गोस्वामी तुलासीदास जयन्ती
By
Nepali Patro
हिन्दी साहित्यका अमर हस्ताक्षर तथा भक्ति आन्दोलनका एक महान् स्तम्भ सन्त गोश्वामी तुलसीदासलाई आजसम्म पनि ‘रामकवि‘का रूपमा श्रद्धापूर्वक सम्झिन्छ । लोकभाषा अवधीमा रामकथा लेखेर जनमानसमा गहिरो प्रभाव जमाएका यिनको जीवन कथा आफैँमा प्रेरणादायक र अद्वितीय छ।
तुलसीदासको जीवन
सन्त तुलसीदासको जन्म वि.सं. १६११ (सन् १५५४) श्रावण शुक्ल सप्तमीका दिन भारतको उत्तर प्रदेशस्थित राजापुर, बान्दा जिल्लामा भएको मानिन्छ। यिनको वास्तविक नाम रामबोला थियो भने पिताको नाम आत्माराम दुबे र माताको नाम हुलसी थियो। अत्यन्तै गरिब ब्राह्मण परिवारमा जन्मिएका तुलसीदासले सानैमा आमा–बाबुलाई गुमाए। यिनको पालनपोषण र प्रारम्भिक शिक्षा गुरु नरहरिबाबाको संरक्षणमा भयो।
मानिन्छ कि तुलसीदास पत्नी लम्पट थिए, र यही लम्पटता पछि वैराग्यमा परिणत भयो। पत्नी रत्नावलीले एक दिन गहिरो रातमा आफूलाई भेट्न ससुराली पुगेका तुलसीदासलाई कठोर शब्दमा भनीन्, “मेरो शरीरप्रतिको मोह जति रामप्रति भएको भए तिमीले मोक्ष प्राप्त गरिसक्थ्यौ।” यी शब्दहरूले तुलसीदासको हृदयलाई छोए र उनले सांसारिक मोह त्यागेर वैराग्यको मार्ग रोजे।
तुलसीदासको जीवन यात्रा वि.सं. १६८० (सन् १६२३) मा समाप्त भयो। उनले राजापुर, बान्दामै अन्तिम सास लिए।
रामचरितमानस: लोकभाषामा श्रीरामको जीवनी
तुलसीदासको जीवनको सबैभन्दा महत्वपूर्ण कृति हो: रामचरितमानस। संस्कृत भाषामा वाल्मीकिले लेखेको रामायणलाई उनले अवधी भाषामा सरल र काव्यमय शैलीमा रूपान्तरण गरे। यो ग्रन्थ न केवल धार्मिक दृष्टिले, तर सांस्कृतिक र सामाजिक चेतनाको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। जन–जनले पढ्न र बुझ्न सक्ने गरी लेखिएको रामचरितमानस आज पनि लाखौंको हृदयमा बस्ने ग्रन्थ बनेको छ।
अन्य कृतिहरू
तुलसीदासले जीवनभरि ३९ वटा ग्रन्थ लेखे। तिनमध्ये केही प्रमुख कृतिहरू हुन्:
- रामचरितमानस
- हनुमान चालिसा
- विनय पत्रिका
- कवितावली
- गीतावली
- जानकी मंगल
- पार्वती मंगल
- वैराग्य सन्दिपनी
- दौहावली
- चूडामणी रामायण
यी कृतिहरूले भक्ति, नीति, सामाजिक चेतना र रामभक्ति–प्रधान साहित्यको मार्ग प्रशस्त गरेका छन्।
सामाजिक र धार्मिक योगदान
तुलसीदास केवल कवी मात्र होइन, एक समाजसुधारक पनि थिए। उनले वर्णाश्रम धर्म, सगुण भक्ति, रामराज्यको आदर्श, पन्थवादको विरोध र सनातन धर्मको संरक्षणजस्ता विषयमा मुखर विचार प्रकट गरे। त्यस समयको धार्मिक विकृति, सामाजिक अन्याय र विभाजनकारी प्रवृत्तिको विरोध गर्दै उनले भातृत्व, समरसता र धर्मनिष्ठताको पक्षपोषण गरे।
उनको योगदानले हिन्दू समाजलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्यो। यसैले उनलाई शंकराचार्य तथा रामानन्द सम्प्रदायका विचार–परम्परामा उच्च स्थान दिइएको छ।