वराह जयन्ती
By
Nepali Patro
श्रावण शुक्ल तृतीयाका दिन मनाइने वराह जयन्तीमा भगवान् विष्णुले वराह (बँदेल) अवतार लिएर पथ्वीको उद्धार गर्नुभएको विश्वास गरिन्छ। यो अवतार सत्ययुगमा दैत्यराज हिरण्याक्षको अत्याचारबाट पथ्वीलाई मुक्त गराउन लिइएको थियो।
हिरण्याक्षको उत्पत्ति र आतंक
ऋग्वेदका अनुसार हिरण्याक्ष कश्यप ऋषिका पुत्र थिए। उनले परमपिता ब्रह्माजीको कठोर तपस्या गरेपछि एक अद्वितीय वरदान प्राप्त गरे – उनी कुनै अस्त्र वा शस्त्रद्वारा मारिन नसक्ने भए। यो वरदानले उसलाई अहंकारी र अत्याचारी बनायो। उनले सबै लोकमा विजय प्राप्त गरे र अन्ततः पथ्वीलाई रसातलमा गाडेर सम्पूर्ण जीवहरूको नाश गर्न खोजे।
हिरण्याक्षको यस्तो अत्याचार देखेर सबै प्राणी र देवता ब्रह्माजीको शरणमा पुगे। तर, ब्रह्माजीले आफूले दिएको वरदानका कारण केही गर्न नसकिने बताए र सबैलाई भगवान् विष्णुको आराधना गर्न सुझाए। भगवान् विष्णुले भक्तहरूको पुकार सुनी वराह अवतार लिएर प्रकट हुनुभयो।
वराह अवतार: स्वरूप र प्रतीक
बराह पुराणका अनुसार, भगवान् विष्णु ब्रह्माजीका नाकबाट वराहको रूपमा प्रकट हुनुभयो। यो अवतारको टाउको वराह (बँदेल) को जस्तो र शरीर मानिसको जस्तो थियो। यो अवतार शक्ति र उद्धारको प्रतीक मात्र नभई यसमा विभिन्न वेद र ब्रह्माण्डीय तत्वहरूको पनि प्रतिनिधित्व गरिएको छ:
- खुट्टा – चार वेदको प्रतिनिधि
- दाँत – बलीको प्रतीक
- आँखा – दिन र रातको प्रतीक
- शिर – ब्रह्माको प्रतिनिधित्व
- मुख – यज्ञकुण्डको उत्पत्ति
- दाह्रा – होम गर्ने शुरो
- रौं – कुशको जन्म
पथ्वीको उद्धार र हिरण्याक्षको वध
वराह अवतारले रसातलमा गई आफ्नो दाह्रा प्रयोग गरी पथ्वीलाई सुरक्षित स्थानमा पुनःस्थापित गर्नुभयो। त्यसपछि हिरण्याक्ष र वराहबीच ५ हजार वर्षसम्म घमासान युद्ध भयो। अन्ततः भगवान् वराहले हिरण्याक्षलाई पराजित गरी वध गर्नुभयो।
धार्मिक महत्व र पूजापाठ
वराह जयन्तीका दिन भक्तजनहरू भगवान् वराहको पूजा–अर्चना गरी व्रत बस्छन्। विशेषगरी पृथ्वीको रक्षा र धार्मिक चेतनाको प्रतीकका रूपमा यो दिनलाई सम्मान गरिन्छ। यस दिन गरिने पूजा, व्रत र धर्मकथाले भगवान् विष्णुको करुणा र शक्तिको स्मरण गराउँछ।
निष्कर्षमा, वराह जयन्ती एक पौराणिक घटना मात्र नभई, सत्य, धर्म र भक्ति भावको प्रतीक हो। पृथ्वी र मानवताको रक्षा गर्न भगवान् विष्णुले लिएको यो रूप आज पनि विश्वासीहरूका लागि आस्थाको स्रोत बनेको छ।
स्रोत: वैदिक संस्कार र हाम्रा चाडपर्वहरु – गोबिन्दचन्द्र सुबेदी