Redirecting...

चुनावी गठबन्धन : कांग्रेस–एमाले–नेकपा भर्सेज रास्वपा - bishwokhabar.com

चुनावी गठबन्धन : कांग्रेस–एमाले–नेकपा भर्सेज रास्वपा - bishwokhabar.com
Source: bsbk

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै त्रिपक्षीय चुनावी गठबन्धन बनाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच छलफल भएको छ । गत निर्वाचनबाट संसदमा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका तीन दलले जेनजी आन्दोलनपछि पुस्ता र एजेन्डाको लडाइ सुरु भएको भन्दै आफूहरूलाई एउटै ब्लकमा उभ्याउने प्रयास गरेका छन् । तीन दलबीच आगामी माघको दोस्रो साता हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेलका विषयमा छलफल चलिरहेको बताइएको छ । जेनजी आन्दोलन वर्तमान संविधान र शासकीय संरचना बदल्नुपर्ने प्रस्तावसहित भएको निष्कर्ष निकाल्दै संविधान पक्षधरहरू एक ठाउँमा उभिएको सन्देश दिने नामामा तीन दलबीच सहमतिको बिन्दु निकाल्न सकिने वार्तामा सक्रिय नेताले बताएका छन् । तत्कालीन नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेसबीच अलग अलग समयमा सत्ता सहकार्य गरिसकेका संयोजनकारी नेताहरूबीच निरन्तर भेटवार्ता भइरहेकाले सम्भावित त्रिपक्षीय गठबन्धनको पुष्टि भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट पूर्वगृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट वर्षमान पुनले भेटघाटलाई तीव्रता दिएका छन् । कांग्रेस सभापतिका विशेष दूत बनेर लेखकले गरेका भेटघाटको विषयमा जानकारी लिँदा राष्ट्रिय सभा निर्वाचनको लागि छलफल भनिए पनि प्रतिनिधिसभाको विषयमा समेत छलफल भएको बताइएको छ । टेक्ने राष्ट्रियसभा, सेक्ने प्रतिनिधिसभाआगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गरेर चुनावमा जान लागेका तीन दलबीच दीर्घकालीन सहकार्य हुने सम्भावना बढेको जानकारहरू बताउँछन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड निकट एक नेताले भने, ‘यदि कुरो मिल्यो भने राष्ट्रिय सभामा टेकेर प्रतिनिधिसभामा हान्ने नीति हुनसक्छ ।’ यो बिम्बात्मक शैली तत्कालीन नेकपा माओवादीको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीतिको रूपमा प्रयोग भएको शैलीलाई प्रयोग गर्दै उनले सम्भावित गठबन्धनको पुष्टि गरेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसबीचमा गठबन्धन गर्नु पर्ने पक्षमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अभियान चलाएका छन् । उनले भने जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणकै आधारमा मोर्चाबन्दी गर्नु पर्ने राय राखेका छन् । आन्दोलनलाई नेपाली कम्युनिस्ट पार्टीले रास्वपाकै लाइनबाट हेरेको भन्दै नेपाली कम्युनिस्ट पार्टी बेगर गठबन्धन गर्नु पर्ने राय छ । ११ माघका लागि निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । राष्ट्रिय सभाका लागि कुरो मिलेको खण्डमा पछिल्ला सहकार्य पनि हुन सक्ने बताइएको छ । राष्ट्रिय सभाका १९ सदस्यको म्याद फागुन २१ गतेदेखि सकिँदै छ । जसमा एमालेका ८, मनोनीत वामदेव गौतमसहित नेकपाका ९, जनता समाजवादी पार्टी नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना छन् । ११ गते १८ सदस्यको निर्वाचन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । छलफलमा सहभागी नेताहरूका अनुसार निर्वाचन हुने १८ सिटमा दलीय हैसियतअनुसार राष्ट्रियसभामा भागबन्डा गर्ने तयारी छ । कांग्रेसलाई ८, एमालेलाई ६, नेकपालाई ३ र मधेसवादी दललाई १ सिट बाँडफाँट गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ । यसरी हुने सिट बाँडफाँट र भागबन्डालाई नयाँ राजनीतिक धारका दलहरूले भने ‘अन्तिम भागबन्डा’ भन्दै कुनै प्रतिक्रिया नदिने बताएका छन् । एकता अनुमोदन र विस्तारमा रास्वपाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सम्पन्न पार्टीको बृहत् एकतालाई अनुमोदन गर्दै अभियानलाई विस्तार गर्ने निर्णय गरेको छ । रास्वपाका सभापति रवि लामिछानेको अध्यक्षतामा भएको बैठकले बालेन्द्र शाह र कुलमान घिसिङसँग भएको एकताको अनुमोदन गरेको हो । रास्वपाले तराई मधेस केन्द्रित अभियानका लागि मधेस केन्द्रित दलहरूसँग एकता र मोर्चाबन्दीको निर्णय गरेको छ । पार्टी एकताको अनुभूति गराउँदै विस्तारलाई निरन्तरता दिन रास्वपाले पदाधिकारी तथा केन्द्रीय समिति विस्तार गरेको हो । रास्वपाले ४ पदाधिकारी थपेको बताइएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले एकताको अनुमोदन र प्रत्याभूतिका लागि पदाधिकारीको आकार बढाउने निर्णय गरेको हो । बैठकले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ थप्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । रास्वपामा यसअघि सभापति, २ उपसभापति, महामन्त्री, सहमहामन्त्री ३, कोषाध्यक्ष १ र २ सहप्रवक्ता थिए । अब ४ पदाधिकारी थपिएसँगै रास्वपा पदाधिकारीको संख्या १४ सदस्यीय हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट एकतामा आएका ७ नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । मनोनीत हुनेमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना छन् । रास्वपा र विवेकशील साझाबीच मंसिर १४ गते एकता भएको थियो । -पत्रपत्रिकाबाट