श्रीगणेश चतुर्थी

श्रीगणेश चतुर्थी

By Nepali Patro
अगस्ट 25, 2025

खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम् ।
दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम् ।।

होचो तथा मोटो शरीर हुनुभएका हात्तीको जस्तै अनुहार र लामो पेटमा सुन्दर देखिनुहुने, मदको सुगन्धले आकर्षित भँवराबाट जोगिन गण्डस्थल चलायमान भए जस्तै देखिने, दाँतको चोटले विदीर्ण हुनुभएका शत्रुहरूको रक्तद्वारा सिन्दूरको जस्तै शोभा धारण गर्नुहुने, कामना र सिद्धि प्रदान गर्नुहुने पार्वतीपुत्र श्रीगणेशलाई कोटिकोटि प्रणाम।

गणेशपुराणअनुसार भगवान् गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा भएको हो। त्यसैले प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन वहाँको जन्मोत्सव मनाउने गरिन्छ । चतुर्थी तिथिमा पार्वतीपुत्रका रूपमा भगवान् गणेशको प्राकट्य भएकाले चतुर्थी तिथिका स्वामी भगवान् गणेश नै हुनुहुन्छ। वहाँको सर्वप्रिय तिथि चतुर्थी हो।

श्रीगणेश जन्मनुभएको वार भने मंगलवार थियो। यसकारण मंगलवारका स्वामी पनि वहाँ नै हुनुहुन्छ। भगवान् श्रीगणेशका सर्वप्रिय तिथि चतुर्थी र वार मंगलवार नै हुन्। त्यसैले चतुर्थी र मंगलवारको संयोग भएको दिन भगवान् गणेशको विशेष पूजा–आराधना गरी वहाँलाई प्रसन्न बनाउने प्रयत्न गरिन्छ।

चतुर्थी र मंगलवारको संयोग भएको दिनलाई मंगल–चतुर्थी अर्थात् मंगल चौथी भन्ने गरिन्छ। मंगल चौथी भगवान् गणेशको आराधना गर्ने पवित्र दिन हो। यस दिन प्रातःकालमा स्नानादि नित्यकर्म गरी पवित्र वस्त्र धारण गरेर भगवान् श्री गणेशका साथमा वहाँका पिता–माता शिव–पार्वतीको समेत पूजा गर्ने विधान छ। यस दिन भगवान् गणेशको शास्त्रोक्त विधिले पूजा–आराधना, भजन–कीर्तन, श्रीगणेश स्तोत्र तथा गणेश अथर्वशीर्षको पाठ र कथावाचन–श्रवण आदि गरिन्छ।

भगवान् श्रीगणेशको प्रसन्नताका लागि मंगल चौथीका दिनबाट नियमित मंगलवार व्रत बस्ने चलन छ। यसरी व्रत बस्दा व्रतीहरूले मुसामा विराजमान हुनुभएका, हातमा परशु र पाश धारण गर्नुभएका श्रीगणपतिको मूर्तिलाई प्राणप्रतिष्ठा गरी षोडशोपचार विधिले पूजा गर्नुपर्दछ। भगवान् श्री गणेशको मन्त्र उच्चारण गर्दै फूल, अक्षता, चन्दन, अबिर, कुंकुम, जनै, दुबो, माला, प्रसाद, पान, सुपारी आदि अर्पण गर्नुपर्दछ। श्रीगणेशलाई लड्डुको भोग लगाउनु पर्दछ। साँझमा भगवान् गणपतिको पूजा गरेपछि चन्द्रमा र मंगल ग्रहको समेत पूजा गरी अर्घ्य दिनुपर्छ। परिवारका सबै सदस्या जम्मा भई श्रीगणेशको आरती गरी व्रत समापन गर्नुपर्दछ।

भगवान् श्रीगणेश मंगलकारी देवता हुनुहुन्छ। सम्पूर्ण दुःख–कष्ट र विघ्नबाधा हरण गर्नुहुन्छ र सबै कार्यमा सिद्धि प्रदान गर्नुहुन्छ। विद्या, धन, पुत्र, सुख आदि सबै चिज प्रदान गरी भक्तहरूको कल्याण गर्नुहुने भगवान् श्रीगणेशको सर्वप्रिय र विशिष्ट दिनमा वहाँको उपासना र व्रत गर्नाले जानीनजानी अर्जित र सञ्चित हुन पुगेका कायिक, वाचिक र मानसिक तीनै किसिमका पाप नाश हुन्छन्। आधिदैविक, आधिभौतिक र आध्यात्मिक तापको विनाश हुन्छ। श्रद्धा, भक्ति र निष्ठापूर्वक श्रीगणेशको पूजा गर्नाले मनोवाञ्छित फल प्राप्त गर्न सकिन्छ। सन्तान नहुने दम्पत्तिले विधिपूर्वक गणेशजीको उपासना गर्दा सन्ततिलाभ गर्दछन् भन्ने फलश्रुति विभिन्न पुराणहरूमा रहेको छ।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ