बूले गर्नुभएकाे थियाे भने कार्यक्रमको सञ्चालन एलिसा ढुंगानाले गर्नुभएकाे थियाे । The post निरञ्जना ‘निरू’को ‘वनफूलको विद्रोह’ काव्य विमोचित appeared first on साहित्यपोस्ट.