अपरा एकादशी

अपरा एकादशी

By Nepali Patro
मे 18, 2020

सनातन वैदिक धर्मावलम्बीहरूका लागि एकादशी व्रतको ठूलो महिमा छ। वर्षभरिमा चौबीसवटा एकादशी हुन्छन्। अधिकमास रहेको वर्ष दुईवटा थपिने हुँदा एकादशीको संख्या छब्बीस हुन्छ। ज्येष्ठ मासको कृष्ण पक्षमा पर्ने एकादशीको नाम अपरा एकादशी हो। महाभारतकालमा महाराज युधिष्ठिरको जिज्ञासा शान्त पार्ने क्रममा भगवान् श्रीकृष्णले सबै एकादशीको महत्त्व बताउनुभएको पौराणिक प्रसंग पाइन्छ। पद्मपुराणमा उल्लिखत कथाप्रसंगमा श्रीकृष्णले ठूला–ठूला यज्ञभन्दा पनि विधिपूर्वक गरिएको एकादशी व्रतको अनुष्ठानबाट भगवान् नारायणको सान्निध्य प्राप्त हुने रहस्य बताउनुभएको छ।

ज्येष्ठ महिनाको कृष्णपक्षमा अत्यन्त कल्याणकारिणी अपरा नामक एकादशी पर्दछिन्। जुनसुकै एकादशी समस्त व्रतहरूमध्ये श्रेष्ठ मानिन्छन् । एकादशीका दिन भगवानका नाम–मन्त्र उच्चारण गरी विभिन्न प्रकारका फलफूल अर्पण गरी श्रीहरिको पूजा गर्नुपर्छ। भगवानलाई धूप अर्पण गरी दीप–दान गर्ने गरिन्छ। रातको समयमा भगवानका प्रिय भक्तहरूसँग मिलेर नाम–संकीर्तन गर्दै जाग्राम बस्नुपर्दछ । एकादशीको रात्रिकालमा यसरी जाग्राम बस्नाले हजारौं वर्षसम्म तपस्या गरेकोभन्दा उत्तम फल प्राप्त हुन्छ। एकादशीको व्रत विधान पनि भगवानले बताउनुभएको छ।

ब्रह्मवैवर्त पुराणमा एकादशीको माहात्म्य एवं व्रतीले पालना गर्ने विधिविधान उल्लेख गरिएको छ। एकादशीका व्रतीहरूले मुख्यरूपमा दुई कुराको हेक्का राख्नुपर्दछ। पहिलो निषेध परिपालना र दोस्रो व्रत–उपासना। निषेध परिपालना एकादशी व्रतको आधारभूत स्वरूप हो। व्रतीले विशेष रूपमा शरीर शुद्धिका साथै आहार-व्यवहारमा शास्त्रोक्त निषेधको परिपालना गर्नुपर्छ।

अपरा एकादशी व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि । तर लामो समय केही नखाई बस्न नसक्दा फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भने खान हुँदैन। भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। यसर्थ बेलुकीको हविष्यान्नलगायत सात्विक फलाहारलाई एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ।

व्रतीले दशमी तिथिकै दिनदेखि शुद्ध र सात्विक आहार ग्रहण गर्नुपर्छ। गृहस्थीले पूर्णरूले ब्रह्मचर्यको पालना गर्नुपर्दछ। यस दिन शुद्ध र सात्विक आचरणमा रहँदै भोग–विलास र लोभ–मोहको कामना त्याग्नुपर्दछ। मनमा समेत काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता विषयको चिन्तन गर्न हुँदैन। निस्वार्थ भावले भगवानलाई मनमा स्मरण गर्दै वहाँकै सेवामा लागिरहनुपर्दछ।

एकदशीको अर्को स्वरूप आराध्य भगवानको पूजा–उपासना र भक्ति हो। एकादशीका आराध्य भगवान् श्रीहरि हुनुहुन्छ। एकादशीमा प्रातः स्नान गरेर शुद्ध वस्त्र धारण गरी निधारमा श्रीखण्ड वा गोपी चन्दन धारण गरी कमल अथवा वैजयन्ती फूल, फल, गङ्गाजल, पञ्चामृत, धूप, दीपजस्ता उपचारले लक्ष्मी–नारायणको पूजा एवं आरती गर्नुपर्छ। भगवानका दिव्य चरित्रले युक्त कथा श्रवण गर्नुपर्छ। ध्यान, जप, भजन–कीर्तन गर्दै रात्रिकालमा पनि जाग्राम बस्नुपर्दछ। द्वादशीका दिन भगवानको विशेष पूजा–आराधना गरे वैदिक कर्मकाण्डको ज्ञान भएका सात्विक ब्राह्मणलाई भोजन प्रदान गरी जनैका साथमा दक्षिणा राखेर पूर्णपात्रो दान गरी बिदाइ गरेपछि मात्र आफूले भोजन गर्नुपर्छ। यसरी विधिपूर्वक एकादशीको व्रत गरी रात्रिमा जागरण तथा भजन–कीर्तन गर्ने व्रतीलाई श्रेष्ठ यज्ञ सम्पादन गर्दा जे–जति पुण्यफल प्राप्त हुन्छ त्यसभन्दा पनि अझ विशेष र बढी फल प्राप्त हुन्छ ।

भगवान् श्रीकृष्ण भन्नुहुन्छ– हे धर्मराज युधिष्ठिर, म तपाईंलाई अत्यन्त प्रेमपूर्वक एउटा गोपनीय तत्त्व भन्दछु, सुन्नुहोस्। एकादशी व्रतबाहेक म धेरैभन्दा धेरै दक्षिणा प्राप्त हुने यज्ञबाट पनि प्रसन्न हुन्न। अतः एकादशी व्रत अत्यन्त भक्ति र श्रद्धाले युक्त भएर मात्र लिनुपर्छ। हे राजन, एकादशीका देवता साक्षात् श्रीनारायण हुनुहुन्छ। त्यसैले यस व्रतमा विधिको विशेष पालना गर्नुपर्छ । जसरी नागहरूमा शेषनाग, पक्षीहरूमा गरुड, ग्रहहरूमा चन्द्रमा, यज्ञहरूमा अश्वमेध र देवताहरूमा भगवान् विष्णु श्रेष्ठ हुनुहुन्छ, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीका व्रत श्रेष्ठ छन्। जो मनुष्य सदैव एकादशीका व्रत लिने गर्छन, ती मेरा निम्ति परंप्रिय हुन्छन्।

श्रीकृष्ण भन्नुहुन्छ– हे युधिष्ठिर, अपरा एकादशीले पुण्य प्रदान गर्नुका साथै ठूला–ठूला पापकर्मको दुष्प्रभावलाई पनि नास गर्दछिन्। ब्रह्महत्या, भ्रूणहत्या, बलात्कार, चोरी, ठगी, शास्त्रको व्यापार जस्ता पापाचार र दुष्कर्म गरी घोर नरकमा जाकिने पापीहरूको पनि यी एकादशीको व्रत गर्नाले उद्धार हुनेछ। पर्वविशेषमा ठूला–ठूला तीर्थहरूमा स्नान–दान र पितृकार्य गर्दा जुन फल प्राप्त हुन्छ, ठूला–ठूला यज्ञ गर्दा जे फल प्राप्त हुन्छ, आधा ब्याएकी दोमुखा गाई, सुन, रत्न, हात्ती, घोडा, कन्या, भूमि आदि दान गर्दा जति पुण्यफल प्राप्त हुन्छ, ती सबै एकादशीका व्रतीले प्राप्त गर्न सक्दछन्। यस लोकमा धन, कीर्ति, सुख भोग आदि प्राप्त हुन्छ र परलोकमा भगवानको सान्निध्य प्राप्त हुन्छ। अपरा एकादशी पापहरूलाई काट्ने धारिलो बन्चरोसमान हुन्। पापरूपी अन्धकारलाई नास गर्न तेजिला सूर्यसमान तेज एकादशीमा विद्यमान छन्। त्यसैले एकादशीका महिमा अपार छन्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Related Posts

पापमोचनी एकादशी व्रत

मार्च 20, 2017
By प्रा.डा. देवमणि भट्टराई

भीमा एकादशी व्रत

जनवरी 27, 2018
By प्रा.डा. देवमणि भट्टराई

सफला एकादशी

जनवरी 1, 2019
By उपप्रा. लक्ष्मीप्रसाद बराल

इन्द्रजात्रा

मार्च 2, 2017
By श्यामलाल श्रेष्ठ

Comments

    aashika Budhathoki

    sukraaandha kahile samapta hunx jankari pauna


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ