विश्व संस्कृत दिवस

विश्व संस्कृत दिवस

By Nepali Patro
जुलाई 15, 2025

नेपालसहित विश्वभर संस्कृत भाषा र सभ्यताको सम्मानमा श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन विश्व संस्कृत दिवस मनाइन्छ। संस्कृत भाषामा निहित बौद्धिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई उजागर गर्ने उद्देश्यले मनाइने यो दिवस नेपाली संस्कृत प्रेमीहरूका लागि एक उत्सवसरह बनेको छ।

संस्कृत दिवसको उद्देश्य र ऐतिहासिक पृष्ठभूमि

जनै पूर्णिमाको दिन वैदिक परम्परामा वेद पाठ आरम्भ गर्ने शुभ दिन मानिन्छ। यही तिथिमा संस्कृत दिवस मनाउने परम्परा स्थापित गरिएको हो।

भारत सरकारले सन् १९६९ मा पहिलो पटक विश्व संस्कृत दिवस मनाउन थालेको हो। नेपालमा भने २०७४ सालदेखि “जरो किलो प्रतिष्ठान नेपाल” को पहलमा यो दिवस विधिवत् रूपमा मनाउन थालिएको हो।

यस दिवसको मूल उद्देश्य संस्कृत भाषामा समाहित ज्ञान, दर्शन र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउनु र संस्कृत शिक्षा तथा अनुसन्धानलाई प्रवर्द्धन गर्नु हो।

संस्कृत सम्मान, शोध वृत्ति र प्रेरणादायी पहलकदमी

संस्कृत तथा नेपाली भाषाको संरक्षण र सनातन संस्कृतिको संवर्द्धनमा पुर्‍याएको योगदानका लागि २०८१ सालको विशेष संस्कृत सम्मान प्रा. मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिएको थियो। त्यस्तै, आरुणि संस्कृत शोध वृत्ति (रिसर्च फेलोसिप) उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) र रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो।

यसै समारोहमार्फत संस्कृतलाई राष्ट्रसङ्घको मान्यतामा पुर्‍याउने अभियान पनि अगाडि बढाइएको थियो, जसलाई अन्तर्राष्ट्रिय स्तरमा संस्कृतलाई स्थापित गर्ने सशक्त पहलका रूपमा हेरिएको छ।

विविध कार्यक्रमहरू

२०८१ सालमा यस दिवसको अवसर पारेर सातै प्रदेशका गुरुकुल तथा संस्कृत संस्थाहरूको नेतृत्वमा वाचन, मन्त्रोच्चारण, गोष्ठी, बहस, लेख वाचन र सांस्कृतिक प्रस्तुति जस्ता विविध कार्यक्रमहरू सम्पन्न भएका थिए।

अमेरिकाबाट सहभागी विद्वान डा. लक्ष्मीनारायण ढकालले “भाषा प्रयोगले जीवन्त हुन्छ” भन्ने सन्देश दिँदै संस्कृतको व्यवहारिक उपयोगमा जोड दिनुभएको थियो।

संस्कृतको संरक्षण र प्रवर्द्धन हाम्रो जिम्मेवारी

“देववाणी” भनेर चिनिने संस्कृत भाषा दार्शनिक, धार्मिक, साहित्यिक र वैज्ञानिक अभिव्यक्तिको मूल आधार रहँदै आएको छ। वेदका मन्त्रहरूदेखि शास्त्रीय कविता, खगोल शास्त्र, आयुर्वेद र तर्क शास्त्रसम्बन्धी ग्रन्थहरू संस्कृतमा रचिएका छन्, जसले सम्पूर्ण दक्षिण एसियाको बौद्धिक र सांस्कृतिक इतिहासलाई गहिरो रूपमा प्रभावित पारेका छन्।

नासा जस्ता संस्थाले समेत संस्कृतलाई कम्प्युटरसँग सम्बन्धित कार्यका लागि सबैभन्दा उपयुक्त भाषा मानेको छ। त्यसैले संस्कृतको संरक्षण गर्नु केवल धार्मिक वा सांस्कृतिक कर्तव्य मात्र होइन, यो त वैश्विक बौद्धिक सम्पदाको रक्षा गर्ने कार्य हो।

Related Posts

प्रजातन्त्र दिवस

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ