
दर खाने दिन
हिन्दू धर्म मान्ने महिलाहरुको महान पर्व हरितालिका तीजको दर खाने दिन तीजको मुख्य दिनको एक दिन अघावै हिन्दू पात्रो अनुसार भाद्र शुक्लपक्ष, व्दितीयाको दिनमा विवाहित महिलाले पतिको दीर्घायुको लागि तथा अविवाहितहरुले सुयोग्य पतिको इच्छा प्राप्तिको लागि बसिने तीजको व्रत बस्न पूर्व-तयारीको रुपमा आ-आफ्नो घर-माइतीमा विशेष गरी दूधबाट बनेका मीठा-मीठा परिकारहरु,खीर,सेलरोटी र फलफूल आदि इत्यादि तयार गरी नांचगान, रमाईलोका साथ दर खाने चलन रहेको छ |त्यसैलाई चलनचल्तीको भाषामा दर खाने दिन भनिँदोरहेछ |
दर खाने दिनको चलन तथा महत्व नेपालभरका साथसाथै भारतको कुनै कुनै ठाउँमा नि रहेको पाइन्छ | यस विशेष दिनमा महिलाहरुको माइतीपक्षले आफ्ना छोरी,चेलीलाई घर बोलाएर मीठा-मीठा परिकारहरु तयार पारी खुवाउने तथा मनका भावना,सुखदुख साटासाट गरी एकै ठाउँमा सपरिवार अर्थात् प्रायः महिलामात्र खाने बस्ने गर्दछ | यसरी दर खाने दिनबाटनै हरितालिका तीज पर्वको आरम्भ भएको मानिन्छ | यसरी वर्षदिनको एकचोटि दर खाने दिन मनाइने चलनले हाम्रो हिन्दि समाजमा विवाहित महिलाहरु आफु जन्मिएको घर,आमा,बुबा, भाइबहिनी सब छोडी श्रीमानसंग बाँकी जीवन बिताउनु पर्ने दुख पीडालाई कम अथवा बिर्साएर आफ्नो प्रिय माइतीको माया एवं सम्झनाको खाडललाई कम गर्न ठूलो मद्दत पुर्याएको हुन्छ | दर खाने दिन विधिवत् पूजाआजाभन्दा पनि मनोरंजनात्मक रहन्छ |
बढ्दो आधुनिकतासंगै दर खाने चलनमा केही फेरबदल तथा खाने परिकारहरुमा ठाउँअनुसार परिवर्तन भएतापनि दर खाने दिनको मूल मर्ममा खासै भिन्नता पाइएको छैन | भोलिपल्ट तीजको मुख्य व्रत दिनभर अन्नपानी केहिपनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन अवेर रातिसम्म आइमाई-महिलाहरु जागाराम बसी पेटभरी आ-आफ्नो पहुँच अनुसारको मीठो मीठो परिकारहरु तयारी गरी खाने र खुवाउने गर्दछन् | हिजोसम्म उही सनातन हिन्दू महिलाहरु मात्रले मनाउने दर खाने दिन आज आएर अरु धर्म,संस्कृतिका समुदायका महिलाहरुले पनि शोक, रहर वा देखासिकीमा मनाउन थालेको हाम्रो समाजमा हामी देख्न सक्दछौं | यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।
सेप्टेम्बर 5, 2024 10 महिनाहरु
Happy teej to all of you.