गुरिया पर्व
गुरही पर्व। नेपाल भर विभिन्न स्थानमा, त्यसमा पनि तराइका थारु समुदायको बसोबास रहेको स्थानहरूमा श्रावण शुक्ल पक्षको पञ्चमी तिथि वा नाग पञ्चमीको दिन गुरही पर्व मनाउने गरिन्छ। आजको दिन, नेपालको लोक जातीको रूपमा समेत चिनिने थारु जातिले गुरिया वा गुरही पर्व हर्षोल्लास पूर्वक मनाउने र आ-आफ्नो कुल देवतालाई गाईको दूध चढाउने दिनको रूपमा समेत चिनिएको छ। बाल पर्वको रूपमा समेत चिनिने गुरही-गुरिया पर्वले दाजु-भाइ र दिदी-बहिनीहरू बिच रहेको अटुट माया, र प्रेम सम्बन्धलाई स्मरण गराउनुको साथै त्यसलाई अझ प्रगाढ बनाउन पनि मद्दत गर्ने गर्छ।
गुरही, पातलो पखेटा भएको पुतली जस्तै देखिने एक किसिमको उड्ने किराको नाम हो, जसलाई नेपालीमा गाइने किरा भनिन्छ। कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र देउखुरी जस्ता स्थानहरूमा भने यो किरालाई गुरही भन्ने गरेको पाइन्छ। दाङ तिर यस किरालाई झिङ्गौरा पनि भन्दछन्। थारु समुदायमा भने गाइने किरालाई अशुभ एवं दुस्मनको प्रतीकको रूपमा हेर्ने गरिन्छ।
आजको दिन केटीहरू वा महिलाहरूले चिरकुत (रङ्गीचङ्गी कपडा) प्रयोग गरी त्यसबाट पुतला बनाउँछन्। यसरी बनाएको गुरिया सँगै घुघरी (तेलमा तारेको गेडागुडी- केराउ, चना, मटर इत्यादि) लिएर गाउँ बाहिरको चोक अथवा बिच चौराहा जम्मा हुने र त्यस स्थानमा गाउँभरिका केटीहरूले आफूले बनाएको गुरियाको पूजा गरे पछि त्यसलाई फाल्ने गर्छन्। र केटा-पुरुषहरूले सोँठा, कोर्रा, लट्ठीले उक्त गुरिया पिट्दै दुवै पक्ष रमाउने गर्छन्। गुरियालाई यसरी फाल्ने, अनि पिट्दै गर्दा भने आफूमा रहेको दुर्गुण वा अवगुणलाई फाल्ने, रोगब्याधी र दुःख कष्ट आदिले नसताओस् भन्ने कामना गर्ने गरिन्छ।
यस पर्वको दिन विभिन्न परिकार जस्तै खुरमा, बरया (पुरी जस्तै परिकार), रोटी, घुघरी आदिका साथ माछा मासु समेत खाने चलन रहेको पाइन्छ। गुरहीको अघिल्लो दिन थारु गाउँहरूमा “जिता” (मासुका लागि सुँगुर, खसी, कुखुरा) इत्यादि मार्ने चलन रहेको छ। विवाह भई गएका चेलीलाई आफ्नो माइतीघरमा ल्याएर यो चाड मनाउने चलन रहेको पाइन्छ। स–साना बाल बालिकाहरूप्रति माया दर्साउने पर्वको रूपमा देखिने यो पर्वमा सबै केटा-केटीहरू आ-आफ्नो परम्परागत पोसाकमा सजिएका हुन्छन्।
थारु बसोबास रहेको कतिपय जिल्ला, स्थानमा यस पर्वलाई गुरही पर्व त कतिपय स्थानमा यसलाई गुरिया पर्व भन्ने गरेको पाइन्छ। पर्वको नाम गुरही वा गुरिया जे भए पनि खेतीपाती सकिएपछि बालीमा कीरा नलागोस् र गाउँमा रोग व्याधि नफैलियोस् भनेर यस पर्व मनाइने परम्परा रहेको थारु अगुवाहरूको भनाइ रहेको पाइन्छ। गाइने कीरा, गुरहीले लामखुट्टे र धानमा लाग्ने कीरा खान्छ । यसरी गाइने कीराले अन्य कीरा खाएर बालीनाली जोगाउने कार्य गर्ने भएकाले पनि यो पर्व मनाइने गरिएको हो। त्यसै गरी गाइने कीराले लामखुट्टे जस्ता किरा खाएर मानिसलाई रोगबाट जोगाउने समेत भएकाले गुरही मनाइएको हुन सक्ने भनेर थारु संस्कृति’boutका जानकारहरू भन्ने गर्छन्। थारूजाति प्रकृति पूजक हुने र प्रकृति माथि विश्वास गर्ने भएकाले गुरहीको पूजा गरिएको हो भनी थारु संस्कृतिका जानकारहरू भन्ने गर्छन्।
थारु जातीको बास स्थान रहेको तराईको पूर्व देखि पश्चिम सम्मको विभिन्न स्थानमा गुरही-गुरिया पर्व मनाउने भए पनि यो पर्व मनाउने तौर तरीका भने सबै स्थानहरूमा केही फरक रहेको देखिन्छ। यसरी पर्व मनाउने तरीका फरक हुनुको कारण भने यसलाई अगुवाइ गर्ने व्यक्तिहरूमा पनि भर पर्ने भएकोले यस्तो भएको हुन सक्छ। कतिपय ठाउँमा गुरहीको पुतलालाई साना बालबालिकाहरूले दिउँसो झुला झुलाउने चलन रहेको छ। पुतला वा गुरहीलाई केटीहरूले चोकमा फाल्ने र केटाहरूले उक्त गुरिया पिट्ने तरीकामा भने सबै स्थानमा समानता रहेको पाइन्छ।
दिउँसो केटी-महिलाहरुले कपडाका रङ्गीचङ्गी टुक्राहरूको गुरही बनाउँदै गर्दा केटाहरूले बाँस र जुट आदि को प्रयोग गरी गुरिया पिट्ने कोर्रा, सोँठा बनाउने गर्दछन्। कतिपय ठाउँमा पिटिएका यी गुरही-गुरिया सडकमै छोड्ने गरिन्छ भने कतिपय ठाउँमा बाजागाजाको साथ त्यसलाई नजिकैको नदीमा लगेर सेलाउने गरिन्छ। गुरही-गुरिया पिटिसकेपछि पिट्न प्रयोग भएको कोर्रा, सोँठा वा लट्ठीलाई ल्याएर गोठ वा घरको बार्दलीमा सिउरेर राख्ने गरिन्छ। यसो गरेको खण्डमा दुःख-कष्ट र रोग व्याधि लाग्दैन भूत, प्रेत, पिचासको प्रभाव पर्दैन र घरपरिवारमा शान्ति हुन्छ भन्ने जनविश्वास रहेको छ।
गुरही पर्वको एक रोचक प्रसङ्ग:
एक सहरमा आमा–बाबु नभएका एक दाजु आफ्नो बहिनी सँगै बस्दथे। दाजु भगवान् श्री शिव शकरको अनन्य भक्त थिए र हरेक दिन मन्दिर जाने गर्थे। मन्दिरमा एउटा नाग देखिन्थ्यो जो भक्त बालकलाई देखेर बाहिर निस्कन्थ्यो। र उनले त्यस नागलाई दिनदिनै दूध खुवाउने गर्थे। त्यस नाग उक्त दाजुको खुट्टामा मायाले बेरिने गर्थ्यो। यसरी हरेक दिन पूजा गर्न जाने भएकाले एक दिन पूजा गर्न निस्कने बेलामा उनको बहिनीले आफू पनि मन्दिर जाने भनेर जिद्दी गरिन्। बहिनीको कुरा मानेर, दाजु बहिनी, दुवै जना चना, केराउ, मटर आदिको घुघरी को साथ दूध र मकैको भुजा इत्यादि लिएर मन्दिर पुगेछन्।
दुवै मन्दिर पुगे पछि उक्त नाग फेरी देखा पर्यो र दाजुको खुट्टामा सधैँ झैँ मायाले बेरियो। तर बहिनीले यसरी नाग आफ्नो दाजुको खुट्टामा बेरिएको देखेर यो लाग्यो कि उनको दाजुलाई नागले डस्ने भयो। डरको कारण उनीले प्रसाद लेराएको ढकियाले पिटेर उक्त नागलाई मारिदिइन् । त्यस घटना पछि दाइले उक्त नागको ’boutमा आफ्नो बहिनीलाई सबै कुरा भने। यसरी दाजुको कुरा सुने पछि बहिनी निकै रोइन् र आफ्नो कु-कर्मको पश्चात्ताप गरिन्। त्यहाँ भएका मानिसहरूले नाग, देवताको रूप हुने कुरा पनि भने।
तर बहिनीले भने आफ्नो दाजुको प्राण बचाउन मात्र यसो गरेकी हुनाले हरेक वर्ष त्यस बहिनीको रूपमा उनको पुतला वा गुरियालाई दण्ड दिने प्रचलन सुरु भयो। त्यसै समय देखि दाजु, भाइ, दिदी बहिनीको अनमोल प्रेमलाई अमर बनाउन थारु समुदायमा नाग पञ्चमीको दिन महिला – केटीहरूले गुरिया फाल्ने र केटाहरूले त्यसलाई पिट्ने चलन चलेको हो भन्ने गरिन्छ।
यस गुरिया पर्वको ’boutमा थारु समुदायमा चलन चल्तीमा केही प्रसङ्ग र किम्बदन्तीहरू रहेका छन्। जुन प्राय: जसो केटी वा महिलाहरू सँग जोडिएका देखिन्छन्। यस पर्वमा गुरही किराको प्रतीकको रूपमा होस् वा महिला-केटीको प्रतीकको रूपमा, रङ्गिन कपडा नै प्रयोग गरेर कपडाको पुतला बनाउँछन्। सबै मिलेर पर्वको साँझपख चोक वा चौराहामा फालेर त्यसलाई पिट्ने गर्छन्। कुनै ठाउँमा यसलाई गुरही पर्व भन्ने गरियो त कुनै स्थानमा गुरिया पर्वको नामले चिनियो।
थारु समुदायले प्रत्यक्ष रूपमा आजको दिन नागको पूजा नगरे पनि नाग पञ्चमीकै दिनमा यो पर्व मनाइने हुँदा भने गुरिया पर्वको सम्बन्ध नाग देवता सँग रहेको हुन् सक्ने तथ्यलाई नकार्न भने सकिँदैन। र, यो पर्वले भाइ–बहिनीबिचको आपसी प्रेम, माया र सद्भावको पर्वको रूपमा पनि हेर्न अनि बुझ्न सकिन्छ। प्रसङ्ग अनि किम्बदन्ती जे सुकै भए पनि यस पर्वमा भाइ–बहिनी, महिला-पुरुष दुवैको संलग्नतामा आफूमा रहेको अवगुण अनि दुर्गुणहरूलाई लाई फाल्ने, रोग–व्याधि र दुःख–कष्टलाई फाली त्यसलाई पिट्ने र सुख-शान्तिको कामना गर्ने गरिन्छ।
देशको राजधानी काठमाडौँ बसोबास गर्ने थारु समुदायले आजको दिन भृकुटीमण्डपमा विभिन्न रमाइला कार्यक्रमहरू गर्दै गुरही पर्व मनाउँदै छन्। हामी सबैले पनि आ-आफ्नो दुर्गुण, रोग व्याधि आदि फाल्दै, दुख:कष्ट निर्मूल गर्दै शान्ति र सदभावना सहित यो पर्व मनाऔँ। देश भित्र रहेका हरेक समुदायहरूको चाडपर्व को सम्मान गरौँ। गुरही-गुरिया पर्वको थारु समुदायको साथ साथै सबै नेपाली लाई नेपाली पात्रोको तर्फबाट धेरै धेरै शुभ-कामना।
अगस्ट 2, 2023 1 वर्ष
well
अगस्ट 9, 2023 1 वर्ष
guram purima
अगस्ट 10, 2023 1 वर्ष
dipo
अगस्ट 15, 2023 1 वर्ष
maya