राष्ट्रिय धान दिवस-असार १५
नेपाली पात्रो > राष्ट्रिय दिवस > राष्ट्रिय धान दिवस-असार १५

राष्ट्रिय धान दिवस-असार १५

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
जुन 28, 2021

असार १५, अर्थात् “राष्ट्रिय धान दिवस”, ‘कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। आजको दिनलाई “रोपाई महोत्सव” वा “रोपाई दिवस” को रूपमा पनि चिनिन्छ। हाम्रो देश नेपाल, कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने पनि गरिन्छ। किम्बदन्ती अनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोदनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए। पछिल्लो समयमा भने कृषकहरूको श्रमको सम्मान गर्ने उद्देश्य अन्तर्गत कृषि मन्त्रालयले यो दिनलाई ‘राष्ट्रिय धान दिवस” का रूपमा मनाउन थालेको हो । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन सुरू गरिएको हो।

नेपालमा, आजको दिन धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। सरकारले सरकारी तवरबाट यो दिवसलाई आफ्नो कार्यक्रम गर्दै मनाउँछ भने ग्रामीण भेकका किसानहरूले आफ्नै तौर तरिकाले मनाउने गर्दछन् । असार १५ को दिन एक फेर मात्रै भए पनि हिलो टेक्नु र खेल्नु  भन्ने मान्यता रही आएको छ। यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै, छुपु-छुपु गर्दै धान रोप्ने चलन रही आएको छ। 

नेपाली समाजमा परापूर्व काल देखि नै असार १५ मा दही-चिउरा र साउन १५ मा खीर खाने चलन रहेको छ। नेपालमा, असारको १५ गते वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले पनि आजैको दिन देखि दिन छोटा र रात लामा हुँदै जाने हुँदा हिउँदको सुरुवात भयो भन्ने गर्छ। 

आजको दिन, हलगोरुले हिल्याएको खेतको हिलोमा छुपु-छुपु धान रोपेर आपसमा रमाउने र बाउसेहरू एक आपसमा हिलो छ्यापाछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन। असारे गीतका भाकाहरू मार्फत एक आपसमा माया-पिरती साट्न समेत आजको दिन प्रयोग भएको देखिन्छ। दही चिउरा सँग अचार र आप् जस्ता फलफूल सहित कृषक हरूले आजको दिन खेतमै खाजा खादै र गीत गाउँदै मनाउने चलन रही आएको छ। 

  … असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,

पातली नानीलाई फरिया किन्दा, छ-बिस ऋण लाग्यो…… 

यसरी रोपाइ गर्दा गर्दै थाकेको अवस्थामा पोषण अनि शीतलता प्रदान गर्ने पूर्वीय परिकार वा खाद्य सामग्री हो दही र चिउरा। यसरी खेतमै रमाइलो गर्दै र खाजा खादै माथिका हरफ जस्तै विभिन्न असारे गीतहरू पनि गाउने गरिन्छ। 

राष्ट्रिय धान दिवस, नेपालको कृषि क्षेत्रसँग सम्बन्धित भएकोले आजको दिन विभिन्न सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् भने कृषि मन्त्रालयले विभिन्न कृषि कार्यक्रमहरूमा धान रोपाई गर्दै राष्ट्रिय धान दिवस मनाउने गर्दछ। मुट्ठी रोपेर मुरी फलाउने दिनका रूपमा चिनिने आजको दिनलाई अधिकांश स्थानमा रोपाई गरी मनाउने गरिन्छ। विज्ञहरूका अनुसार वर्षामा हिलाम्य भएको शरीरलाई ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको हो।

कृषि प्रधान हाम्रो देशमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धान उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। यस दिन राजधानीको ललितपुर स्थित खुमलटारको कृषि कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरा जस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकहरूलाई समेत सामेल गराई रोपाई गर्ने चलन पनि केही वर्ष अघि देखि चलेको देख्न सकिन्छ।  

धान नेपालको प्रमुख खाद्यान्न बाली हो भने कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत धानले नै ओगटेको छ। कृषिमा धान ले २० प्रतिशत ओगटेको छ र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धान बाली रहेको पछिल्ला तथ्याङ्कहरू ले देखाउँछ। कृषि विभागको तथ्याङ्क अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। 

तराईको समतल भूमिमा करिब ७० प्रतिशत, पहाडी भेगमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा वर्षा याममा धान खेती गर्ने गरेको पाइन्छ। नेपालको धान उत्पादन ३.१७ मेट्रिक टन प्रति हेक्टर रहेको र यो परिमाणलाई बढाएर लगभग ४ मेट्रिक टन प्रति हेक्टर बनाएको खण्डमा देशभित्रको मागलाई पुरा गर्न सकिने विज्ञहरूको भनाइ रहेको छ। 

केही दशक यता भने नेपालमा धान चामल जस्ता खाद्य बस्तु हरूको निर्यात अघिल्लो समय भन्दा अधिक मात्रामा हुने गरेको र उत्पादनमा ह्रास आएको देखिँदै आइएको छ।  त्यसै गरी सरकारले आजको दिनलाई विशेष दिवसका रूपमा मनाउँदै आएता पनि आधुनिक प्रविधिको पहुँच आम किसानमा नभएका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा भने वृद्धि हुन नसकेको कृषि विज्ञहरूको भनाई रहेको छ।

नेपालमा, धान उत्पादनमा कमी विभिन्न कारण बाट भएको देखिन्छ। देशको युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमिन जथाभाबी टुक्रिनु एवं घडेरीमा परिणत हुनु, सीमित व्यक्तिहरूको हातमा धेरै जमिनको स्वामित्व रहनु, उचित सिँचाइको व्यवस्था नहुनु र आकासे पानीको भर पर्नु पर्ने अवस्था रहनु, उन्नत जातको बीउ-वीजन, मल आदी को पर्याप्त मात्रामा उपलब्ध नहुनुका साथ- साथै सरकार द्वारा कृषिमा अनुदानको व्यवस्था नहुँदा समग्र कृषि व्यवस्था त्यसमा पनि धानको उत्पादनमा असर परेको विज्ञहरूको भनाइ रहेको छ। यी उल्लेखित कारणहरू बाहेक धान उत्पादनमा कमी ल्याउने कारणहरू भित्र विज्ञहरूको  परामर्श लिने र त्यसलाई व्यवहारमा उतार्न नसक्नु पनि एक महत्त्वपूर्ण कारणको रूपमा हेर्न सकिन्छ। 

देशको परनिर्भरता घटाउने उद्देश्य बोकेर खाद्यान्न बाली र औद्योगिक बालीको महत्त्व बुझ्दै कृषि विभाग अन्तर्गत छुट्टा-छुट्टै बाली विकास केन्द्रहरूको स्थापना भएको छ। तर, जब सम्म यी केन्द्रहरूको प्रमुख उद्देश्य देशव्यापी रूपमा कृषकहरूका समस्या समाधान को लागि उचित कार्यक्रमहरू सञ्चालन गर्ने हुदैनन र सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरेर धान उत्पादन बढाउने तर्फ ध्यान केन्द्रित हुदैनन त्यति बेलासम्म यस दिवसको महत्त्व समेत प्रस्ट नहुने देखिन्छ। राष्ट्रिय स्तरमा नीति एवं कार्यक्रमहरूको विकास गर्दै धान उत्पादन बढाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ। 

राष्ट्रिय धान दिवसको नेपाली पात्रोको तर्फ बाट सबैलाई भरपुर शुभ – कामना। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

 

Comments

    kamrudin khan

    jjshss


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!