No Image
नेपाली पात्रो > Jayanti > श्री शङ्कराचार्य जयन्ती

श्री शङ्कराचार्य जयन्ती

By Nepali Patro in Jayanti .
मे 4, 2022

श्री शङ्कराचार्य जयन्ती। असाधारण प्रतिभा र व्यक्तित्वका धनी  शङ्कराचार्यको जन्म वैशाख शुक्ल पञ्चमीको दिन भएको थियो। भारतको दक्षिणमा रहेको कालाड़ी नामक एक स्थानमा पिता शिव गुरु र माता विशिष्टा देवीको पुत्र का रूपमा जन्मिएका शङ्कर पछि गएर भने “जगद्गुरु आदि शङ्कराचार्य” को नाम बाट प्रख्यात भएका थिए।

“अमरत्व तथा मृत्यु दुवै शरीरमैं बस्ने गर्दछन् । मृत्यु लोभबाट आउछ भने अमरत्व सत्यबाट ।”

शिव गुरु र माता विशिष्टा देवीको विवाह पश्चात् धेरै वर्ष सम्म पनि कुनै सन्तान नभए पछि सन्तान प्राप्ति को इच्छा गर्दै उनीहरूले भगवान् शिव शङ्करको श्रद्धा पूजा-आराधना गर्दै धेरै वर्ष बिताए। त्यस कठिन तपस्या पश्चात् भगवान् शिव प्रसन्न भई उनीहरूका स्वप्नमा आइ वरदान माग्न भनेका बेला शिव गुरुले “दीर्घायु र सर्वज्ञ पुत्र” को कामना व्यक्त गरेका थिए भन्ने गरिन्छ। यसरी दीर्घायु र सर्वज्ञ पुत्रको मागमा भने भगवान् शिवले “दीर्घायु पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायु हुँदैन” भने पश्चात् सर्वज्ञ पुत्रको वरदान मागेका थिए रे। यसो भने पश्चात् उहाँले सर्वज्ञ पुत्रको वरदान दिँदै म स्वयं नै तिमी हरूको पुत्रको रूपमा जन्म लिने छु भने र त्यस ब्राह्मण परिवारमा सन्तानको रूपमा जन्म भएको कारण उनको नाम शङ्कर राखिएको थियो। शङ्कराचार्यको जन्म इ पू ५०८ मा र उनको मृत्यु इ पु ४७४ मा भएको मानिन्छ। 

शङ्करले आफ्नो शैशव कालमा नै आफू सामान्य बालक नभएको सङ्केत दिएका थिए रे। सात वर्षको सानो उमेरमै वेद को पूर्ण अध्ययन गर्दै १२ वर्षको उमेरमा धेरै शास्त्रहरूका ज्ञाता भएको र सोह्र वर्षमा अनेकौँ ग्रन्थको रचना गर्दै शिष्यहरू पढाउने काम समेत गर्न थालेका थिए। यसरी सानै उमेरमा विभिन्न महान् कार्य गरेका कारण त्यही बालक शङ्कर नै आदि गुरु शङ्कराचार्यको नामले प्रसिद्ध भएका थिए। 

एक दिनको कुरा हो, शङ्कर नुहाउन जादै थिए रे। उनले बाटोमा एउटा चण्डाल आफ्ना कुकुर सहित बाटो छेकेर बसेको देखे छन्। यस्तो देखेर शङ्करले, ए चण्डाल, बाटो छोड, म नुहाउन जांदैछु, भनेछन्। चण्डालले संस्कृत श्लोकमा भनेछ,  ए साधु, तिमीले कसलाई बाटो छोड भनेका हौ? शरीरलाई कि आत्मालाई? यदि आत्मालाई हो भने त्यो त शुद्ध सर्वव्यापी र निष्क्रिय छ। यदि शरीरलाई हो भनेको हो भने त्यो मुढो मात्र हो। त्यसले बाटो छोड्न सक्दैन। तिमीले ब्रह्म ज्ञानको मिथ्या अभिमान मात्र गर्दै छौ। वास्तवमा भन्ने हो भने त तिमीलाई ज्ञान नै रहेन छ त। गङ्गा जलमा देखिने सूर्यको छाया र मदिरामा देखिने सूर्यको छायामा केही अन्तर छ ? के यही हो त तिम्रो ब्रह्म ज्ञान ? चण्डालको यस्तो ज्ञानपूर्ण वाणी सुनेर अचम्म परेका आचार्य झन् विचार मग्न भएछन्। र, यही बाट उनले यो अनुभव गरे कि जीव र ब्रह्म अभिन्न छन् । 

शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूल तत्त्वको जानकारी दिँदै आधा एसिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बद्रीनाथ धाममा भएको मानिन्छ। मृत्यु अघि उनले भ्रमण गरेको महत्त्वपूर्ण तीर्थ भने नेपालको पशुपतिनाथ मन्दिर हो।

आचार्य शङ्कर, वा शङ्कराचार्य को नाममा २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्र हरू रहेका छन्। अरू भन्दा पनि शारीरिक भाष्य भने उनको सर्वाधिक महत्त्वपूर्ण कृतिको रूपमा मानिन्छ। भगवत् गीताको शाङ्कर भाष्य त आज सम्मकै गीता ग्रन्थको व्याख्याको लागि आधार मानिएको छ।

यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 


Comments

    roshani. Karmacharya

    kina Shankar taths thuls manisharu brahmanko kulma matra janma hunx sudrako kulama kina hudaina yo Pani bived ho


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!