उत्पत्तिका एकादशी
By
Nepali Patro
मंसिर महिनाको कृष्ण पक्षमा पर्ने एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ, जसलाई वैतरणी एकादशी पनि भनिन्छ। धार्मिक विश्वास अनुसार, भगवान् विष्णुको शरीरबाट एकादशी तिथिकै दिन उत्पन्न भएकी देवीको नाम एकादशी रहन गएको हो, जसले थकित विष्णुलाई रक्षा गर्दै दुष्ट दैत्य मुरको वध गरेकी थिइन्। त्यही दिनलाई उत्पत्तिका एकादशी भनिएको हो। यस एकादशीको व्रत बस्ने मान्छे मरेपछि वैतरणी नदी तर्नु नपर्ने भएकाले यसलाई वैतरणी एकादशी पनि भनिएको हो।
व्रत गर्ने विधि
उत्पत्तिका एकादशीको व्रत गर्न चाहनेले दशमीका दिन बेलुकै सात्विक भोजन गरी दाँत माझेर सुत्नुपर्छ। एकादशीको बिहान ब्रह्ममुहूर्तमा उठेर स्नान गरेर सूर्यलाई जल, अर्घ दिई पूजा तयारी गर्नुपर्छ। घरमा भगवान् विष्णुको मूर्ति वा तस्बिर स्थापना गरी विशेष गरी केशव नारायण (मंसिर महिनामा विष्णुको नाम) को पूजा गरिन्छ। पूजा सामग्रीमा अन्य पूजा सामग्री, धूप, दीप, नैवेद्य, भेटीका साथै तील, तुलसी पत्र, अमला र पञ्चामृत चढाइन्छ।
दिउँसो एकादशी माहात्म्य पाठ गर्ने वा सुन्ने, र बेलुकी आरती गरी भजनकीर्तन गर्नु शास्त्रीय रूपमा पुण्यदायी मानिन्छ। निराहार व्रत बस्न सक्नेले दिनभर उपवास गरी राति जाग्राम बस्नुपर्छ भने नसक्नेले फलाहार गर्न सकिन्छ। भोलिपल्ट द्वादशीका दिन पुनः स्नान गरेर पूजा गरी, योग्य ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर व्रत समापन गर्नुपर्छ। त्यसपछि मात्र आफ्ना परिवारजनसँग भोजन गर्न शास्त्रीय परम्परा छ।
व्रतकथा
द्वापर युगमा युधिष्ठिरले भगवान् श्रीकृष्णसँग उत्पत्तिका एकादशीको उत्पत्ति र महत्त्व’bout जिज्ञासा राख्दा श्रीकृष्णले यो कथा सुनाउनुभएको थियो। ब्रह्माजीको वंशमा पर्ने तालजङ नामको एक दैत्य चन्द्रावती नगरीमा बस्दथ्यो। उसले शिवजीको घोर तपस्या गरेर शक्तिशाली बन्ने वरदान प्राप्त गर्यो। शिवजीको वरदानले तालजङ अत्यन्त शक्तिशाली बनेर मुर नामक दैत्यको रूपमा चिनियो।
मुरले स्वर्ग, पृथ्वी र पाताल तीनै लोकमा आतंक मच्चाउन थाल्यो। उसको कारण त्रस्त भएका देवताहरू शिवजीको शरणमा पुगे, तर शिवजीले आफूले दिएको वरदानले मुरलाई मार्न नसक्ने बताउँदै भगवान् विष्णुकहाँ जान सुझाव दिनुभयो।त्यसपछि देवगण विष्णु कहाँ पुगी सबै कथा सुनाए। विष्णुले मुरसँग युद्ध गर्न गए। युद्ध अनेक दिनसम्म चल्यो। धेरै दैत्यहरू मारिए तर मुरलाई पराजित गर्न सकिएन।
अन्ततः थकित भगवान् विष्णु बदरिकाश्रम नजिकको हेमवती गुफामा गएर विश्राम लिनुभयो। मुर त्यसपछि त्यहीँ पुगेर सुतिरहेका विष्णुमाथि आक्रमण गर्न खोज्दा, विष्णुको शरीरबाट एक अद्भुत महामाया कन्या उत्पन्न भइ मुरसँग युद्ध गरिन्। उनले मुरको शिर काटेर वध गरिन्। शिर काटिएर ढल्दा ठुलो आवाज आयो र विष्णुको निद्रा खुल्यो। निद्राबाट उठेर भगवान् विष्णुले ती कन्यालाई देख्दा, उनले आफू विष्णुको शरीरबाट उत्पन्न भइ दैत्यको वध गरेको बताइन्।
भगवान् विष्णु यस घटनाबाट अत्यन्त प्रसन्न भएर ती कन्यालाई ‘एकादशी’ नाम दिनुभयो र वरदान दिनुभयो कि जसले यस दिन व्रत गर्दछ, उसले समस्त पाप नष्ट गरी वैकुण्ठ प्राप्त गर्नेछ।