रमा एकादशी
By
Nepali Patro
कार्तिक कृष्ण पक्षको एकादशीलाई रमा एकादशी भनिन्छ। यस एकादशीको व्रत बस्दा सम्पूर्ण पापहरूको नाश भई पुण्य प्राप्त हुने विश्वास गरिन्छ। कार्तिक महिनामा क्षीरसागरमा शेषशयामा शयन गर्ने भगवान् नारायणलाई दामोदर भनेर भनिन्छ भने, लक्ष्मीलाई राधा भनिन्छ। यस दिन भगवान् दामोदरको विशेष पूजन गरिन्छ।
व्रतको विधि
रमा एकादशीको व्रत विधि अन्य एकादशीहरू जस्तै छ। व्रतको पूर्वसन्ध्या अर्थात् दशमी तिथिमा बेलुकी सात्विक भोजन गरी, दाँत माझेर, स्वच्छ मनले सुत्नुपर्छ। एकादशीको दिन बिहान सबेरै ब्रह्ममुहूर्तमा उठी नदी, इनार, कुवा वा जलाशयमा स्नान गरेपछि उदाउँदो सूर्यलाई जल चढाई नमस्कार गरिन्छ। त्यसपछि शुद्ध वस्त्र धारण गरी पूजा कोठामा गई भगवान् दामोदर (विष्णु) को मूर्ति वा तस्वीर राखी षोडशोपचार विधिबाट पूजा गर्नुपर्छ। पञ्चामृत, तुलसीपत्र, तिल, फलफूल, नैवेद्य र भेटी अर्पण गरी श्रद्धापूर्वक पूजन गर्नु आवश्यक हुन्छ। दिउँसो एकादशी महात्म्य पढ्ने वा सुन्ने परम्परा छ।
साँझमा नियमित सन्ध्या आरती सकेपछि विष्णु भगवानको आरती गरी सकेकाले फलाहार गर्न सकिन्छ भने सक्नेहरूले निराहार रही रातभर भजनकीर्तन गर्दै जाग्राम बस्नुपर्छ। त्यसपछि द्वादशीको दिन बिहान ब्रह्ममुहूर्तमै स्नान गरी सूर्यलाई अर्घ्य अर्पण गरेपछि दामोदर नारायणको विधिपूर्वक पूजन गर्नुपर्छ। पूजापछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिनुपर्छ। त्यसपछि मात्र व्रत सम्पन्न गर्नका लागि आफूले भोजन गर्नुपर्छ।
व्रतकथा
राजा युधिष्ठिरले श्रीकृष्णसँग कार्तिक महिनाको कृष्ण पक्षको एकादशीको महत्व सोधेका थिए। त्यसको उत्तरमा श्रीकृष्णले रमा एकादशीको कथा सुनाउनुभयो।
सत्ययुगमा सरयू नदी किनारको एक समृद्ध राज्यमा मुचुकुन्द नामका धर्मात्मा र विष्णुभक्त राजा शासन गर्थे। उनी न्याय प्रिय, कठोर निर्णय लिने, तर प्रजाप्रेमी शासक थिए। उनका इन्द्र, यम, कुवेरजस्ता देवतासँग मित्रता थियो। मुचुकुन्दकी एक मात्र सुपुत्री चन्द्रभागाको विवाह चन्द्रसेनका पुत्र शोभनसँग भयो। शोभन शारीरिक रूपमा कमजोर थिए।
एक वर्ष, कार्तिक महिनाको रमा एकादशी आउँदा राजा मुचुकुन्दले सम्पूर्ण प्रजालाई व्रत बस्न आदेश दिए। सो आदेशमा पशुपक्षी समेत समेटिन्थे। आफ्ना पति शोभनले व्रत सहन नसक्ने चिन्ताले चन्द्रभागा असमञ्जसमा परिन्, तर शोभनले राजाज्ञा पालना गर्ने अठोट गरे र निराहार व्रत बस्नुभयो। दुर्भाग्यवश, साँझपख उहाँको निधन भयो।
उनको मृत्यु पश्चात् उनि अर्को जन्ममा मन्दराचल पर्वतको फेदिमा रहेको एक समृद्ध र शत्रुरहित राज्यका राजकुमारको रूपमा जन्म भयो। त्यो राज्य सुनका खम्बा, रत्नजडित महल र गन्धर्व–अप्सराले भरिएको स्वर्ग तुल्य स्थान थियो। यो सबै शोभनले रमा एकादशीको कठोर व्रत पालना गरेर आर्जन गरेको पुण्यफल थियो।
केही समयपछि चन्द्रभागा पनि तपस्वी सोम शर्मासँग शोभनको नयाँ राज्यमा पुगिन्। पति–पत्नी पुनः मिलेपछि चन्द्रभागाले बाल्यकालदेखि आर्जन गरेको सम्पूर्ण एकादशी व्रतको पुण्य शोभनलाई समर्पण गरिन्, जसले गर्दा त्यो दिव्य राज्य स्थायीत्व प्राप्त गर्न सफल भयो।
यसरी रमा एकादशी व्रतले मृत्युपछि समेत दिव्य फल दिने, आत्माको उन्नति गराउने अद्भुत शक्ति राख्दछ भन्ने विश्वास गरिन्छ।
स्रोत: वैदिक संस्कार र हाम्रा चाडपर्वहरू – गोविन्दचन्द्र सुबेदी