अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस
By
Nepali Patro
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस हरेक वर्ष अक्टोबर १५ मा मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २००७ मा यो दिवस घोषणा गरेको हो जसले ग्रामीण महिला, विशेष गरी आदिवासी महिलाहरूको कृषि तथा ग्रामीण विकासमा, खाद्य सुरक्षाको सुधारमा र ग्रामीण गरिबी अन्त्यमा पु¥याएको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिन्छ। यति ठूलो योगदान भए तापनि, ग्रामीण महिला विश्वकै सबैभन्दा पिछडिएका समुदायहरू मध्येमा परेका छन्, जसको मुख्य कारण लैङ्गिक असमानता र स्रोतहरूको सीमित पहुँच हो।
पृष्ठभूमि र इतिहास
यो दिवस मनाउने अवधारणा सन् १९९५ मा बेइजिङमा आयोजित चौथो विश्व महिला सम्मेलनमा उठाइएको थियो जहाँ ग्रामीण महिलाको भूमिकालाई विशेष ध्यान दिनुपर्ने कुरा जोड दिइएको थियो। त्यसको आधारमा, सन् २००७ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले संकल्प A/RES/62/136 पारित गर्दै यो दिवस आधिकारिक रूपमा स्थापना गर्यो र सन् २००८ मा पहिलोपटक यो दिवस मनाइयो।
यो दिवस अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस भन्दा एक दिनअघि पर्न आउने गरी तय गरिएको हो । ग्रामीण तथा आदिवासी महिलाले कृषि, ग्रामीण विकास, खाद्य उत्पादन र खाद्य सुरक्षामा गर्ने भूमिकालाई थप मजबुत रूपमा जोड दिन्छ।
स्थायी विकासमा ग्रामीण महिलाको भूमिका
ग्रामीण महिला विश्वको जनसंख्याको करिब एक चौथाइ हिस्सा ओगट्छन् र उनीहरू विकासशील राष्ट्रहरूमा कृषिमा कार्यरत जनशक्तिको ठूलो भाग प्रतिनिधित्व गर्छन्। उनीहरू किसान, श्रमिक, उद्यमी, हेरचाहकर्ता र वातावरणीय संरक्षणकर्ता पनि हुन्।
ग्रामीण महिलालाई सशक्त बनाउनु भनेको लैङ्गिक समानता (SDG 5), भोकमरी अन्त्य (SDG 2) र जलवायु परिवर्तन न्यूनीकरण (SDG 13) जस्ता दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने दिशामा महत्वपूर्ण कदम हो।
ग्रामीण महिलाले भोग्ने चुनौतीहरू
संयुक्त राष्ट्रसंघीय महिला संस्था (UN Women) र खाद्य तथा कृषि संगठन (FAO) का अनुसार ग्रामीण महिलाहरू सशक्तीकरणको मार्गमा धेरै प्रणालीगत बाधाहरूबाट प्रभावित छन्। कृषिमा कार्यरत जनशक्तिको लगभग आधा हिस्सा ओगटेपनि केवल १३ प्रतिशत मात्र महिलाको नाममा जमिन रहेको तथ्यले यो असमानता प्रस्ट पार्छ। उनीहरूले ग्रामीण पुरुषहरू भन्दा उच्च गरिबीदर भोग्ने गरेका छन् साथै इन्टरनेट प्रयोगमा १७ प्रतिशतले पछि परेका छन्, जसले डिजिटल पहुँचको खाडल बढाएको छ।
प्राकृतिक स्रोतहरूको व्यवस्थापनमा उनीहरूको प्रमुख भूमिका रहे पनि उनीहरू जलवायु परिवर्तन प्रति अत्यन्त संवेदनशील छन् र वातावरणीय नीतिनिर्माण प्रक्रियाबाट प्रायः बाहिर राखिन्छन्।
अब गर्नुपर्ने कार्य
ग्रामीण महिलाको सशक्तीकरणका लागि समन्वित तथा लिङ्ग–संवेदनशील नीतिहरू आवश्यक छन्। सरकारले महिलालाई जमिन, ऋण र कृषि स्रोतहरूमा समान पहुँच सुनिश्चित गर्नुपर्नेछ। साक्षरता, प्रविधि सम्बन्धी तालिम, डिजिटल पहुँच, प्रजनन तथा मातृ स्वास्थ्य सेवाको सुधार पनि अत्यावश्यक छ। स्थानीय नेतृत्व र राष्ट्रिय नीति निर्माणमा महिलाको सहभागिता प्रवर्द्धन गर्न सकेमा नीति र समुदाय दुवै बलियो हुन्छन्।
निष्कर्ष
अन्तर्राष्ट्रिय ग्रामीण महिलाको दिवस केवल उत्सव मात्र होइन, यो ग्रामीण महिलाको पहिचान, लगानी र सशक्तीकरणका लागि विश्वव्यापी आह्वान हो। खाद्य उत्पादनदेखि जैविक विविधताको संरक्षणसम्म ग्रामीण महिला परिवर्तनकी प्रतिनिधि हुन्। यदि हामी न्याययुक्त र दिगो भविष्य निर्माण गर्न चाहन्छौं भने, हरेक नीति, हरेक पहल र हरेक सपना ग्रामीण महिलाको अधिकार, आवाज र आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।