
सोमवारे औंसी
सोमवार र अमावास्या तिथि जुटेको दिनलाई ‘सोमवती अमावास्या’ वा ‘सोमवारे औंसी’ भन्दछन्। सोमवती अमावास्यालाई धर्मशास्त्रमा पुण्यकार्य गर्ने विशेष दिनका रूपमा लिइएको छ।
अमावास्या तु सोमेन सप्तमी भानुना सह ।
चतुर्थी भूमिपुत्रेण सोमपुत्रेण चाष्टमी ।।
चतस्रस्तिथयस्त्वेताः सूर्यग्रहणसन्निभाः ।
स्नानं दानं तथा श्राद्धं सर्वं तत्राक्षयं भवेत् ।।
सोमवारका दिन आौंसी, आइतवार सप्तमी, मंगलवार चौथी, बुधवार अष्टमी तिथि परेमा ती तिथिहरू ग्रहणसमान फल दिने हुन्छन्। यी तिथिहरूमा गरिएका स्नान, दान एवं श्राद्ध अक्षयफल दिने खालका, अत्यन्त पुण्यफलदायक हुन्छन् भनिएको हुनाले सोमवारे औंसीलाई अत्यन्त पुण्यदायक मानिएको हो।
प्रातरुत्थाय व्रतिना स्नानं कार्यं जलाशये।
स्नात्वा मौनेन कौशेयं परिधाय व्रती ततः।।
सोमवारे औंसीमा बिहानै उठेर नबोली नुहाउनाले एक हजार गाई दान गरेकोबराबर फल मिल्दछ भनी धर्मशास्त्रमा उल्लेख गरिएको छ। यसर्थ अमावास्या र सोमवारको योग अन्य तिथि–वारको योगभन्दा विशेष महत्त्वपूर्ण मानिन्छ।
सोमवारे औंसी को दिन पीपलका वृक्षको फेदमा लक्ष्मीसहित भगवान विष्णु आएर बस्नुहुने हुनाले यस दिन पीपलका फेदमा विष्णुलक्ष्मीको पूजा गर्नुपर्दछ। यसका साथै पीपलको पूजा गरी दीपदान र पीपलका जरामा जलदानसमेत गर्नुपर्दछ। यसरी पूजा, दीपदान र जलदान गरिसकेपछि यथासम्भव १००८ पटक, नभए १०८ पटक वा ५४ पटक वा २८ पटक वा १० पटक वा कम्तीमा चार पटक प्रदक्षिणा गर्नुपर्दछ। यसो गर्नाले जन्मजन्मान्तरदेखिका समस्त पाप नास भई ग्रहबाधा समेत समाप्त हुन्छन् र सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भनी शास्त्रहरूमा बताइएको छ।
पीपलको फेदमा गई पूजा गर्दा प्रारम्भमा यसरी संकल्प गर्नुपर्दछ–
पूर्वसंकल्पसिद्धिरस्तु। …गोत्रोत्पन्न … शर्मा / वर्मा / गुप्त / देवी अहं अस्यां सोमवत्यमायां सकलपापक्षयपूर्वकं पुत्रपौत्राद्यभिवृध्यर्थं जन्मजन्मन्यवैधव्य–सन्तति–चिरजीविन–सौभाग्यप्राप्तिकामोऽहमश्वत्थमूले लक्ष्मीसहितविष्णुपूजां तदङ्गतया दीप–कलश–गणेशपूजनपूर्वकं विहितमश्वत्थपूजनञ्च करिष्ये।
यसपछि विधिपूर्वक दीप–कलश–गणेशको पूजा गरी पीपलका फेदमा विष्णुलक्ष्मीको षोडषोपचारले पूजा गर्नुपर्दछ। त्यसपछि पीपलको पनि पूजा गरी विशेष दीपदान गरेर प्रदक्षिणा गर्नुपर्दछ। धागो पनि १०८ पटक बेर्नुपर्दछ। त्यसपछि आरति, पुष्पाञ्जलि गरेर कर्म समापन गर्नुपर्छ।
ॐ मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे।
अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः।।
यो मन्त्र उच्चारण गरी पीपल १–१ फल अर्पण गर्दै १००८ पटक वा सकेजति प्रदक्षिणा गर्नुपर्दछ। यसप्रकारले १२ वर्षसम्म वा त्यति नसक्दा कम्तीमा १२ वटा सोमवारे औंसीका व्रत बसी उद्यापन गर्ने विधान छ। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।
अप्रील 8, 2024 2 वर्षहरु
Ati uttam
अप्रील 8, 2024 2 वर्षहरु
kam
अप्रील 17, 2024 2 वर्षहरु
my life is not good enough
अप्रील 19, 2024 2 वर्षहरु
ok
अप्रील 19, 2024 2 वर्षहरु
ok ok ok ok