हरिपरिवर्तिनी एकादशी
By
Nepali Patro
भाद्र शुक्ल एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ । यसलाई वामन एकादशी वा जयन्ती एकादशी पनि भनिन्छ। यो एकादशी विशेष मानिन्छ किनकि यस दिन भगवान् विष्णु निद्राबाट कोल्टे फेरेर अर्कोतर्फ फर्कनुहुन्छ भन्ने मान्यता छ। यसै कारण यो दिनलाई हरिपरिवर्तिनी (हरि+परिवर्तन) भनिन्छ ।
पद्म पुराण अनुसार, हृषिकेश नामले विष्णुको पूजा गरेर यो व्रत गरेमा वाजपेय यज्ञ र हजार अश्वमेध यज्ञको बराबर फल प्राप्त हुने उल्लेख छ। आजको दिन विशेषगरी तामा, चाँदी, चामल र दही दान गर्नु शुभ मानिन्छ।
व्रत विधि
हरिपरिवर्तिनी एकादशीको व्रत विधि अरू एकादशीसरह नै हो। अघिल्लो दिन बेलुकै सात्विक भोजन गरी ब्रह्ममुहूर्तमा उठी स्नान गर्ने, सूर्यलाई अर्घ्य दिने, विष्णु भगवानको हृषिकेश नाममा पूजा गर्ने र फलाहार या निराहार व्रत बस्ने गरिन्छ। रातभर जाग्राम बसेपछि अर्को दिन द्वादशीका दिन ब्रह्ममुहूर्तमा स्नान गरी ब्राह्मणलाई टीका लगाएर भोजन गराई दक्षिणा दिएर बिदा गरेपछि व्रत समाप्त गरिन्छ।
व्रत कथा
वामन पुराण अनुसार, प्रह्लादका नाति राजा बलि विष्णुका परम भक्त थिए। राजा बलिले आफ्नो पराक्रमले इन्द्रलाई पराजित गरी स्वर्गलोकमाथि राज गरे। देवताहरूको निवेदनमा विष्णु भगवानले दैत्यराज बलिको घमण्ड तोड्न वामन अवतार लिए।
हरिपरिवर्तिनी एकादशीको रात कश्यप ऋषिकी पत्नी अदितिका गर्भबाट वामन रूपमा विष्णुको जन्म भयो। व्रतबन्धपछि सानो शरीर, हँसिलो अनुहार र छाता ओढेका वामन बलिको यज्ञस्थलमा पुगे, जहाँ बलि अश्वमेध यज्ञ गरी स्वर्गको स्थायी राजा बन्ने तयारीमा थिए।
राजा बलिले ब्राह्मण वामनलाई देखेर आदरपूर्वक स्वागत गरे र उनको इच्छा सोधे। वामनले तीन पाउ जमिन मागे। बलिले वचन दिए, तर उनका गुरु शुक्राचार्यले यो कसैको चाल हो भन्दै रोक्न खोजे। वामनले उनी जल अर्पण गर्ने करुवामा बसेको देखेर आफ्नो दण्डले आँखो फोरेर जल झार्न लगाए।
जब बलिले संकल्प गरे, वामनले आफ्नो त्रिविक्रम रूप धारण गर्दै पहिलो पाइला पृथ्वी, दोस्रो स्वर्गमा राखे। तेस्रो पाइला राख्ने ठाउँ नपाएपछि बलिले आफ्नो शिर समर्पण गरे, र वामनले त्यहीँ पाइला राखी उनलाई पाताल लोकमा पठाए। बलिको भक्तिभाव देखेर विष्णुले पातालमै पाले बनेर बस्ने वचन दिए।
उता लक्ष्मीले विष्णु पाताल गएको थाहा पाएपछि कार्तिक शुक्ल एकादशीमा नचिनिने रूपमा एक कन्या भइ बलिलाई दाजु बनाइन्। रक्षा बन्धन गरेपछि उपहारमा वामन (विष्णु) मागिन्। बलिले आफ्नो प्रिय पाले विष्णु बहिनीलाई दिए र लक्ष्मीले आफ्नो असली रूप देखाएर विष्णुलाई लिएर स्वर्ग फर्किन्।
बलिले आग्रह गरी लक्ष्मी र विष्णुलाई श्रावण शुक्ल पूर्णिमादेखि कार्तिक कृष्ण त्रयोदशीसम्म आफ्नो पाहुना बनाए। उनीहरूलाई बिदा गरेपछि बलिले दीपावलीको उत्सव मनाए। वामन अवतार भाद्र शुक्ल एकादशीको रात भएकोले, भोलिपल्ट द्वादशीमा वामन द्वादशीको रूपमा विष्णुको व्रत बस्ने र पूजा गर्ने परम्परा चलिआएको छ।
स्रोत: वैदिक संस्कार र हाम्रा चाडपर्वहरू – गोविन्दचन्द्र सुबेदी