दत्तात्रेय जयन्ती
नेपाली पात्रो > चाडपर्व > दत्तात्रेय जयन्ती

दत्तात्रेय जयन्ती

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
डिसेम्बर 7, 2022

दत्तात्रेय जयन्ती । आज दत्तात्रेय जयन्ती। दत्तात्रेयलाई शैवमार्गीहरूले भगवान शिव शंकरको अवतार मान्ने गर्छन भने वैष्णवहरू भगवान् विष्णुको अवतार को रूपमा मान्ने र पुज्ने गर्दछन। तर समग्रमा भन्ने हो भने सनातन हिन्दू धर्म अन्तर्गत त्रि-देव अर्थात् ब्रह्मा (ब्रम्हाण्ड वा सिर्जनाकर्ता), विष्णु (पालनकर्ता/संरक्षक) र महेश वा शिव शंकर/महेश (विनाशक) द्वारा प्रतिपादित प्रचलित विचारधाराको सम्मिश्रण गर्नका लागी एकीकृत स्वरूपको रूपमा भगवान् दत्तात्रयको जन्म भएको बिश्वास रहेको छ। भगवान दत्तात्रेयको जन्म जयन्ती वा दत्तात्रेय जयन्ती, मार्ग शुक्लपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। नेपालमा समान्य भाषामा दत्तात्रय नामले सम्बोधन गरिए पनि दत्तात्रेय नामले भने उहालाई पनि बढी पुकारिने गरिन्छ। दत्तात्रेयको मन्दिर नेपालका विभिन्न ठाउँहरूमा भएता पनि भक्तपुरको पूर्वी भागमा (दत्तात्रय चोक) मा रहेको काष्ठ र प्रस्तर को अनुपम रस प्रदान गर्ने शिखर शैलीको भब्य मन्दिर भने महत्वपुर्ण मन्दिरमा गनिन्छ।   

माथि उल्लेख भए झैँ ब्रह्मा, विष्णु, र महेशको अंशहरूबाट जन्म भएको दत्तात्रय, त्रि-देवमध्येका ब्रह्माको अंशबाट रजोगुण प्रधान ‘सोम’, विष्णुको अंशबाट सत्त्वगुण प्रधान ‘दत्त’ र शङ्करको अंशबाट तमोगुण प्रधान ‘दुर्वासा’को जन्म भयो। यस जन्म पश्च्यात भगवान विष्णुले अनुसूयालाई वर प्रदान दिने क्रममा ‘अहं तुभ्यंमयादत्त’ भनेका हुनाले उनको अंशबाट प्रादुर्भूत भएको शिशुको नाम ‘दत्त’ रहन गएको थियो। त्यसै गरी अत्रि मुनिको पुत्रको रुपमा जन्म लिएका कारण यिनलाई ‘आत्रेय’ गोत्र जसलाई “वंशोपाधि” पनि भनिन्छ आत्रेय गोत्र प्राप्त भयो। यसरी ‘दत्त’ र ‘आत्रेय’ को मिश्रण वा योगबाट उनको ‘दत्तात्रेय’ नाम रहन गएको हो। यसै कारण अर्थात् ब्रह्मा, विष्णु, र महेशको अंशहरूबाट जन्म भएको कारण दत्तात्रेयको मूर्ति लगायत उनका चित्र हरूमा त्रि-मुर्तिको प्रतिक तीनवटा मुख (शिर), छ वटा हात भएको त्रि-देवमय स्वरूप देख्न सकिन्छ। 

स्कन्द पुराणमा वर्णित एउटा प्रसङ्गमा महान् तपस्वी ऋषि अत्रिको तपोबल र महासती अनसूयाको भक्तिबलको प्रभावबाट चक्षु (आँखा) बाट बाहिरिएको दिव्यतेज घनीभूत हुँदा नै परम तेजस्वी दत्तात्रेय प्रकट भएका थिए। त्रि-देव वा त्रिमूर्तिको स्वरूपमा जन्म भएको दत्तात्रेयको शरीरमा रहेको तल्लो, मध्य भागको र माथिल्लो भागका दाहिने र देब्रे दुबै हात क्रमश: ब्रह्मा, महेश र विष्णुको द्योतक हुन्। संस्कृत को महावाक्य ‘अहं ब्रह्मास्मि’को प्रतीक समेत मानिने तल्लो दाहिने हातमा अक्षमाला अर्थात् जपमाला रहेको देखिन्छ। त्यसै गरी ‘प्रज्ञानं ब्रह्म’को प्रतीक मानिने दत्तात्रेयको तल्लो देब्रे हातमा कमण्डलु, ‘तत्वमसि’ को प्रतीक बीचको दाहिने हातमा डमरू, ‘सुषुम्णायां स्थित: सर्वेको’ प्रतीक बीचको देब्रे हातमा त्रिशूल, ‘ॐ खंब्रह्म’को प्रतीक माथिल्लो दाहिने हातमा शङ्ख देख्न सकिन्छ भने ‘अयमात्मा ब्रह्म’को प्रतीक उनको माथिल्लो देब्रे हातले भने श्री बिष्णुको हातमा रहने सुदर्शन चक्र धारण गरेको देख्न सकिन्छ। 

दत्तात्रेयको चरित्रको ’bout बिस्तृत रूपमा लेखिएको ‘सर्वस्व’ नामक एक ग्रन्थमा उनलाई आध्यात्मिक रहस्यका रूपमा पनि व्याख्या गरिएको छ। त्यस ग्रन्थ अनुसार पनि माथि उल्लेख गरे झैँ दत्तात्रेयलाई त्रिमूर्ति (ब्रह्मा, विष्णु र महेश) को प्रणव स्वरूपको प्रतीकका रूपमा वर्णन गरिएको पाईन्छ। दत्तात्रेयका तीनवटा मुख (शिर/मस्तक) ले प्रणवका तीनवटा मात्रा (अ, उ,म्= ॐ) लाई र अर्द्धमात्रा एवं बिन्दुको अव्यक्तावस्थाको प्रतिनिधित्व गर्दछन्। प्रणवको विस्तारित स्वरूपलाई इङ्गित गर्ने क्रममा वेदमाता गायत्रीको रुपमा गाई उनको समीपमा रहेकी छन् भने गायत्रीको साधनाबाट प्राप्त हुने ‘पुरुषार्थ चतुष्टय’ अर्थात् धर्म, अर्थ, काम, र मोक्ष लाई चारवटा कुकुरका रूपमा यिनका खुट्टाका वरिपरि देखाईएको मान्यता छ। 

दत्तात्रेयको शरीरका छ वटा हात पूर्ण ज्ञान, पूर्ण वैराग्य, पूर्ण यश, पूर्ण श्री, पूर्ण ऐश्वर्य र पूर्ण वीर्य (धर्म) लाई इंगित इङ्गित गर्दछ भने उनका दुइ खुट्टाले प्रेय तथा श्रेयको प्रतीकात्मक ढङ्गले अर्थ्याउन खोजेको हो। महायोगीको रुपमा समेत चिर – परिचित दत्तात्रेय सबै बाल सुलभ, सरलता एवं शुद्ध भावना भएका भक्तहरू लाइ अत्यन्त माया तथा करुणा राख्ने त्रि- देवीय स्वरूप चिरञ्जीवी भएका कारण उनि सधै कण-कणमा विद्यमान छन् भन्ने विश्वास हरेक सनातन हिन्दू धर्मालम्बीको रहेको छ।  

भगवान दत्तात्रेयको जन्म जयन्ती मंसिर (मार्गशीर्ष) महिनामा नेपाल लगायत भारतको समेत विभिन्न स्थान हरूमा भब्य रुपमा मनाउने गरिन्छ। दत्तात्रेय जयन्तीको दिन भक्तपुर स्थित दत्तात्रेय मन्दिरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ। नेपालमा यस दिन बाहेक  साउनको अन्तिम सोमबार पनि यस मन्दिरमा भक्तजनको घुईचो लाग्ने गर्छ। त्यस बाहेक ब्रम्हा, विष्णु र महेश्वरको एकै स्वरुप वा त्रिशक्तीको रूपमा पुजा हुने यस मन्दिरमा बिहान सबेरै देखि पूजा आजाका लागि भक्तजन हरूको उपस्थिति अरु बेला पनि त्यत्तिकै हुन्छ। 

नेपाली समाजमा त्यसमा पनि महिलाहरूमा साउनको सोमबार दत्तात्रेयको मन्दिर वा भगवान् शिवको मन्दिर दर्शन र पूजा आजा गरेको खण्डमा आफ्नो मनोकामनाहरू पूरा हुने जनविश्वास रहेको छ। यसरी यस मन्दिरमा साउनको सोमबार भक्तजन हरूको घुइचो लाग्नुको कारण दत्तात्रेयलाई शैवमार्गीहरू भगवान शिवको अवतार मानेको हुनाले हो र उता वैष्णवहरूले भने दत्तात्रेयलाई भगवान् विष्णुको अंशावतार मान्दछन्। 

दत्तात्रेय गुरु वंशको प्रथम गुरु, साधक, योगी र वैज्ञानिकको रूपमा मानिन्छन्। सनातन हिन्दू मान्यता अनुसार दत्तात्रेयले व्योमायान उड्डयनको शक्तिको ’boutमा ज्ञान लिएका थिए र चिकित्सा शास्त्रमा पनि ठुलो योगदान दिएका थिए। दत्तात्रेय “नाथ सम्प्रदाय”को “नवनाथ” नामक परम्पराको अग्रज आचार्य हुन्। त्यसै गरी यिनी रसेश्वर सम्प्रदायका प्रवर्तक समेत हुन भन्ने मान्यता र चलन रहेको छ। भगवान दत्तात्रेय डुमरीको (डुमरी/ फिकस कुल अन्तर्गतको वृक्ष बैज्ञानिक नाम Ficus racemosa) विशाल वृक्षको छेउमा यिनको निवास हुन्छ भनिएको छ। भगवान् दत्तात्रेयले वेद र तन्त्रमार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्माण गर्नु भएको थियो। 

विभिन्न मठ, मन्दिर आदीमा रहेका यिनका चित्रमा प्रतिमा र विग्रहको दर्शन गर्न सकिन्छ।  दत्तात्रेयले मानव जीवनमा पशुपन्छीको जीवन, तिनका कृयाकलापबाट मात्र नभई व्यक्ति र वस्तुको गुण बाट पनि ज्ञान आर्जन गर्न सकिने विचार व्यक्त गरेका थिए। र यसै अनुसार उहाले जसबाट जति गुणहरू ग्रहण गरी प्रयोग गरिन्छ, ती व्यक्ति र वस्तुलाई गुण प्रदायक मानेर आफ्नो गुरु मान्न सकिन्छ भन्ने विचार व्यक्त गरेका हुनाले हरेक बस्तु उनका लागि गुरु समान थियो। 

दत्तात्रेयलाई ईश्वर र गुरु दुवै रूप समाहित भएको व्यक्तित्वका रूपमा लिइन्छ, उनलाई ‘परब्रह्ममूर्ति सद्गुरु’ र ‘श्रीगुरुदेवदत्त’ को नामले पनि चिनिन्छ। उनलाई गुरू परम्परामा आदिगुरु, साधक, योगी र वैज्ञानिक समेत मानिन्छ। पुराणमा उल्लेख भएअनुसार दत्तात्रेयले परशुरामलाई श्रीविद्या नामक मन्त्र प्रदान गरेका हुन्। त्यस्तै भगवान् शिवका पुत्र कार्तिकेयलाई यिनले अनेकौँ विद्याहरू प्रदान गरेका थिए, अनि भक्त प्रह्लादलाई अनाशक्ति योगको उपदेश दिएर उनलाई श्रेष्ठ राजा बन्ने क्षमता समेत प्रदान गरेका थिए। भगवान् दत्तात्रेयकै भक्तिका कारण गुरु गोरखनाथले आसन, प्राणायाम, मुद्रा र समाधि गरी चतुरङ्ग योगको मार्ग प्राप्त गरेका हुन्। 

दत्तात्रेय जयन्तीका अवसरमा ‘गुरुचरित्र’को पाठ गर्ने चलन छ। जसमा श्रीपाद, श्रीवल्लभ र श्रीनरसिंह सरस्वतीका अद्भुत चरित्र र लीलाहरू एवं चामत्कारिक शक्तिको हरूका वर्णन रहेको छ। जसमा श्री-पद (श्रीपद), श्रीवल्लभ र श्री नरसिम्ह सरस्वतीको  अद्भुत चरित्र र मनोरञ्जन र चमत्कारी शक्ति हरूको बर्णन रहेको छ। यस्ता त्रिमुख, षड्भुज, भस्मभूषित अङ्ग भएका, जटायुक्त मस्तक, घाँटीमा रुद्राक्ष माला धारण गरेका महा पूजनीय त्रिमूर्ति स्वरूप भगवान् तथा महायोगी को आज परेको दत्तात्रेय जयन्ती पूजनीय दिनको उपलक्षमा भगवान् दत्तात्रेयलाई गुरुका रूपमा स्वीकार गर्दै आजको दिन भव्यताको साथ मनाउ। 

रागद्वेषादिबाट मुक्ति, समस्त प्राणिको कल्याणका निमित्त चेष्टा गरौ, ब्रह्मज्ञानको दृढबोध र धैर्यता विकास गरौ। गुरु दत्तात्रेय जयन्तीलाई धुमधामले मनाउ। आजको यस पावन दत्तात्रेय जयन्तीको नेपाली पात्रोको तर्फ बाट हरेक नेपाली, सनातन हिन्दु धर्मालम्बीहरुलाई मुरी का मुरी हर्दिक शुभ कामना। दत्तात्रेय जयन्ती।

Comments

    Jhula Upadhyaya Dahal

    very good

    दीपेन्द्र सिम्खडा

    जय गुरु दत्तात्रेय!! दत्तात्रेय एक व्रम्हा अवतार पनि हुन्।


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!