Redirecting...

कामनाद्वारा शोधकर्ता विद्यार्थीलाई अनुदान - ehimalayatimes.com

कामनाद्वारा शोधकर्ता विद्यार्थीलाई अनुदान - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल तथा स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन विषयमा एमफिल गर्दै गरेका तथा व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई अनुसन्धान कार्यका लागि अनुदान उपलब्ध गराउने भएको हो । बैंकिङ, अर्थतन्त्र तथा सूचना-प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने शोधकार्यका लागि एमफिल तहका दुर्ईजना शोधकर्ता विद्यार्थीलाई जनही एक लाख रुपैयाँका दरले तथा स्नातकोत्तर तहका चारजना शोधकर्ता विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान प्रदान गरिने बैंकले जनाएको छ । अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित आगामी १४ मार्च २०२६ भित्र बैंकसमक्ष शोध प्रस्तावना पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावनाका आधारमा सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले विद्यार्थी छनोट गर्ने बैंकले जनाएको छ । शोधकार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो, प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्र्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले उक्त अनुसन्धान अनुदानले एमफिल र स्नातकोत्तर तहका शोधकर्ता विद्यार्थीलाई अध्ययन र अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धानका लागि अनुदान प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले यो कार्यक्रम अघि सारेको हो ।