भाइटीका

भाइटीका

By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल
मार्च 2, 2017

तिहारको पाँचौं दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई पाउदेखि शिरसम्म पूजा गरेर सुगन्धित तेल आदि कपालमा लगाएर तेल र जल लिएर तीन पटक परिक्रमा गरी विधिपूर्वक सप्तरङ्गी टीका लगाउने पर्वलाई भाइटीका भनिन्छ। काग तिहारदेखि नै अलगअलग पर्व भए पनि यिनीहरूको सम्बन्ध यमपञ्चकसँग रहेकाले पाँचै दिनको समान महत्त्व छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा गोबलिपूजा, गोवर्द्धन पर्वत पूजा एवं पारिवारिक द्यूतक्रीडा गरेपछि द्वितीयाका दिन भाइटीका को कार्य आरम्भ गरिन्छ ।

द्यूतक्रीडाको महत्त्व

परिवारका सबै सदस्य बसेर विधिपूर्वक कौडा पूजा गरी खेलिने खेल नै द्यूतक्रीडा हो। यसलाई व्यवहारमा जुवा खेल्ने भनिन्छ। द्यूतक्रीडामा सबैले तलको मन्त्र पढेर विजय प्राप्ति होस् भन्ने कामनाका साथ विजया पूजा एवं प्रार्थना गर्नुपर्दछ।
या लक्ष्मीर्दिवसे पुण्य दीपावल्याश्च भूतले।
गवां गोष्ठे च कार्तिक्यां सा लक्ष्मी वरदा मम।।
जुवा खेलेपछि जसले जितेको हुन्छ त्यसैका हातबाट वर्षदिन सम्मको घरव्यवहारको लेनदेन, आर्थिक कारोबार र महत्त्वपूर्ण लगानी गर्नुपर्दछ।

भाइटीका – पूजाको तयारी

दैनिक गरिने नित्यकर्म सकेर दियो, कलश, गणेश ठीक पार्ने। त्यसपछि बिमिरो आदि फलमा यमराज पूजाको तयारी गर्ने। मार्कण्डेयलगायत अष्टचिरञ्जीवीको पूजा गर्नका लागि पनि सबै पूजा सामग्री तयार गरेर राख्ने। षोडशोपचार विधिले पूजा गर्दा १. फूल, २. कर्मपात्र (पछि निर्माण गरिने), ३. कुशका टुक्रा, ४. पाद्य (जल), ५. अर्घ्य (पछि निर्माण गरिने), ६. आचमनी (जल), ७. स्नान (जल), ८. पञ्चामृत (दूध, दही, घिउ, चिनी, मह), ९. शुद्धोदक (जल), १०. चन्दन, ११. अक्षता, १२. नैवेद्य (फलका चाना वा धेरै ठाउँ चढाउने पक्वान्न), १३. वस्त्र, १४. जनै, १५. ताम्बूल (पान, सुपारी, अलैंची, सुकुमेलमध्ये कुनै) १६. दक्षिणा (चानचुने पैसा), १७. तिल–जौ, १८. धूप १९. दीप (बाती) २०. रङ, अबिर आदि, २१. दुना–टपरा, २२. चामल, २३. पानी लगायत सामग्री तयार पारेर राख्ने।
भाइटीका का लागि सात रङ, अबिर, पीठो, अक्षता, तेल, माला, मिष्ठान्नलगायत खानेकुरा, उपहार आदि तयार पारेर राख्ने।

भाइटीका दिनका मुख्य कर्ता दिदीबहिनी भएकाले उनीहरूले नै संकल्पदेखिका सबै पूजा गर्नुपर्छ।

सुरुमा कर्मपात्र निर्माण यसप्रकार गर्ने–

कचौरा आदिमा ‘ॐ यद्देवा…’ इत्यादि मन्त्रले देवताहरूलाई आवाहन गर्ने।
ॐ पवित्रेस्थो…’ इत्यादि मन्त्रले कुशका टुक्रा र पवित्र राख्ने।
ॐ शन्नो देवी…’ इत्यादि मन्त्रले जल हाल्ने।
ॐ गन्धद्वारान्दुरा…’ इत्यादि मन्त्रले चन्दन राख्ने।
ॐ अक्षन्नमीमदन्त…’ इत्यादि मन्त्रलेअक्षता राख्ने।
ॐ यवोसि…’ इत्यादि मन्त्रले जौ राख्ने।
ॐ तिलोसि सोम…’ इत्यादि मन्त्रले तिल राख्ने।
ॐ श्रीश्च ते…’ इत्यादि मन्त्रले फूल राख्ने।
त्यसपछि तीनवटा कुशका टुक्रा र कर्मपात्रको जल हातमा लिएर पूजासामग्री, पूजास्थल र आफूलाई समेत छर्कने।
अब कर्मपात्रको जल हातमा लिएर ‘मेरो र मेरा दाजुभाइहरूको चिरायु, आरोग्य ऐश्वर्य र सबैतिरबाट उदयको प्राप्तिका लागि यम आदि देवताहरूको पूजा गर्दछु’ भन्ने भावका साथ प्रतिज्ञा संकल्प गर्ने।

प्रतिज्ञा संकल्प

पूर्वसंकल्प सिद्धिरस्तु। …….अद्येह अहं मम भ्रातृणां (भ्रातुः) च चिरायु–आरोग्य–ऐश्वर्य–सर्वोदय अभिवृद्ध्यर्थं यम–यमुना–यमदूत–सूर्यादि–नवग्रह–मार्कण्डेयादि–अष्ट–चिरञ्जीवीनां पूजनमहं करिष्ये।

भाइटीका – पूजाविधि

प्रतिज्ञा संकल्पपछि अर्घ्यस्थापना गर्ने। अर्घ्यपात्रमा जल, दुध, दही, कुशका टुक्रा, अक्षता, तिल, जौ, सर्स्युं, दूबो राखेर चन्दन, फूल, अक्षता आदिले पूजा गरेपछि–
ॐ गङ्गे च यमुने चैव गोदावरि सरस्वति।
नर्मदे सिन्धुकावेरी जलेऽस्मिन् सन्निधिं कुरु।।
यस मन्त्रद्वारा अर्घ्यजलले पूजासामग्री चोख्याउने।
यसपछि दीप–कलश–गणेशको क्रमशः विधिवत् पूजा गर्ने।

यमको पीठ षड्दल या अष्टदलमय भएको कल्पना गरेर पूजाथालीमा पनि त्यस्तै पद्माकार अष्टदल लेखी त्यसमा बिमिरो राखी पहेंलो कपडाले बेरेर यमराजको पूजा गर्नुपर्दछ। यमराजको छेउमा यमुनालाई समेत स्थापना गरी पूजा गर्नुपर्दछ। ‘ॐ मनोजूति…’ आदि मन्त्रले यमराज र यमुनाको प्राणप्रतिष्ठा गर्ने।

यसपछि (हातमा फूल, चन्दन र अक्षता लिएर) तलको मन्त्रले यमराजको ध्यान गरी पूजा गर्ने–
ॐ मेघश्यामं प्रसन्नास्यं नानालङ्कारसंयुतम्।
महिषस्थं दण्डधरं संस्तुतं पितृभिर्वृतम् ।
नानारूपधरैर्दूतैः श्वेतवस्त्रं भजेद्यमम् ।।
१. ध्यानं समर्पयामि, सपरिवारयमाय नमः।
२. आवाहनं समर्पयामि, यमाय नमः।
३. आसनं समर्पयामि, यमाय नमः। (आसनका लागि कुश र फूल चढाउने।)
४. पाद्यं समर्पयामि, यमाय नमः।
५. अर्घ्यं समर्पयामि, यमाय नमः।
६. आचमनीयं समर्पयामि, यमाय नमः।
७. स्नानीयं समर्पयामि, यमाय नमः।
८. पञ्चामृतस्नानं समर्पयामि, यमाय नमः।
९. शुध्दोदकस्नानं समर्पयामि, यमाय नमः।
१०. वस्त्रं समर्पयामि, यमाय नमः।
११. यज्ञोपतवीतं समर्पयामि, यमाय नमः।
१२. उपवस्त्रं समर्पयामि, यमाय नमः।
१३. तदन्ते आचमनीमं समर्पयामि, यमाय नमः।
१४. चन्दनं समर्पयामि, यमाय नमः।
१५. अक्षताः समर्पयामि, यमाय नमः।
१६. पुष्पं, पुष्पमालां समर्पयामि, यमाय नमः।
१७. धूपं आघ्रापयामि, यमाय नमः।
१८. दीपं दर्शयामि, यमाय नमः।
१९. नैवेद्यं निवेदयामि, यमाय नमः।
२०. फलं, ऋतुफलञ्च समर्पयामि, यमाय नमः।
२१. ताम्बूलं समर्पयामि, यमाय नमः।
२२. एतदन्ते आचमनीयं समर्पयामि, यमाय नमः।
२३. द्रव्यदक्षिणां समर्पयामि, यमाय नमः।

यसपछि यमदूतहरूको पूजा गर्ने।
(अन्य देवताको स्थानमा पैसा, सुपारी वा फूल राखी पूजा गर्नुपर्छ। आङ्गिक देवताहरूलाई पञ्चोपचार विधिले चन्दन, अक्षता, फूल, धूप र दीपले पूजा गर्न सकिन्छ। यसो गर्दा गन्धाक्षतपुष्पाणि समर्पयामि, नमस्करोमि, धूपं आघ्रापयामि, दीपं च दर्शयामि भन्ने।)

यमदूतेभ्यो नमः।
यमदूतहरूको प्रार्थना (हातमा फूल, चन्दन र अक्षता लिएर नमस्कार गर्ने)–
ॐ नमोऽस्तु यमदूतेभ्यो बलिनां ये महाबलाः।
मनोऽनिलाक्रान्तवेगाः पाशमुद्गरधारिणः।।
मम सौख्यकराः सन्तु पीडयन्तु न मां क्वचित्।
ममापचरितं सर्वं विस्मरन्तु दयालवः।।

यसपछि यमुनाको पूजा गर्ने–
१. ध्यानं समर्पयामि, यमुनायै नमः।
२. आवाहनं समर्पयामि, यमुनायै नमः।
३. आसनं समर्पयामि, यमुनायै नमः।
४. पाद्यं समर्पयामि, यमुनायै नमः।
५. अर्घ्यं समर्पयामि, यमुनायै नमः।
६. आचमनीयं समर्पयामि, यमुनायै नमः।
७. स्नानीयं समर्पयामि, यमुनायै नमः।
८. पञ्चामृतस्नानं समर्पयामि, यमुनायै नमः।
९. शुद्धोदकस्नानं समर्पयामि, यमुनायै नमः।
१०. वस्त्रं, उपवस्त्रं च समर्पयामि, यमुनायै नमः।
११. श्रीखण्डादि चन्दनं समर्पयामि, यमुनायै नमः।
१२. अक्षताः समर्पयामि, यमुनायै नमः।
१३. पुष्पं, पुष्पमालां समर्पयामि, यमुनायै नमः।
१४. नानाविधानि नैवेद्यानि, फलानि च समर्पयामि, यमुनायै नमः।
१५. तदन्ते आचमनीयं समर्पयामि, यमुनायै नमः।
१६. ऋतुफलं, ताम्बूलं च समर्पयामि, यमुनायै नमः।
१७. सुगन्धिद्रव्यं समर्पयामि, यमुनायै नमः।
१८. धूपं आघ्रापयामि, यमुनायै नमः।
१९. दीपं दर्शयामि, यमुनायै नमः।
२१. न्यूनतातिरिक्तये द्रव्यदक्षिणां समर्पयामि, यमुनायै नमः।

यमुनाप्रार्थना

ॐ यमस्वसुर्नमस्तेऽस्तु सूर्यपुत्रि नमोऽस्तु ते।
लोकमातर्नमस्तेऽस्तु नमस्ते विष्णुबल्लभे।
वरदा भव मे नित्यं यमुने लोकपूजिते।।

यसपछि यमुनाको छेउमा सेविकाहरूको पूजा गरी प्रार्थना गर्ने–
यमुनापरिचारिकेभ्यो नमः।
ॐ पूजयामि नमस्तुभ्यं यमुनापरिचारिकाम्।
क्षमस्व मम कल्याणि यमुनापरिचारिके।।

अब सूर्यादि नवग्रहको पूजा गर्ने। (प्रत्येक देवताको स्थानमा पैसा, सुपारी वा फूल राखेर त्यसमाथि पूजा गर्ने)
ॐ सूर्याय नमः।
ॐ चन्द्राय नमः।
ॐ भौमाय नमः।
ॐ बुधाय नमः।
ॐ बृहस्पतये नमः।
ॐ शुक्राय नमः।
ॐ शनैश्चराय नमः।
ॐ राहवे नमः।
ॐ केतवे नमः।

यसपछि गणेश, शिव, विष्णु र ब्रह्माको पूजा गर्ने।
ॐ गणपतये नमः।
ॐ शिवाय नमः।
ॐ विष्णवे नमः।
ॐ ब्रह्मणे नमः।

अष्टचिरञ्जीवी र चित्रगुप्तको पूजा गर्ने–
ॐ मार्कण्डेयाय नमः।
ॐ व्यासाय नमः।
ॐ द्रौणये नमः।
ॐ परशुरामाय नमः।
ॐ कृपाय नमः।
ॐ बलये नमः।
ॐ हनुमते नमः।
ॐ विभीषणाय नमः।
ॐ चित्रगुप्ताय नमः।

अब ‘ॐ अग्निर्ज्योति…’ मन्त्रले आरती गरी तलको यमप्रार्थना पढी पुष्पाञ्जलि गर्ने–
ॐ धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज ।
पहि मां किङ्करैः सार्धं सूर्यपुत्र नमोऽस्तु ते ।।
सौम्यानां सौम्यरूपाय पापिनां क्रूररूपिणे ।
अखर्व गर्वशमन कालकाल नमोऽस्तु ते ।।

अष्टचिरञ्जीवीको प्रार्थना (हातमा फूल, चन्दन र अक्षता लिने)–
ॐ मार्कण्डेय महाभाग सप्तकल्पान्तजीवन।
चिरजीवी यथासि त्वं तथा मे भ्रातरं कुरु।।

ॐ अज्ञानतिमिरे मग्नं जगद्ज्ञानैकचक्षुषा।
उद्धृतं येन मुनिना तस्मै व्यासाय ते नमः।।

ॐ सर्वोपकारकरणे शक्तं रामं शस्त्रभृतां वरम्।
पितृचित्तानुगं विप्रं पूजयामि नमोऽस्तु ते।

ॐ ब्राह्मणाय नमस्तुभ्यं द्रोणाचार्यसुताय वै।
वेदवेदाङ्गपूर्णाय अश्वत्थाम्ने नमो नमः।।

ॐ सप्तर्षिप्रवरं देवं वीरं विप्रस्वरूपिणम्।
कृपं नमामि सततं वरदो भव सर्वदा।।

ॐ बलिराज नमस्तुभ्यं नमस्ते विष्णुबल्लभ।
भविष्येन्द्र सुराराते वरदो भव सर्वदा।।

ॐ राजैकभक्तमुकुटे रत्नज्योतिः स्वरूपिणे।
भविष्यद् ब्रह्मणे तुभ्यं नमो हनुमते नमः।।

ॐ विभीषण नमस्तुभ्यं नमस्तेऽसुरसत्तम।
राजभक्त नमस्तुभ्यं पाहि मां सर्वदाऽनघ।।

ॐ मार्कण्डेयो बलिव्र्यासो हनूमांश्च विभीषणः।
कृपो द्रौणिः परशुरामो चाष्टैते चिरजीविनः।।

(पुष्पाञ्जलि चढाउने)

यसपछि लोमश ऋषिको पूजा गर्ने–
ॐ लोमशाय नमः।

लोमशप्रार्थना–
ॐ लोमशं सततं नौमि पूजयामि पुनः पुनः।
हृल्लोमदर्शनात्तस्य ब्रह्मसंख्यानुमीयते।।
बकदाल्भ्यमुनिं नौमि शान्तं संगतमानसम्।
अस्योदासीन्यलेशान्तं गतिं कालत्रयं सदा।

दिदीबहिनीले यमुनाको प्रार्थना गर्ने–
ॐ जटिलाः श्मश्रुला दक्षास्त्वग्धमन्यस्थिरूपिणः।
मम पापहराः सन्तु सोमसूर्याग्निवर्चसः।।
यथास्ति यमुना देवी यमेयं भ्रातृशालिनी।
तथा मे भ्रातरः सन्तु प्रतिजन्मसु सुव्रताः।।

यसपछि दिदीबहिनीले दाजुभाइको पूजा गरेर प्रार्थना गर्ने–
ॐ मार्कण्डेय नमस्तेऽस्तु नमस्ते महदायुषे।
चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम।।
यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात्।
तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि।।
आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता।
वाक्पटुत्वमजाड्यञ्च जायतां तव सर्वदा।।

अब दाजुभाइले दिदीबहिनीको पूजा गरी प्रार्थना गर्ने–
ॐ त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती।
त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा।।
आयुर्लक्ष्मीर्धनं धान्यं पाश्वादिकमरोगिता।
सर्वं त्वदर्चनाद्दीप्तं भवेज्जन्मनिजन्मनि।।

अविवाहिता बहिनीको पूजा गरी प्रार्थना गर्ने मन्त्र–
ॐ दयानिधिस्तुल्यवयः स्वरूपो
गुणैकपूर्णः कुशलः शतायुः।
क्षितीन्द्रनाथो निजधर्मबुद्धि–
श्चित्तानुगस्ते पतिरस्तुु कन्ये।।

यसपछि अर्घ्यदान गरी पूर्णपात्रो, ब्राह्मणलाई दक्षिणा आदि गर्ने।

यसपछि दिदीबहिनीले दाजुभाइको पूजा/, प्रार्थना गर्ने र जलपूर्ण कलशमा तेल मिलाएर तीन पटक परिक्रमा गर्ने (छेक्ने)। अनि सप्तरङ्गी टीका लगाइदिने र आफ्नै घरमा भोजन गराउने।
सकेसम्म भाइटीका दिन आफ्नै घरमा बोलाएर पूजा गरी टीका लगाई भोजन गराउनु चेलीबेटीको कर्तव्य मानिन्छ। उचित उपहार, दक्षिणा आदिले चेलीबेटीको उचित सम्मान गर्नु भाइहरूको कर्तव्य हुन्छ। दाजुभाइले चेलीबेटीबाट कपडा आदि कुनै पनि उपहार लिनु हुँदैन भनी धर्मशास्त्रमा लेखिएको छ। त्यसकारण भाइबन्धुले दिदीबहिनीलाई उपहार दिने हो, लिने होइन। तर दाजुभाइले दिदीबहिनीकहाँ भोजन गर्नुपर्ने शास्त्रवचन भने पाइन्छ–
भ्रातस्तवानुजाताहं भुङ्क्ष्व भक्तमिदं शुभम्।
प्रीतये यमराजस्य यमुनायां विशेषतः।।

यसपछि स्थापित देवताको विसर्जन गरेर दाजुभाइबाट टीका लगाएर प्रसाद ग्रहण गरी रमाइलोका साथ दिन बिताउनु पर्दछ।

भ्रातृपूजाको उपसंहार

कागतिहारदेखि भ्रातृद्वितीयासम्मका पाँचै दिन महत्त्वपूर्ण मानिन्छन्। काग, कुकुर, लक्ष्मी, गौमाता, गोबलि (गोरु), गोवद्र्धन, यमराज, धन्वन्तरि, यमुना, भाइपूजा/भाइटीका, भगिनीपूजा गरी ११ भन्दा बढी देवताहरूको पूजा हुने पर्व भएकाले यसको महत्त्व धेरै छ । म्हपूजा यसको विशेष एवं फरक पाटो हो । म्ह भनेको आत्मा पूजा भएकाले सबै मानवजातिले पूजालाई महत्त्वका साथ लिनुपर्ने हुन्छ । पहिले आफ्नो आत्मालाई चिन अनि बाह्य व्यवहार गर भन्ने सन्देश म्ह पूजाले दिएको हो । दीपावलीमा बत्तीको रमझम बाहिर भएजस्तै भित्री आत्माको रमझम म्ह पूजा भएकाले भित्रबाहिरै उज्यालो एवं निर्मल बनाएर नकारात्मक सोच हटाई सकारात्मक सोचको अभिवृद्धि तथा सबै प्राणीको कल्याण नै यमपञ्चक अर्थात् तिहारको सन्देश हो। दुईखुट्टेमा काग चारखुट्टेमा कुकुरदेखि धनधान्यकी देवी लक्ष्मीसम्मको पूजाका साथै भ्रातृ–भगिनीबीच आजीवन अक्षुण्ण एवं अटुट सम्बन्ध कायम राख्नुपर्छ भन्ने सन्देश पनि तिहारले दिएको छ । प्रकृतिका पर्वत, धान्यादि उत्पादनमा गाई, गोरु, गोवर्धन पर्वत जस्ता प्रकृतिस्तम्भहरूको पूजाबाट प्राणीजगतको कल्याणका लागि अघि बढ भनेर जगतका सबै मानिसलाई अग्रगामी सोच राखी प्रकृतिको समीप रहन र प्रकृतिलाई नबिगारी यथारूपमै संरक्षण गर्दा जगतमा सुखशान्ति एवं कल्याण प्राप्त हुने सन्देश पनि तिहारले दिएको पाइन्छ। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Related Posts

लक्ष्मी पूजा

मार्च 1, 2017
By प्रा.डा. देवमणि भट्टराई

कुकुर तिहार

मार्च 20, 2017
By प्रा.डा. देवमणि भट्टराई

धन्वन्तरि जयन्ती

अक्टोबर 21, 2022
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

काग तिहार

मार्च 2, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

धनतेरस 

डिसेम्बर 10, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

Comments

    Anu mainali

    tihar Tika ko sati

    kailash

    bhai tikaa ko saida kata baje ho

    Rinchen Dhondup

    like

    Rinchen Dhondup

    love

    shankar upadhyay

    think you and happy भाईटिका.

    bisha gautam

    hhhhh

    Bishal Gautam

    wow wow

    Bishnu sharma

    j hos Ramilo nai bhayo .tika ta theyena .deusi bhailo khalera ramayau

    Dhan ras

    happy tihar ko shubhkamnaa xa sampurna meraa Nepal ani bidesh ma rahanu hune laai tiharko shubh kamna la

    Rajnder j joshi

    i Nid saski


Load more comments

Reply to लक्ष्मीप्रसाद खतिवडा जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!