
श्री स्वस्थानी व्रत- समापन
श्री स्वस्थानी व्रत पौष शुक्ल पूर्णिमादेखि महिलाहरूले एक महिनासम्म गर्ने कठिन व्रत हो। यस व्रतका आराध्य भगवान् शिव र जगज्जननी पार्वती हुनुहुन्छ।
पौराणिक ग्रन्थहरूको प्रमाणअनुसार हिमालयपुत्री पार्वतीको क्रीडाभूमि नेपाल हो। भगवान् शिवकी शक्तिस्वरूपा जगज्जननी माता पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई वरका रूपमा प्राप्त गर्ने मनोकांक्षा राख्नुभएको थियो। र, यही मनोकांक्षा सिद्ध गर्न सर्वप्रथम भगवतीले गर्नुभएको कठिन व्रत नै श्री स्वस्थानी व्रत हो।
मनमा जिज्ञासा उठ्छ, स्वयं पार्वतीले आराधना गर्नुभएकी भगवती श्री स्वस्थानी माता को हुनुहुन्छ ? आउनुस्, यस’bout परिचर्चा गरौं–
माता पार्वती पूर्वजन्ममा दक्षप्रजापतिकी पुत्री सतीदेवी हुनुहुन्थ्यो। श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुरूप उनै सतीदेवीसँग भगवान् शिवजीको विवाह भएको थियो। कुनै समयमा दक्ष प्रजापतिले ठूलो यज्ञको आयोजना गरे। ब्रह्मा, विष्णु, इन्द्रादि तेत्तीसकोटि देवतालाई अङ्गनासहित आमन्त्रण गरे तर आफ्नै ज्वाइँ शिवजी र छोरी सतीदेवीलाई निम्तो गरेनन्। साक्षात् यज्ञमूर्तिलाई यज्ञमा तिरस्कार गरेकाले सतीदेवीको चित्त बुझेन र यज्ञस्थानमा गई पितासँग गुनासो गर्दा उल्टै शिवजीलाई अवहेलना, तिरस्कार र निन्दा गरेपछि सतीदेवीलाई झन् असह्य पीडा भयो।
सतीदेवी शिवकी अधाङ्गिनी मात्र नभएर शक्तिस्वरूपा हुनुहुन्थ्यो। सती र शिव प्रकृति र पुरुषका स्वरूप हुनुहुन्थ्यो। त्यसैले सतीले शिवको निन्दा जस्तो महापाप गर्ने आफ्नै पितासँगको सम्बन्धलाई सदाका लागि अन्त्य गर्ने प्रण गर्नुभयो । र, आफ्नो प्राण भगवान् शिवमा अर्पण गर्दै यज्ञकुण्डमा हामफालेर शरीर त्याग गर्नुभयो।
शिवको निन्दा गर्ने दक्षको यज्ञ शिवगणबाट विध्वंस भयो। वीरभद्रले दक्षको शिर छेदन गरी यज्ञकुण्डमा होमिदिए। त्यसपछि दक्षपत्नी विरणीको करुण पुकारलाई सम्मान गरी उनै वीरभद्रले दक्षप्रजापतिलाई पशुरूपमा जीवनदान दिए।
समस्त यज्ञस्वरूप भगवान् शिवजी हुनुहुन्छ। उनै यज्ञमूर्तिलाई निम्तो र यज्ञभाग नदिई उल्टै तिरस्कार र निन्दा गर्दा दक्ष प्रजापतिले गर्न लागेको यज्ञ त्यसै पनि निष्फल र विपत्तिकारक हुन्थ्यो, सतीको आँसु र श्राप लागेपछि दक्षप्रजापतिको दुर्दशा के भयो, सबै कथामा वर्णन गरिएको छ।
आफ्नी अभिन्न शक्तिस्वरूपा अर्धाङ्गिनी सतीको देहत्यागले भगवान् शिवमा वैराग्य उत्पन्न भयो र सतीको मृतदेहलाई बोकेर पृथ्वीको भ्रमण गर्न थाल्नुभयो। यसो गर्दा सतीदेवीको शरीर गल्न थाल्यो र अंगहरू शरीरबाट छुट्टिँदै झर्न थाले। भगवतीका अंग पतन भएका पावन भूमिमा अभिन्न रूपमा शिव र शक्तिले निवास गर्नुभयो। पृथ्वीका विभिन्न स्थानमा शिवका अंशस्वरूप ज्योतिर्लिङ्ग र शक्तिपीठ स्थापित भए। यसरी विभिन्न स्थानमा उत्पत्ति भएका शक्तिपीठहरूमा स्थानीय भक्तहरूले भक्तिभावले सेवा, पूजन, तपस्या गर्दा शिवशक्तिबाट वरदान प्राप्त गरेका प्रसंगहरू कथामा छन्। ती प्रसंगहरूले शक्तिपीठको महत्त्व दर्साएका छन्।
सतीदेवीले हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट पुनर्जन्म लिएपछि पार्वती नाम रहन गएको हो। पार्वतीले आफ्नो पूर्वजन्मको संस्कारअनुरूप शिवजीलाई मनमनै वर वरण गरिसक्नुभएको थियो। तर पार्वती विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने तयारी थाल्नुभयो। जब यो कुरा पार्वतीलाई थाहा भयो, अनि भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गरी कठोर तपस्या गर्न थाल्नुभयो।
जब शिवकी अर्धाङ्गिनी बन्ने सङ्कल्प गरी पार्वतीले शिवको तपस्या गर्नुभयो, यसबाट आशुतोष महादेव खुसी हुनुभयो र पार्वतीसामु प्रकट भई भगवान् विष्णुको आज्ञा लिएर आफूलाई पतिका रूपमा पाउने उपाय गर्न सुझाव दिनुभयो।
विष्णुले महादेव पति पाउन श्री स्वस्थानीको व्रत गर्ने सल्लाह दिनुभयो अनि सर्वप्रथम पार्वतीले विधिपूर्वक एक महिनासम्म श्री स्वस्थानी व्रत गर्नुभयो।
श्री स्वस्थानी भगवती सुनजस्तै पहेंलो दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विभिन्न आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग ,चर्म र नीलकमल धारण गरेकी, चार बाहु भएकी, शिवको शक्तिस्वरूपा हुनुहुन्छ। यस्ती श्री स्वस्थानी माताको व्रतका प्रभावले पार्वतीले आफ्नो देहमा शिवको शक्तिरूपलाई धारण गर्ने वरदान प्राप्त गरी महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो।
सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको प्रसङ्ग यहाँ उल्लेख भइसक्यो।
कालान्तरमा माता पार्वतीले आफूले गरेको व्रत दीनदुःखीहरूलाई पनि गर्न सुझाव दिनुभयो। सात वर्षको उमेरमा ७० वर्षका बुढा शिवशर्मा ब्राह्मणसँग विवाह भई गर्भवती भएका अवस्थामा श्रीमान् गुमाएकी गोमा ब्राह्मणीलाई यो व्रत गर्न सप्तऋषिका माध्यमबाट माता पार्वतीले सन्देश पठाउनुभयो। श्री स्वस्थानी व्रतका प्रभावले उनको उद्धार भएको प्रसंग श्री स्वास्थानी कथामा छ। परदेश गई बेखबर भएको छोरा नवराज व्रतका प्रभावले तत्काल फर्किएर लावण्य देशको राजा भए।
यस्तै नदीमा बगेर आएको श्री स्वस्थानी व्रतको प्रसादमात्र भेट्टाई बगाउनेलाई आशीर्वाद दिँदा बिछोडिएका नाग–नागिनीको पुनर्मिलन भयो।
उनै गोमा ब्राह्णीकी बुहारी चन्द्रावतीले अहंकारवश श्री स्वस्थानी परमेश्वरीलाई निन्दा र तिरस्कार गर्दा शालिनदीमा वर्षौंसम्म अचेत भएर दुःख पाइन्। उनलाई काँधमा बोकेर हिँड्ने श्रद्धालु डोलेहरूले भने दिव्यलोक प्राप्त गरे। पछि श्री स्वस्थानीको व्रतका प्रभावले चन्द्रावतीको उद्धार भयो। यी सबै प्रसंग स्वस्थानी कथामा आउँछन्।
श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेषमान्तक वन हाम्रै देश नैपालको काठमाडौंमा छन् । यो व्रतकथामा उल्लेखित विषयवस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेका थिए भनी स्कन्द पुराणमा उल्लेख छ। ‘स्वस्थानी’ भनेकी आफ्नै स्थानकी देवी हुन्। नेपाल हिमालयकी पुत्री पार्वतीको क्रीडाभूमि पनि हो। यही भूमिमा तपस्या गरी पूर्ववत् शिवकी अभिन्न शक्ति बनेकी माता पार्वतीलाई नै श्री स्वस्थानी परमेश्वरीका नामले जनाइएको हो। शिव–पार्वतीले विभिन्न स्वरूपमा क्रीडा गर्नुभएका पाशुपतक्षेत्र, श्लेषमान्तक वन, वनकाली, वाग्मती नदी, मृगस्थली, किरातेश्वर, गौरीघाट, गुह्येश्वरीलगायत सतिदेवीका अङ्ग पतन भएका विभिन्न शक्तिपीठ तथा महादेव मन्दिर, पवित्र शालीनदी आदि स्थानमा महिनाभरि श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर स्वस्थानी मेला नै लाग्ने गर्दछ ।
स्वस्थानीको व्रत लिन पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर घर–आँगन शुद्ध पारी व्रतको तयारी गर्नुपर्दछ। व्रतीले महिनाभरि एकछाक शुद्ध फलाहार गरी भुइँमा नयाँ राडी–पाखी अथवा शुद्ध ओछ्यान लगाएर सुत्नुपर्दछ। पौष शुक्ल पूर्णिमाको दिन बिहानै स्नान तथा नित्यकर्म गरेर शुद्ध भई शुद्ध आसनमा बसेर ‘आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक श्री स्वस्थानी परमेश्वरीको व्रतअन्तर्गत प्रत्येक दिन मध्याह्नमा पूजा र राति कथा श्रवण गरी समाप्तिका दिन पारण गर्नेछु’ भनी मनले संकल्प गरेर व्रत प्रारम्भ गर्नुपर्दछ।
श्री स्वस्थानीका व्रतीले दिनहुँ माघस्नान गर्ने, मनमा आराध्यदेवको भक्तिभावले स्मरण गर्ने, षोडशोपचारले पूजा गरी आराधना गर्ने, मन्त्रजप गर्ने र एक छाकमात्र सात्विक भोजन गर्ने अनि साँझमा आराध्य देवाधिदेव महादेव र माता पार्वतीका गुणानुवादले युक्त कथा वाचन, श्रवण, कीर्तन गर्ने विधान छ। यसरी महिनाभरि पवित्र भएर व्रत गरेपछि माघ शुक्ल पूर्णिमामा व्रतको पारण गर्नुपर्दछ।
स्वस्थानी व्रतमा पार्वतीले बाल्यकालमा बालुवाको शिवलिङ्ग बनाई पूजा गरेको हुनाले श्री स्वस्थानीको व्रत लिँदा बालुवाको शिवलिङ्ग बनाई पूजा गर्ने चलन छ। उक्त शिवलिङ्ग नजिकै चामलको टपरीमाथि अष्टदल लेखिएको तामाको थाली राखेर पूजा गर्नुपर्दछ। उक्त थालीमा श्री स्वस्थानी माताको आभूषणहरूले शोभायमान प्रतिमा स्थापना गरी भगवतीका पार्षदका साथमा महादेव समेतलाई पञ्चामृत, चन्दन, धूप, दीप, नैवेद्य, वस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रव्य, सेलरोटी, हलुवा इत्यादि अर्पण गरेर षोडशोपचारले पूजा गर्नुपर्दछ। पूजापछि हातमा फूल लिएर हात जोडी श्री स्वस्थानी माताको निम्न मन्त्रले ध्यान गर्नु पर्दछ–
सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे, दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोर्ध्वं वामदक्षिणयोः क्रमात् ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदीश्वरीम् ।।
अर्थात् भगवती सुनजस्तै पहेंलो दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विभिन्न आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग ,चर्म र नीलकमल धारण गरेकी, चार बाहु भएकी, यस्ती श्री स्वस्थानी माताको ध्यान गर्दछु ।
मध्याह्न कालमा श्री स्वस्थानी मातासँगै भगवान् श्री महादेवको पूजाअर्चना गर्नुपर्दछ। पूजापछिआफूले चिताएको कामना पूर्ण होस् भनी श्री स्वस्थानी मातालाई अर्घ्य दिनुपर्दछ। साँझको पूजापछि श्री स्वस्थानी माताको कथा वाचन गर्नुपर्दछ। कथामा स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। कथापछि आरती गर्नुपर्दछ।
यस क्रमले प्रतिदिन पूजा गरेपछि माघ शुक्ल पूर्णिमाको दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिङ्ग बनाई त्यही थालीको मध्यभागमा स्थापना गर्ने र श्रीस्वस्थानी मातालाई पनि सँगै राखी पूजा गरेर सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फूल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू, १०८ भेटी, जौ, तिल इत्यादि सबै पदार्थ १०८ चढाउनुपर्दछ। अन्य फलफूल र नैवेद्यहरू यथाशक्ति चढाउन सकिन्छ। पूजापछि १०८ परिक्रमा गरी दण्डवत् प्रणाम गर्नुपर्दछ।
व्रत पारायणपछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अर्घ्य दिई माथिका सबै १०८ प्रसादहरूमध्येबाट ८–८ वटा प्रसाद झिक्नु अथवा आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित आफ्ना श्रीमानलाई, श्रीमान नभए आफ्ना छोरालाई, छोरा पनि नभए मीत छोरालाई, मीतछोरा पनि नभए मेरो अमुक कार्य पूरा होस् भनी नदीमा बगाइदिनु र सयरोटी आफूले फलाहार गरी पारण गरेको रात्रिमा जाग्राम बस्नु भन्ने विधिविधान श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ।
यति कर्म गरेपछि श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथाको फलश्रुति रहेको छ।
श्रीस्वस्थानी व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको हुँदा यो व्रत बस्नाले चिताएजस्तै वर प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ। यो व्रतका प्रभावले गोमा ब्राह्मणीको जस्तै सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।
नेपालमा धेरै श्रद्घा र विश्वासका साथ महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो।
फ्रेवुअरी 5, 2023 8 महिनाहरु
damrir
फ्रेवुअरी 5, 2023 8 महिनाहरु
Jai Shree swosthani jagadiswori
फ्रेवुअरी 7, 2023 8 महिनाहरु
kheti kisani
फ्रेवुअरी 14, 2023 7 महिनाहरु
swastani
फ्रेवुअरी 14, 2023 7 महिनाहरु
swastani