No Image
नेपाली पात्रो > चाडपर्व > ललितपुर मत्स्येन्द्रनाथ रथयात्रा

ललितपुर मत्स्येन्द्रनाथ रथयात्रा

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
फ्रेवुअरी 26, 2017

ललितपुर रातो मत्स्येन्द्रनाथ रथयात्रा। विविध संस्कृति, परम्परा, रीतिरिवाजमा धनी मानिने हाम्रो देश नेपालमा वर्ष दिनभरि मनाइने विभिन्न चाडपर्वहरूमध्येको एक हो ललितपुरको रातो मत्स्येन्द्रनाथको रथयात्रा। विशेष गरी यस क्षेत्रका नेवार समुदाय लगायत अन्य जात-जातीले समेत मनाउने यस रथयात्रा ललितपुरको मात्र नभई नेपालकै सबभन्दा लामो समय सम्म मनाइने पर्वको रूपमा परिचित रहेको छ। करिब एक हजार ६०० वर्ष पुरानो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको रथयात्रा पाटन अर्थात् ललितपुरको सबैभन्दा महत्त्वपूर्ण तथा काठमाडौँ उपत्यका लगायत नेपालकै लागि समेत एक महत्त्वपूर्ण स्थान ओगटेको जात्राको रूपमा परिचित छ। यो जात्रा नेपाली पात्रो अनुसार वैशाख शुक्ल प्रतिपदाको दिन देखि सुरु भई असार शुक्ल चौथी सम्म झन्डै दुई महिना पछि समाप्त हुने गर्छ। 

रातो मत्स्येन्द्रनाथ (वंग द्यः) को रथयात्रा ललितपुर परिक्रमा गर्ने क्रममा पुलचोकमा रथारोहण गरी, त्यहाँ बाट सुरु भए पछि न: टोल – गा बहाल- महापाल – मङ्गल बजार – ललितपुरको सुन्धारा बाट लगनखेल हुँदै अन्तमा जावलाखेल (जा ह्वला ख्यः =भात छर्ने चौर) पुराएर भोटो जात्रा गरे पछि समापन हुने गर्छ। नेपाल भाषामा जावलाखेलको नाम “भात छर्ने चौर” को रोचक प्रसङ्ग सँग पनि जोडिएको छ। त्यस ठाउँलाई भनिएको “जा ह्वला ख्यः” नै अपभ्रंश भएर अहिलेको जावलाखेल हुन पुगेको हो। भोटो जात्राको अघिल्लो दिन भूतप्रेत पन्छाउन रथ वरिपरि भात छर्ने गरिने हुनाले जावलाखेल- जा ह्वला ख्यःको नामले परिचित थियो।

सनातन हिन्दु धर्मावलम्बीहरूले रातो मछिन्द्रनाथ लाई गुरु करुणामयको रूपमा पुज्ने गर्छन् भने नेपालका बौद्ध धर्मावलम्बीहरूले “पद्म पाणि लोकेश्वर”  को रूपमा पूजा गर्ने गर्छन्। लिच्छवी कालमा राजा नरेन्द्रदेवको पालामा सुरु भएको यो जात्रा को रथ अर्थात् रातो मछिन्द्रनाथ (श्री करुणामय वंग द्यः) को रथ त्यस छेत्रको स्थानीय “वाराही” जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता समेत रही आएको छ। 

यस रातो मत्स्येन्द्रनाथको जात्राको क्रममा सब भन्दा पहिले म्हेपीको डाँडाको माटो लेराइ त्यस माटोबाट करुणामयको मूर्ति बनाइन्छ। अनि एक कलशमा रहेको भँवरा रूपी देवताको आत्मा त्यस माटोको मूर्तिमा प्रतिस्थापन गर्ने गरिन्छ। चैत्र महिनाको पूर्णिमाका दिन विधिवत् पूजा गरेपछि त्यसको भोलिपल्ट देखि रथ निर्माणको काम सुरु गर्ने गरिन्छ।  रथ निर्माण गर्ने क्रममा ३२ हात अग्लो, ३२ हात लामो र ३२ तलाकै रथ निर्माण गर्ने गरिन्छ भने त्यस रथ गुडाउने पाङ्ग्राको परिधि पनि ३२ हातकै हुने यस रथमा पुरानो वास्तुकलाको ज्वलन्त नमुना रहेको पाइन्छ। 

काठ र बेतको प्रयोग बाट कुशल संयोजनका साथ बनाइने रथ अत्यन्त मजबुत हुन्छ भने पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा रथ अग्लो हुने हुँदा समेत रथ आधा ढल्कँदा पनि हतपती पल्टँदैन। यति अग्लो र सन्तुलित ढङ्गले निर्माण गरिने रातो मच्छिन्द्रनाथको रथ अवश्य पनि विश्वको उत्कृष्ट काली गढीको एक नमुना हो। 

विभिन्न तिथिमा अनेकन् कर्म तथा कृत्य गर्दै वैशाख कृष्ण प्रतिप्रदाको दिन करुणामय/ रातो मत्स्येन्द्रनाथको “न्हवं” अर्थात् स्नान गर्ने कार्य गरिन्छ। स्नान पछि वैशाख शुक्ल प्रतिपदाको दिन रथारोहण गरी अक्षय तृतीयाका दिन गो-दान, शान्ति स्वस्ति गर्दै चौथी तिथिमा रथ यात्रा प्रारम्भ हुन्छ। नेपालको जीवित सम्पदाको रूपमा समेत चिनिने रातो मच्छिन्द्रनाथको रथलाई निर्माण पश्चात् भने हरियो धुपीले सजाउने गरिन्छ।

यसरी रथ यात्रा भोटो जात्रा पछि समापन गर्दै मत्स्येन्द्रनाथको मूर्ति भने बुङ्गमती लगेर राखिन्छ। मत्स्येन्द्रनाथको मूर्ति वर्ष को ६ महिना पाटन र ६ महिना बुङ्गमती राख्ने चलन रहेको छ। मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा अनिकाल भएको कारण लिच्छवी कालमा भक्तपुरका राजा नरेन्द्रदेवले काठमाडौँका तान्त्रिक बज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथ चक्र समेतले मत्स्येन्द्रनाथलाई आसामको कामरूप कामख्याबाट ल्याएको भन्ने भनाइ रहेको छ।

यिनै व्यक्तिहरूले आपसमा सर-सल्लाह गरी सूर्यनारायण दक्षिणायनको समय को १२ पक्ष (६ महिना) बुङ्गमतीमा राख्ने र सूर्यनारायण उत्तरायणको समयमा १२ पक्ष अर्थात् पछिल्लो ६ महिना पाटनमा राख्ने चलन चलाएका थिए। जस अनुरूप अझै सम्म पनि ६ महिना रातो मत्स्येन्द्रनाथको मूर्ति पाटनमा र ६ महिना बुङ्गमतीमा रहने प्रचलन अद्यापि छदै छ। यस जात्रामा बाजा गाजा र शार्दूल जङ्गको पल्टन सम्मिलित हुँदै बढाई गर्ने चलन पनि छ। रथ गा: बहाल पुगेको रातमा ‘छोय्ला भू’ भनी एक भोजको आयोजना गर्ने र समय-बजी बाँड्ने परम्परा पनि रहेको छ।

आर्य-अवलोकितेश्वर भनी पनि चिनिने रातो मत्स्येन्द्रनाथलाई करुणामय, रक्तावलोकितेश्वर, लोकनाथ, पद्म पाणि बुंगम लोकितेश्वर आदि विभिन्न नामबाट पनि पुकारिँदै आइएको छ। तर, नेवार समुदायले भने ‘बुंग द्यः’ नामबाट रातो मत्स्येन्द्रनाथलाई लोकप्रिय बनाएका छन्। पुलचोकमा रथारोहण गराएपछि सुरु हुने रातो मत्स्येन्द्रनाथको रथ यात्रा लगनखेलमा भोटो देखाए पश्चात् मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथयात्रा समापन गर्ने गरिन्छ।  


Comments

    कल्याण

    रातो मक्षेन्द्रनाथको रथ यात्रा सिध्दीनरसिंह मल्लको पालामा नभई लिछ्छावी राजा नरेन्द्रदेवकै पल देखि शुरु भएको तथ्य गुठी संस्थानमा रहेको अभिलेखमा रहेकोले सो अभिलेख अध्यन गरी त्रुटी सच्याउनु होला |

      कल्याण ज्यू, नमस्कार। यस लेखमा भएका कमी कमजोरीहरू औँल्याई दिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा यी गल्तीहरू सच्याउँदै जाने ब्यहोरा जानकारी गराउन चाहन्छौ। नेपाली पात्रो परिवार।

    P.R.Bajracharya

    An unclear article and suggest. It is better to write an article after study of history.

    kumar magar

    nice

    santosh

    s

    P .R.Bajracharya

    The Article Writer should study History & Related Books for Better. God Matsyendra Nath chariot is only celebrated within Lalitpur Valley not Kathmandu. The Lokeswor is known as Padampani Lokeswor

      बज्राचार्य ज्यू, नमस्कार। यस लेखमा भएका कमी कमजोरीहरू औँल्याइँदै थप जानकारी समेत दिनुभएकोमा सादर धन्यवाद। आउँदा दिनहरूमा यस्ता गल्तीहरू सच्याउँदै जाने ब्यहोरा जानकारी गराउन चाहन्छौ। सदैव हजुरहरूको सहयोग प्राप्त भैरहोस।  नेपाली पात्रो परिवार।  

    Roshani Karmacharya

    good information every body must know the history to keep updated

    p.r Bajracharya

    The Lokeswor iskonw


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!