
श्रीकृष्ण जन्माष्टमी
श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाहलगत्तै जेलमा राखिएका मातापिताबाट आठौं गर्भका रूपमा भगवानको जन्म भयो। श्रीकृष्ण जगतका गुरु परमात्मा हुनुहुन्थ्यो, भगवानले पापाचार उन्मूलन गरी समाजमा युगीन शिक्षा दिनका लागि माता देवकी र पिता वसुदेवका सन्तानका रूपमा अवतार लिनुभएको थियो। त्यसबेला अन्याय, अत्याचार, घुसखोरी एवं असत्य जस्ता पापाचार बढ्नुका साथै धर्मको विनाश भएकाले यस संसारका सञ्चालक परमात्माले कृष्णरूपमा अवतार लिनुपर्दछ भन्ने सोचेर देवताहरूका साथमा सल्लाह गरी देवकीको गर्भमा आएर सामान्य मानवीय स्वभावका साथ अवतरित हुनुभएको थियो।सर्वज्ञ भगवान् श्रीकृष्णले सुरुमा अबोध मानवीय बाललीला प्रदर्शन गर्नुभयो। बाललीलामार्फत वहाँले परोक्षरूपमा समाजमा अवतरित हुनुको प्रयोजन दर्साउँदै जानुभयो। एकपछि अर्को आश्चर्यमय, सनसनीपूर्ण बाललीलाले त्यतिखेरको समाजलाई चकित बनाउदै यदाकदा आफ्ना कुराहरू राख्ने श्रीकृष्ण कोही न कोही अलौकिक व्यक्तित्व भएको पूर्ण आभास दिलाएर आफू भगवान् नै भएको पुष्टि पनि गरिदिनुहुन्थ्यो। तर यस्तो आभास भगवानका प्रियजनले मात्र प्राप्त गर्थे भने भगवानको नररूपबाट मोहित समाज अनभिज्ञ तर अचम्भित थियो।जन्मकालमै अलौकिक लीला रच्दै माता देवकी र पिता वसुदेवलाई आफ्नो दिव्यरूपको दर्शन गराउनुभएको थियो। यस्तै पूतनाको दुग्धपान गरी स्त्रीजातिलाई, हराएका गाईबाछा जस्ताको तस्तै सृष्टि गरेर छल गर्ने ब्रह्माजीलाई, गोवर्धन पर्वत धारण गरी इन्द्रको क्रोधबाट जोगाएर गोकुलवासीलाई, गोवर्धन पर्वत धारणकै प्रसंगमा झुक्न बाध्य बनाएर अभिमानी इन्द्रलाई, रासलीलाद्वारा सम्पूर्ण गोप गोपिनीहरूलाई, आफ्नो रूप रथ र यमुनामा एकैसाथ देखाएर काका अक्रूरलाई र अनेकौं प्रसंगमा मानवभन्दा भिन्न अलौकिक शक्तिवान् तथा दिव्य व्यक्तित्वको परिचयका साथ विभिन्न रूपका भक्तहरूलाई साक्षात्कार नै गराइदिनुभयो। एकै छिनमा मायाद्वारा त्यो अलौकिकपनलाई ढाकेर साधारणको जस्तो व्यवहारले त्यहाँका मानिसहरू त्यसै मायाभित्र रुमलिरहने अवस्था बनाइदिनु हुन्थ्यो।भगवानका अलौकिक गुण तथा स्वरूपलाई विभिन्न व्यक्तिहरूले अनुभूत गरेका थिए। वास्तवमा श्रीकृष्णको विलक्षण स्वरूप त्यतिखेर प्रस्फुटित हुन्छ, जतिखेर कंसद्वारा आयोजित मल्लयुद्धमा वहाँ प्रवेश गर्दै हुनुहुन्थ्यो। त्यहाँ उपस्थित राजामहाराजादेखि सामान्य मानिससम्मले भगवानको दिव्य स्वरूपको आभास प्राप्त गरेका थिए। यही प्रसंगमा उपस्थित व्यक्तिहरूको दृष्टिमा भगवानको विलक्षणताको यसरी मूल्यांकन गरिएको पाइन्छ–१. मल्लयोद्धाहरूले भगवानलाई वज्रसमान देखे।
२. सामान्य मानवले अलौकिक मानव देखे।
३. स्त्रीजातिले साक्षात् कामदेवरूपमा देखे।
४. गोपीजनले आफन्तको रूपमा देखे।
५. पापी तथा दुराचारी राजाजनले कुशल प्रशासक देखे।
६. देवकी, वसुदेव एवं नन्द–यशोदाले बालक पुत्र देखे।
७. राजा कंसले साक्षात् आफ्नो मृत्यु देखे।
८. विद्वज्जनले विराट पुरुष देखे।
९. योगीजनले परं तत्त्व (परमात्मा) देखे।
१०. वृष्णीहरूले परब्रह्म परमेश्वरका रूपमा दर्शन पाए।एउटै व्यक्तिमा एकैपटक यति प्रकारको भाव जागरण हुनुमा विलक्षणताको परिचय झल्किन्छ। अर्को कुरा साक्षात् परमात्मामा हुने षड्–ऐश्वर्य–सम्पन्नता पनि कृष्णमा देख्न सकिन्छ। ती ६ वटा ऐश्वर्य हुन्– ऐश्वर्य (धनसम्पत्ति), धर्म, कीर्ति, पारलौकिक श्रेय आर्जन, ज्ञान र वैराग्य।ऐश्वर्यस्य समग्रस्थ धर्मस्य यशसः श्रियः ।
ज्ञानवैराग्ययोश्चैव षड्णां भगः इतीरितः ।।
भगवानको गुण वा वहाँमा हुनैपर्ने विलक्षणता एवं समर्थतामा यी माथिका ६ वटा कुराको निवास हुनुपर्छ। भगवान् श्रीकृष्णमा षड्–ऐश्वर्य–सम्पन्नता थियो।जब घर तथा मठमन्दिरमा पनि भगवानलाई स्थापना गरिन्छ र पूजा–आराधना गरिन्छ भने त्यो घर वा मन्दिर सामान्य नभएर यी ६ वटै ऐश्वर्यले युक्त हुन्छ। यसर्थ भगवानको प्राणप्रतिष्ठा गर्दा यी ६ वटा कुरा त्यहाँ आऊन् भन्ने अनुष्ठानविज्ञको चाहना हुन्छ। त्यसैले विधिपूर्वक उपयुक्त समयमा भगवानको प्राणप्रतिष्ठा गरिन्छ। शुभमुहूर्त एवं स्थिर लग्नमा प्राणप्रतिष्ठा गर्नुको उद्देश्य पनि भगवान् श्रीकृष्णको षड्–ऐश्वर्य–सम्पन्नता त्यहाँ पूर्णरूपमा चिरकालसम्म रहिरहोस् र जुनसुकै समयमा पनि भक्तले पूजाआराधना गरी याचना गर्दा उसमा पनि ती गुण अधिक मात्रामा प्राप्त होऊन् भन्ने नै हो। यद्यपि व्यक्ति कृष्ण बन्न सक्दैन तर कृष्णले चाहनुभयो भने विद्या, बल, गुण, तेज, ऐश्वर्य तथा यशले युक्तचाहिँ अवश्यै बनाइदिनुहुन्छ। यही नै भक्त र भगवानमा फरक छ। यस्तै प्रकारका विलक्षणता भगवान् श्रीकृष्णका अनेकौं लीलामा देख्न सकिन्छ र वहाँका गुणानुवादको अध्ययन गर्दा चिन्तन–मनन गर्न सकिन्छ। यस्तो विलक्षणता भगवान् श्रीकृष्णबाहेक अन्यत्र पाइँदैन। यही नै श्रीकृष्णको विशेषता एवं विलक्षणपन हो।श्रीकृष्ण जन्माष्टमी - श्रीकृष्णको पूजाविधि
भगवानमा ऐश्वर्यआदि गुणको खानी भएकाले नै भगवानको सेवा गर्दा भक्तहरूको अभीष्टसिद्धि हुने हो। त्यस्ता भगवानको पूजाआराधना गर्न भक्तजन सदैव लालायित हुन्छन्। पूजा गर्ने विधिविधानलाई यसरी जान्न सकिन्छ– सबभन्दा पहिले यशोधा माताको काखमा रहेर स्तनपान गरिरहनुभएका भगवानको ध्यान गर्नुपर्दछ। यसरी ध्यान गरेपछि नाममन्त्रअनुसार भगवानको पूजा गर्नुपर्दछ–ध्यानं समर्पयामि श्रीकृष्णाय नमः।
आसनं समर्पयामि श्रीकृष्णाय नमः।
पाद्यं समर्पयामि श्रीकृष्णाय नमः।
अर्घ्यं समर्पयामि श्रीकृष्णाय नमः।
आचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पुनराचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पञ्चामृतं समर्पयामि श्रीकृष्णाय नमः।
शुद्धोदकं समर्पयामि श्रीकृष्णाय नमः।
पीताम्बरयुग्मं समर्पयामि श्रीकृष्णाय नमः।
यज्ञोपवीतं समर्पयामि श्रीकृष्णाय नमः।
चन्दनं समर्पयामि श्रीकृष्णाय नमः।
तिलयवान् समर्पयामि श्रीकृष्णाय नमः।
पुष्पाणि समर्पयामि, पुष्पमालां समर्पयामि श्रीकृष्णाय नमः।
धूपं समर्पयामि श्रीकृष्णाय नमः।
दीपं समर्पयामि श्रीकृष्णाय नमः।
नैवेद्यं समर्पयामि श्रीकृष्णाय नमः।
तुलसीपत्रं समर्पयामि श्रीकृष्णाय नमः।
फलं समर्पयामि श्रीकृष्णाय नमः।
ताम्बूलं समर्पयामि श्रीकृष्णाय नमः।
द्रव्यक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
आरार्तिक्यं समर्पयामि श्रीकृष्णाय नमः।
मन्त्रपुष्पाञ्जलिं समर्पयामि श्रीकृष्णाय नमः।
प्रदक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
साष्टाङ्ग प्रणामं समर्पयामि श्रीकृष्णाय नमः।
क्षमापनं समर्पयामि श्रीकृष्णाय नमः।
श्रीकृष्ण जन्माष्टमी का दिन यसरी भगवानलाई उपलब्ध वस्तुहरू अर्पण गरेर तथा परदेश वा घरबाहिर भए भगवान् श्रीकृष्ण ध्यानको गर्दै यी पदार्थहरू चढाएको भावना गरेर पनि कृष्ण भगवानको पूजा सम्पन्न गर्न सकिन्छ। शुद्ध शरीर एवं पहिरन तथा पवित्र मन पारेर निश्चिन्त रूपमा भगवानको ध्यान गरी वहाँले गरेका लीलाहरूको स्मरण गर्दै भक्तिभाव समर्पण गर्नु र आफूले गरेका सम्पूर्ण कार्यहरू भगवानमा समर्पण गर्नु नै भगवानको पूजा हो।षोडशांशयुक्त सर्वगुण सम्पन्न भएकाले श्रीकृष्णले गरेका सबै कार्य हामी मानवका लागि मार्गनिर्देशक छन्, शिक्षाप्रद छन्। मर्यादापुरुषोत्तम भगवान् श्रीरामको लीलाभन्दा परमात्मा परमेश्वर पूर्णब्रह्म श्रीकृष्णका लीला कथालाई हामीले जीवनमा उतार्ने प्रयत्न गर्दा हाम्रो कल्याण हुन्छ। योगीले गरेको जस्तो योग अनुकरण गर्ने हो भने भगवानले गरेका लीलारूपी कथाहरूबाट जीवन सफल बनाउने सूत्रहरूको अनुसरण गर्ने हो। खास गरेर यी शिक्षाहरू श्रीकृष्णबाट लिन सकिन्छ–१. सांसारिक सुख एवं पारलौकिक सुखका लागि धनादि आर्जनमा समेत परमात्माको कृपा चाहिन्छ, आफूले चाहेर मात्र हुँदैन। अतः भगवानको आराधना नै जीवनको लक्ष्य हुनुपर्दछ ।
२. आवश्यकताअनुसार मित्रता सबैसँग गर्नुपर्दछ। सानो ठूलो त कर्मले गर्दा हुने हो। त्यसैले असल कर्म चिनेर राम्रो कार्य गर्नुपर्दछ ।
३. परमात्माले चाहे असम्भव कार्य पनि सम्भव हुँदोरहेछ। त्यसैले हामीले सत्कर्म गर्ने र परमात्मामा समर्पण गर्ने भाव हुनुपर्दछ।
४. असम्भवै असम्भवबीच रहेर पनि सम्भाव्यताको खोजीमा निरन्तर लाग्ने व्यक्ति अवश्य सफल हुन्छ भन्ने शिक्षा श्रीकृष्णको जीवनचरित्रबाट प्राप्त गर्न सकिन्छ।
५. अत्यन्त दुःखको अवस्थामा पनि विचलित नभई आफ्नो धर्म, संस्कार, संस्कृति नछोडी निरन्तर अडिग रहने व्यक्ति नै सफल हुन्छ भन्ने शिक्षा श्रीकृष्णको जीवनीबाट प्राप्त हुन्छ। आफ्नो प्रतिज्ञामा अनेक लोभ–लालच, सांसारिक सुख र विषयवासनाले विघ्न पुर्याउने हुँदा यस्ता विषयवस्तुबाट मुक्त रही इन्द्रियहरूलाई वशमा राख्दा मात्र आफ्नो उद्देश्य प्राप्त गर्न सकिन्छ। यस्ता अनेकौं शिक्षा श्रीकृष्णको जीवनचरित्रबाट ग्रहण गर्न सकिन्छ।श्रीकृष्ण जन्माष्टमीश्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाहलगत्तै जेलमा राखिएका मातापिताबाट आठौं गर्भका रूपमा भगवानको जन्म भयो। श्रीकृष्ण जगतका गुरु परमात्मा हुनुहुन्थ्यो, भगवानले पापाचार उन्मूलन गरी समाजमा युगीन शिक्षा दिनका लागि माता देवकी र पिता वसुदेवका सन्तानका रूपमा अवतार लिनुभएको थियो। त्यसबेला अन्याय, अत्याचार, घुसखोरी […]

विश्व आदिवासी दिवस
संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन १९९४ लाई विश्व भरि रहेका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय वर्षको रूपमा घोषणा गर्यो र त्यही वर्ष, सम्मेलनले १० डिसेम्बर देखि सुरु हुने गरी विश्वका आदिवासीहरूको अन्तराष्ट्रिय दशकको पनि घोषणा गर्यो। २३ डिसेम्बर १९९४ मा, संयुक्त राष्ट्र सघंको महासभाले विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ९ को दिन अन्तराष्ट्रिय रूपमा मनाउनु पर्ने निर्णय गरेको थियो। आदिवासी जनसङ्ख्या सम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्य समूहले मिति १९८२ अर्थात् २०३९ बि.स.लाई अन्तराष्ट्रिय दशकको पहिलो बैठकको दिनलाई सङ्केत गर्ने गर्दछ। संयुक्त राष्ट्र सङ्घको पहिलो अन्तराष्ट्रिय दशकको लक्ष्य भनेको आदिवासी जनजातिहरूको मानव अधिकार, वातावरण, विकास, शिक्षा र स्वास्थ्य जस्ता समस्याहरू, विभिन्न क्षेत्रका आदिवासी जनजातिहरूले भोगिरहेका विभिन्न प्रकारका समस्याहरू समाधान गर्न का लागि अन्तराष्ट्रिय सहयोगलाई सुदृढ गर्नु थियो।पृष्ठभूमि: नेपालका आदिवासीहरू
नेपालमा गणतन्त्रको आगमन पछि आदिवासीहरूलाई आधिकारिक रूपमा आदिवासी जनजातिहरूको रूपमा वर्णन गरिएको छ। मुलुकको कुल जनसङ्ख्याको ३५.८१ प्रतिशत आदिवासीहरू देशको विभिन्न स्थानमा पूर्वदेखि पश्चिम, तथा उत्तरदेखि दक्षिणसम्म बसोबास गर्दै आइरहेका छन्। तर, आदिवासी जनजातिको लागि काम गरिरहेका संस्थाहरू भने यो प्रकाशित तथ्याङ्कको तुलनामा आदिवासी हरू अझ धेरै बढी हुन सक्ने दाबी गर्दछन्। जनसङ्ख्यामा एक महत्त्वपूर्ण हिस्सा ओगटेको तथ्यको बाबजुद पनि, इतिहास पल्टाएर हेर्दा आदिवासी जनजातिलाई भाषा, राजनीति, संस्कृति तथा अन्य विभिन्न अवसरहरूमा सीमान्तकृत गरिएको देखिन्छ।ई.श. २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२६ जात र अन्य जातीय समूहहरूले १२३ भन्दा बढी भाषाहरू बोल्दछन्। यहाँ बिर्सनु नहुने एक तथ्य के हो भने देशका ९० प्रतिशत भाषाहरू आदिवासी मानिसहरूले बोल्ने गरेका छन्। नेपालका आदिवासीहरूको हिमाल, पहाड र तराईको मैदानमा बसोबास गर्ने अर्थात् देशको विभिन्न स्थानमा बसोबास गर्ने सबैको आ-आफ्नै छुट्टै संस्कृति, तथा भाषाहरू साथ आफ्नै तौर तरिका र विश्वास प्रणाली हरू पनि छन्। देशका कूल ७५ जिल्लाहरू मध्ये २७ जिल्लामा आदिवासी जनसङ्ख्याको बाहुल्य रहेको छ। अधिकतर आदिवासीहरू देशको दुर्गम ग्रामीण क्षेत्रको पनि ग्रामीण इलाकाहरूमा बस्छन् र त्यहाँ उपलब्ध जमिनबाट आफ्नो र परिवारको दैनिक जीविका चलाउन बाध्य छन्।आदिवासीहरूको बारे बारेमा कुरा गर्दै गर्दा नेपालमा धेरै जसो सजिलै भेटिने आदिवासी हरू भनेका, थारु, झन्गड, धानुक, राजवंशी, गंगाई, संथाल, सतार, धिमाल, ताजपुरिया, मेचे, कोचे, किसान, मुण्ड, कुसबडिया, चेपाङ, आदि हुन्। तर, कुनै पनि व्यक्तिले यो नामको सूची पूर्ण गर्न सक्दैन किनकि यी आदिवासीहरू बाहेक नेपालका विभिन्न स्थानमा आदिवासी जनजातिहरूको अझै ठुलो संख्या रहेको छ।नेपाली संस्कृति, भाषा, धर्म, जैव-विविधता र सामाजिक सांस्कृतिक विविधताका हिसाबले एक धनी देश हो भन्ने कुरालाई नकार्न सकिँदैन। सन २००२ (बि.स. २०५९) मा नेशनल फाउन्डेसन (एन.एफ.डी.आई.एन) को माध्यमबाट नेपालमा आदिवासी जनजातिहरू मध्ये ५९ भन्दा बढी आदिवासी समुदायलाई औपचारिक र कानुनी मान्यताका साथ नेपाल सरकारले आदिवासी जनजातिहरूलाई कानुनी रूपमा आदिवासी जनजाति भनेर मान्यता दिने एवं चिनाउने काम गरेको छ।ई.श १९८२ (२०३९ बि.स) मा जेनेभामा आयोजना गरिएको आदिवासी जनसङ्ख्या सम्बन्धी पहिलो संयुक्त राष्ट्रसङ्घ कार्य समूहलाई मान्यता दिनका लागि विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस प्रत्येक वर्षको ९ अगस्टमा मनाइन्छ। डिसेम्बर २३, १९९४ (२०5१ बी.स) मा, संयुक्त राष्ट्र सधको साधारण सभाले अन्तराष्ट्रिय आदिवासी जनसङ्ख्याको अन्तराष्ट्रिय दशकको समयमा हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गर्यो।ई.श. २००४ (२०६१) को संयुक्त राष्ट्रसङ्घ सम्मेलनले विश्वका आदिवासी जनजातिहरूको दोस्रो अन्तराष्ट्रिय दशक (२००५-२०१४) घोषणा गर्यो, जसले दोस्रो दशकमा पनि आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गर्यो। दोस्रो दशकको लक्ष्य संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातावरण, र सामाजिक र आर्थिक विकास जस्ता क्षेत्रहरूमा आदिवासी जनजातिहरूले सामना गरिरहेका समस्याहरूको समाधानका लागि अन्तराष्ट्रिय सहयोगलाई थप सुदृढ गर्नु रहेको थियो।आदिवासी दिवस किन मनाइन्छ
अप्रिल २००० (२०५७ बि.स.) मा मानवअधिकार आयोगले आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र सङ्घ स्थायी फोरम स्थापना गर्न प्रस्ताव पारित गर्यो जुन आर्थिक र सामाजिक परिषद्ले अनुमोदन गरेको थियो। फोरमको उद्देश्य आदिवासी हरू सम्बन्धित संस्कृति, आर्थिक र सामाजिक विकास, शिक्षा, वातावरण, स्वास्थ्य र मानव अधिकार सम्बन्धी विषयहरूमा छलफल गर्नु हो।आदिवासी समुदायहरूले स्वास्थ्य सेवामा धेरै कम पहुँच अनुभव गरिरहेका छन्, यसैले तिनीहरू विभिन्न रोगको सिकार भइरहेका पनि छन्। उनीहरूलाई यस समस्याहरूबाट बचाउन आवश्यक सेवाहरू, लगायत सरसफाइ सम्बन्धित जानकारीहरू र अन्य रोग रोकथामकारी उपायहरूमा उनीहरूको सहज पहुँच पुगेको छैन, जस्तै सफा पानी, साबुन, कीटनाशक, इत्यादि। त्यस्तै स्थानीय आदिवासी जनजाति बसोबास गर्ने स्थानीय क्षेत्रमा चिकित्सा सुविधाको अभाव नेपालको सबैभन्दा डरलाग्दो अवस्था हो किनकि कुनै पनि इलाका, हरू सम्म पहुँचयोग्य सडकहरू नहुनु वा भएको खण्डमा पनि विकटता जस्ता कुराहरूमा राज्य र सम्बन्धित निकाय हरूको तुरुन्त ध्यान जानु पर्ने आवश्यकता टड्कारो देखिन्छ। यस विषयमा धेरै देखिएको र अनुभव गरिएको अर्को कारक तत्त्वको कुरा गर्दा, आदिवासी हरू अवस्थित ठांउहरुमा स्थानीय चिकित्सा सुविधाहरू अक्सर कम सुसज्जित र कम कर्मचारीहरू रहेको पाइएका छन् जुन एकदम नै आधारभूत आवश्यकता तथा अवस्थाको स्वास्थ्य सेवा को लागी समेत पर्याप्त छैन। आदिवासी मानिसहरूले स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्न नसक्ने अवस्थामा अर्को समस्या, स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा कार्यकर्ताले उनीहरूले बोल्ने भाषाको ज्ञान नभएको कारण, भाषाको सामना गर्न नसक्नु पनि एक समस्या हो।आदिवासी मानिसहरू खाद्यान्न असुरक्षाको सामना पनि त्यतिकै गर्छन् उनीहरूको परम्परागत भूभाग र क्षेत्रहरू वा यहाँ सम्म कि जलवायु परिवर्तन प्रभावहरू को परिणाम समेत खेप्दै आइरहेका छन्। आदिवासी जनजातिहरू जलवायु परिवर्तन प्रभावबाट पनि प्रभावित छन् किनकि उनीहरू आफ्नो जीविकोपार्जनका लागि नाजुक इकोसिस्टममा निर्भर छन्। उदाहरणका लागि, उनीहरूले परम्परागत स्वदेशी ज्ञान र वातावरण ढाँचा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने गर्दछन्। आदिवासी जनतासँग विभिन्न स्थानीय बिउ बिजन र कृषिको धेरै प्रजातिहरूको ज्ञान छ जसले कृषि क्षेत्रमा लामो समयसम्म अनुकूल र टिकाउपन बढाउन मद्दत गर्दछ। यसैले आदिवासी जनजातिको आधारभूत आवश्यकता तथा अन्य विभिन्न आवश्यकताको बारेमा चेतना जगाउन प्रत्येक वर्ष अगस्ट ९ ले विश्वको आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ। विशेष गरी अब यस दिनको अवसरमा हामी उनीहरूको परम्परागत ज्ञान, उनीहरूका आवाज र आदिवासीहरूको ज्ञानको अवलोकन गर्न सक्छौँ र तिनीहरू प्रयोग पनि गर्न सक्छौँ।अन्तमा
देशमा आएको विभिन्न राजनीतिक परिवर्तन पछि, अहिले नेपालमा आदिवासी जनजातिको हितका लागि काम गरिरहेका विभिन्न सङ्गठनहरू छन्। आदिवासी जनजातिको अधिकार र पहिचानको लागि लड्ने प्रमुख उद्देश्यका साथ नेपाल सरकारले मान्यता दिएका विभिन्न स्वायत्त प्रतिनिधि छाता सङ्गठनहरू पनि प्रशस्तै छन्। त्यसैले आदिवासीहरूका लागि काम गरिरहेका, आदिवासीहरूका लागि समान र लोकतान्त्रिक समाज निर्माणमा योगदान पुर्याउने लक्ष्यको साथ जुटेका सङ्घ संस्था हरूका लागि आदिवासीहरूको हक हितका लागि राज्य सङ्ग मिलेर अगाडि बढ्ने उचित अवसर हातमा आएको छ । जुन संस्थाको नाम जे होस, तर के उनीहरूले आदिवासीहरूको लागि वास्तवमै केही गरिरहेका छन् वा छैनन् यो कुरा अबका दिनहरूमा महत्त्व राख्ने छन्। नामले होइन कामले, कसले आदिवासीहरूको लागि के गर्यो भनेर समयले बताउने छ। रत्नपार्क वरपरका जुलुसहरू वा टुँडिखेलमा भाषणले अब धेरै समय आदिवासीहरूलाई झुक्क्याउन सकिने छैन। जब सम्म यी संस्थाहरू साँच्चै आदिवासीहरूको हक हितका लागि कार्य गर्दैनन् र आदिवासी जनजातिको अधिकारको लागि साँचो प्रतिबद्धता देखाएर काम गर्दैनन् तब सम्म आदिवासीहरूले पनि उनीहरूलाई साँचो रूपमा विश्वास गर्ने छैनन्। जबसम्म राज्य र आदिवासी जनजातिहरूका लागि काम गर्ने संस्थाले आफ्नो काम इमानदारीताका साथ प्रदर्शन गर्दैनन् , आदिवासी जनजातिहरूको विकास र अधिकारका लागि यस दिन मनाउनु व्यर्थ हुनेछ।संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन १९९४ लाई विश्व भरि रहेका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय वर्षको रूपमा घोषणा गर्यो र त्यही वर्ष, सम्मेलनले १० डिसेम्बर देखि सुरु हुने गरी विश्वका आदिवासीहरूको अन्तराष्ट्रिय दशकको पनि घोषणा गर्यो। २३ डिसेम्बर १९९४ मा, संयुक्त राष्ट्र सघंको महासभाले विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ९ को दिन अन्तराष्ट्रिय […]

श्रावण शुक्ल पुत्रदा एकादशी
श्रावण शुक्ल एकादशीको नाम ‘पुत्रदा एकादशी’ हो। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। यस एकादशीको महात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेजस्तै पुण्य फलको भागीदार भइन्छ। यस एकादशीको व्रतकथा यसप्रकार रहेको छ:द्वापर युगको आरम्भतिर महिष्मती भन्ने देशमा महीजित नामका राजाले राज्य गर्दथे। उनको राज्य–व्यवस्था अति राम्रो भए पनि उनी पुत्रहीन हुनाले अत्यन्त दु:खी थिए। यही कारण उनलाई राज्य सुखदायक लाग्दैन थ्यो। उनी भन्ने गर्थे – अपुत्रस्य सुखं नास्ति इह लोके परत्र च। अर्थात् जसको सन्तान छैन, त्यसका लागि यो लोक परलोक दुवै पीडादायी हुन्छन् । त्यसैले उनले पुत्र प्राप्तिका लागि अनेक उपाय गरे, तापनि पुत्र प्राप्ति हुनै सकेन।यस्तैमा आफ्नो उमेर ढल्किन लागेको देखेर राजाले आफ्ना प्रजाका प्रतिनिधिहरूको सभा बोलाएर भन्न लागे– हे प्रजाजन, मैले यस जन्ममा कुनै पापकर्म गरेको छैन। त्यसैले मेरो भण्डारमा अन्यायपूर्वक कमाएको धन छैन। मैले देवता र ब्राह्मणहरूको धन कहिल्यै खोसेको छैन। कसैको धन असुल गरेको छैन। समस्त प्रजाजनलाई पुत्रजस्तै पालें । जघन्य अपराधीलाई पनि पुत्र तथा बान्धव ठानेर दण्ड दिएँ। कहिल्यै कसैलाई घृणा गरेको छैन। सबैलाई समान व्यवहार गरें। सज्जनहरूलाई सधैं पूजा गरें। यसरी धर्मको पूर्ण पालना गरेर राज्य गर्दा पनि मेरा पुत्र छैनन् । त्यसैले म अत्यन्त दु:खी छु। यसको कारण के हुन सक्ला ? कृपापूर्वक बताइदिनुभए आभारी हुने थिएँ।आफ्ना राजाको यो वेदना हरण गर्नका निमित्त मन्त्री र केही विशिष्ट जनहरू वनमा गए । त्यहाँ विशेष तपस्वी ऋषिमुनिहरूको दर्शन गरी परामर्श लिने विचार गरे। राजाको उत्तम कामनाको पूर्तिका लागि एक श्रेष्ठ तपस्वी मुनिको खोजी गर्दा उनीहरूले एक आश्रममा अति वयोवृद्ध धर्मका ज्ञाता, परमात्मामा मन लगाएर निराहार तपस्या गरिरहेका जितेन्द्रिय, जितात्मा, जितक्रोध, धर्मविद् एवं समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे। त्यस बेला लोमश ऋषिको कल्प व्यतीत भएर एउटा केश झरेको थियो।त्यस्ता ऋषिलाई उनीहरूले प्रणाम गरे। ऋषिले पनि तपाईंहरू के कामले आउनुभएको होला ? तपाईंहरूको भलाइ गर्न पाउँदा मेरो जन्म सार्थक हुनेछ भनी प्रश्न गर्नुभयो। लोमश ऋषिका वचनले आश्वस्त प्रजाजनले राजाको वृत्तान्त सुनाए र राजाको समस्या समाधान गर्ने उपाय सुझाउन आग्रह गरे।हामी उनै राजाका प्रजा हौं। अत: उनको पीडाले हामी पनि दु:खी छौं। तर, हजुरको दर्शनले हामीलाई यो संकटबाट मुक्ति मिल्ने विश्वास जागेको छ। किनकि महापुरुषको दर्शन मात्रले अनेक कष्ट दूर हुन्छन्। अब हजुरले कृपापूर्वक राजाको पुत्र हुने उपाय बताउनुहोस्।प्रजाजनको यस्तो प्रार्थना सुनेर ऋषिले आँखा बन्द गरी केही छिनका लागि ध्यानमग्न हुनुभयो। त्यसपछि ऋषिले राजाको पूर्वजन्मको वृत्तान्त बताउनुभयो– यी राजा पूर्वजन्ममा एक निर्धन वैश्य थिए। गरिबीका कारण यिनले धेरै नराम्रो कर्म गरेका थिए। यो एक गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्थे। एक समय ज्येष्ठ शुक्ल पक्षको द्वादशीका दिन मध्याह्न कालमा दुई दिनदेखि भोकै रहेकाले उनी एक जलाशयमा पानी खान गए। त्यहाँ भर्खरै ब्याएकी प्यासी गाई पानी खाइरहेकी थिइन्। उनले ती प्यासी गाईलाई पानी खान नदिई धपाएर आफूले मात्र पानी खाएकाले राजालाई यो दु:ख आइपरेको हो। एकादशीको दिन भोकै बसेको हुनाले उनी राजा भए र प्यासी गाईलाई जल पिउन लाग्दा धपाएकाले पुत्रविहीनताको पीडा सहनुपरेको रहेछ। यो कथा सुनेपछि समस्त प्रजाजनले उक्त पापबाट मुक्ति तथा प्रायश्चित्तको उपाय सुझाउन पनि आग्रह गरे।त्यसपछि लोमश ऋषिले भन्नुभयो– श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ। तपाईंहरू सबैले पुत्रदा एकादशीको व्रत गरी रात्रिमा जागरण गर्नुहोस्, यसले राजाको पूर्वजन्मको पाप अवश्य नष्ट हुनेछ र उनलाई पुत्रप्राप्ति पनि हुनेछ। लोमश ऋषिको उपदेश सुनेर मन्त्रीसहित सबै प्रजाहरू नगरमा आए र श्रावण शुक्ल एकादशीमा ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको व्रत र जागरण गरे। यसरी विधिपूर्वक व्रत एवं पारण गरिसकेपछि द्वादशीका दिनमा सबैले उक्त पुण्यफल फल राजालाई दिए। त्यही पुण्यका प्रभावले रानीले तत्कालै गर्भ धारण गरिन् र प्रसवकालपछि उनको अत्यन्त तेजस्वी पुत्र उत्पन्न भयो।यो कथा सुनाइसकेपछि भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभयो– हे राजन, यसरी श्रावण शुक्ल एकादशीको नाम पुत्रदा पर्न गयो। सन्तान सुखको कामना हासिल गर्नका लागि यस व्रतको पालना गरौं। यसको माहात्म्य मात्र सुन्नाले पनि मनुष्य सबै पापहरूबाट मुक्त हुन्छ र यस लोकमा सन्तान सुख तथा परलोकमा स्वर्गको सुख प्राप्त गर्दछ।श्रावण शुक्ल एकादशीको नाम ‘पुत्रदा एकादशी’ हो। यस एकादशीका आराध्य भगवान् नारायण हुनुहुन्छ। पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसंग पाइन्छ। यस एकादशीको महात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेजस्तै पुण्य फलको भागीदार भइन्छ। यस एकादशीको व्रतकथा यसप्रकार रहेको छ: द्वापर युगको आरम्भतिर महिष्मती भन्ने देशमा महीजित नामका राजाले राज्य गर्दथे। […]