• 231
  • खण्डग्रास चन्द्रग्रहण – आषाढ ३१, २०७६
    नेपाली पात्रो > सूचना > खण्डग्रास चन्द्रग्रहण – आषाढ ३१, २०७६

    खण्डग्रास चन्द्रग्रहण – आषाढ ३१, २०७६

    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    चन्द्रग्रहण

    चन्द्रग्रहण परिचय

    आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्।

    व्यवहारमा मंगल, बुध आदि पञ्च ताराग्रहबाहेक सूर्य र चन्द्रमामा देखिने ग्रहणलाई मात्र ‘ग्रहण’ शब्दले बुझाउने गरिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

    ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। छेक्ने, छेकिने र छाया पर्ने बिम्बको परिस्थितिअनुसार नै सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ। चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायामा चन्द्रमा प्रवेश गर्छ।

    २०७६ साल असार ३१ गते मंगलवार आषाढ शुक्ल पूर्णिमा तिथि, उत्तराषाढा नक्षत्रमा खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाली समयअनुसार काठमाडौंमा रात्रि १:४६ बजे ग्रहणको स्पर्श हुनेछ। रात्रि ३:१५ बजे ग्रहणको मध्य हुनेछ भने ४:४५ बजे मोक्ष हुनेछ। यस ग्रहणको पूरा अवधि २ घण्टा ५९ मिनेट रहनेछ।

    एसिया, अफ्रिका, युरोप, हिन्द महासागर र अन्टार्कटिकाबाट देख्न सकिने चन्द्रग्रहण अस्ट्रेलियामा ग्रस्तास्त र दक्षिण अमेरिकामा ग्रस्तोदय देखिनेछ। उत्तर अमेरिका, एसियाको उत्तर–पूर्वी क्षेत्र र प्रशान्त महासागरीय क्षेत्रमा भने चन्द्रग्रहण देख्न सकिने छैन।

    चन्द्रग्रहण निषेध र कर्तव्य

    यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा चन्द्रमाबाट आउने विषमय तथा विकृत किरणहरूको वर्षाले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्दछ। यसर्थ पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।

    चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर (९ घण्टा) र सूर्यग्रहण सुरु हुनुभन्दा चार प्रहर (१२ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्दछ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन। नेपाल पञ्चाङ्ग निर्णायक समितिले ग्रहण लाग्ने दिन अपराह्न १६:४६ बजेदेखि अशक्त, बाल, वृद्ध र आतुरलाई बाहेक भोजनादि नगर्न सुझाएको छ। बाल, वृद्धलगायत अशक्तहरूले पनि कम्तीमा एक प्रहर (३ घण्टा) अघिदेखि भोजन गर्न नहुने शास्त्रनिर्देश रहेको छ।

    ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति, पिसाब गर्दा दरिद्रता, दिसा गरे अर्को जन्ममा किराफट्याङ्ग्राको जुनी र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ। ग्रहणका बेला बच्चा जन्मिएमा पनि अरिष्टयोग लाग्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

    ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ। ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ। ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ।

    स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।

    चन्द्रग्रहण विभिन्न राशिहरूलाई ग्रहणको प्रभाव

    ग्रहणले कसैका लागि भाग्य र कसैलाई दुर्भाग्य निम्त्याउन सक्छ। आफ्नो नामराशिदेखि गन्दा ३, ६, १० र ११ औं राशिमा ग्रहण लागेको छ भने उक्त ग्रहण शुभफलदायी हुन्छ। यसबाहेक अन्य राशिमा ग्रहण लागेको भए प्रतिकूल हुन्छ। शास्त्रीय मान्यताअनुसार शुभफल मिल्ने राशिवालाहरूले मात्र ग्रहण हेर्नु शुभ हुन्छ। अन्य राशिहरूले ग्रहण हेरेमा बताइएका प्रतिकूल फलमा बढोत्तरी हुन्छ। यसपालि चन्द्रग्रहण उत्तराषाढा नक्षत्रको प्रथम पाउमा लाग्नेछ र द्वितीय पाउमा समाप्त हुनेछ। प्रथम पाउ धनु राशिमा द्वितीय पाउ मकर राशिमा पर्ने हुँदा धनु राशिमा ग्रहण स्पर्श भई मकर राशिमा मोक्ष हुनेछ। यसर्थ उत्तराषाढा जन्मनक्षत्र तथा धनु वा मकर राशिवाला व्यक्तिहरूका लागि यो ग्रहणको फल कष्टदायी हुने मान्यता छ।

    ग्रहणफल

    मेष : मानहानि
    वृष : कष्ट
    मिथुन : पति वा पत्नीलाई पीडा
    कर्कट : सुख
    सिंह : चिन्ता
    कन्या : पीडा
    तुला : श्रीप्राप्ति
    वृश्चिक : हानि
    धनु : घात
    मकर : व्यय
    कुम्भ : लाभ
    मीन : सुख

    ग्रहण आकाशमा समय–समयमा देखापर्ने अनियमित परिघटना हो। सामान्यतया यसले ६ महिनासम्मलाई शुभाशुभ फलको विधान गर्दछ। ग्रहणकाललाई अशुभ समयका रूपमा व्याख्या गरिए पनि माथि बताइएका आध्यात्मिक कार्य तथा साधना गर्नेहरूका लागि यो समय अत्यन्त लाभदायक हुन सक्छ। ‘प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ’ भनिएकाले ज्योतिषमा गणितको परीक्षण गरी त्रुटि सच्याउने अवसर पनि ग्रहणले प्रदान गर्दछ।

    ग्रहणमा धार्मिक कृत्य के गर्ने ?

    – प्रा.डा. देवमणि भट्टराई

    क. काम्यकर्म, व्रत आदिको अनुष्ठान नगर्ने

    यस पूर्णिमामा चन्द्रमाको व्रत समाप्ति, अन्य व्रतहरूको उद्यापन, चौरासी पूजा, लाखबत्ती बाल्ने जस्ता काम्य कृत्यहरू गर्न नमिल्ने हुँदा अरू पूर्णिमामा गर्नुपर्छ। ग्रहण लाग्नुपूर्व ३ दिन, ग्रहण लागेको दिन र ग्रहणपछिका ३ दिन गरी जम्मा ७ दिन ग्रहणको विशेष सूतक लाग्ने हुँदा यी दिनमा पर्ने गरी मांगलिक कार्यहरू– विवाह, व्रतबन्ध, चूडाकर्म, गृहप्रवेश, वास्तुपूजा, अनित्य रुद्रीपूजा आदि गर्नुहुँदैन।
    उत्तराषाढा नक्षत्रमा ६ महिनासम्म मांगलिक कार्य गर्न हुँदैन।

    ख. ग्रहणका दिन तिथि–श्राद्ध परे के गर्ने ?

    सूर्यग्रहण या चन्द्रग्रहणका दिन वार्षिक तिथि वा श्राद्ध परेमा श्राद्ध रोक्न नहुने शास्त्रवचन रहेकाले वार्षिक तथा मासिक श्राद्ध उसै दिन गर्नुपर्दछ। शास्त्रवचनहरू—
    १. ग्रहणदिने पित्रादेर्वार्षिकश्राद्धप्राप्तौ सति सम्भवेSन्नेन कार्यम्। ब्राह्मणादि–अलाभेन–असम्भवे तु आमेन हेम्ना वा कार्यम्। (धर्मसिन्धु, प्रथमपरिच्छेद, ग्रहण–प्रकरण)
    २. ग्रहणदिने दर्श–मासिक–प्रतिवार्षिकादिश्राद्धप्राप्तौ तद्दिने एवान्नेन–आमेन वा हेम्ना वा कुर्यान्नोत्तरदिने। (ऐजन तृतीयपरिच्छेद, अथ ग्रहणदिने वार्षिकादिप्राप्तौ निर्णयः)

    यी वचनको तात्पर्य के हो भने ग्रहणका दिन वार्षिक श्राद्ध, मासिक श्राद्ध, दर्शश्राद्ध आदि परेमा त्यसै दिन पक्वान्नद्वारा पिण्डदानादि कर्म गरी यथावत् रूपमा श्राद्ध गर्नुपर्छ। पाकेको अन्न सम्भव नभए काँचो अन्नद्वारा आमश्राद्ध वा सुन प्रयोग गरी हेमश्राद्ध गर्नुपर्दछ। भोलिपल्ट वा अर्को दिनलाई श्राद्ध सार्नुहुँदैन। त्यस दिन ब्राह्मणभोजनप्रधान श्राद्ध गर्ने ऋग्वेदी र सामवेदीहरूले ब्राह्मणभोजन गराउन असम्भव हुने हुँदा सीधास्वरूप काँचो अन्न, सुवर्ण वा द्रव्य दान गरी श्राद्ध सम्पन्न गर्नुपर्छ।

    यजुर्वेदीहरूले गर्ने श्राद्ध पिण्डदानप्रधान कृत्य भएकाले ग्रहणका कारण ब्राह्मणले भोजन गर्दिनँ भन्दा पनि दोष लाग्दैन। ब्राह्मणभोजनका रूपमा सीधादान भने गर्नुपर्छ, श्राद्ध सार्नुचाहिँ हुँदैन।

    ग. ग्रहणकालमा नित्य र नैमित्तिक कर्म के गर्ने ?

    ग्रहण लाग्ने दिन सन्ध्याकालमा दैनिक गरिँदै आएको नित्यकर्म यथावत् गर्ने। प्रत्येक पूर्णिमामा लिइँदै आएको पूर्णिमा व्रत यथावत् लिने र चन्द्रमालाई नियमित समयमै पूजा गरेर अर्घ्य दिने।

    ग्रहण लाग्ने दिन जन्मोत्सव पूजा परेमा नैमित्तिक कर्म भएकाले सार्न हुँदैन। आशौच परेको समयबाहेक तिथि, श्राद्ध, जन्मोत्सव आदि नैमित्तिक कर्म सार्न नमिल्ने हुँदा जन्मोत्सव प्रातःकालमा र एकोद्दिष्ट श्राद्ध मध्याह्नकालमा गर्नुपर्छ।

    Related Posts

    खग्रास चन्द्रग्रहण, ग्रहणमा व्रत – पर्व र तिथि – श्राद्ध’bout शास्त्रीय निर्णय

    फ्रेवुअरी 12, 2020
    By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल

    बिनाग्रास लाग्दैन ग्रहण सूतक – २०७६ पौष २५

    जनवरी 10, 2020
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    खण्डग्रास सूर्यग्रहण – पौष १०, २०७६

    डिसेम्बर 25, 2019
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    खग्रास चन्द्रग्रहण – साउन ११, २०७५

    जुलाई 27, 2018
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      krîShña GhalaÑ

      wow so nice

      Amit Kumar Jaishi

      9054580566

      rajan

      nice notficaion


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!