बिस्का: जात्रा

बिस्का: जात्रा

By Nepali Patro
अप्रील 9, 2025

नेपालको सांस्कृतिक र ऐतिहासिक धरोहरको धनी नगर भक्तपुरले बर्सेनि चैतको अन्त्य र वैशाखको सुरुवातसँगै भव्य ढंगमा मनाउने पर्व हो — बिस्का: जात्रा। परम्परा, धर्म, पौराणिक कथा र उत्सवको संगम रहेको यो जात्रा नेपाली नयाँ वर्षको स्वागतसँग जोडिएको एक विशेष अवसर हो, जसले भक्तपुरको मौलिक पहिचान झल्काउँछ।

वैशाख कृष्ण प्रतिपदाका दिन भक्तपुरमा भैरवनाथ र भद्रकालीको रथयात्रा परम्परा छ, जुन भक्तपुरको तौमढी टोलको पाँचतले मन्दिर अगाडि सुरु हुन्छ। यसमा भद्रकाली र भैरवनाथलाई रथमा राखेर विभिन्न स्थानहरूमा पुर्याइन्छ। जात्राको प्रारम्भ चैत्र मसान्तको दिन लिङ्गो (यःसि) गाडेर हुन्छ, जसमा नागनागिनीको चित्र कोरेको हरियो ध्वजा राखिन्छ। यस लिङ्गोलाई वैशाख १ गते ढालेर र वैशाख ५ गते भैरव र भद्रकालीको मन्दिरमा पूजा गरी जात्रा समापन गरिन्छ।

यस समयमा भक्तपुरका विभिन्न स्थानमा अष्ट मातृका गण, भैरव र गणेशका रथयात्रा आयोजना गरिन्छ। “बिस्केट जात्रा” वा “विसिकाय जात्रा” भन्ने यो परम्परा लिच्छवि राजा मानदेवको पालामा मरेको विषालु सर्पको सम्झनामा सुरु भएको भनिन्छ। बिस्का: जात्रा हरेक वर्ष चैत्र २८ गते सुरु भई वैशाख ५ गते सम्पन्न हुन्छ।भक्तपुरसँगै काभ्रेको साँगा, श्रीखण्डपुर, बनेपा र चौकोटमा पनि यो जात्रा मनाइन्छ। 

अचाजु दम्पती र बिस्का: जात्राको प्रारम्भ 

लिच्छवि राजा शिवदेवको पालामा किराँतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गरेपछि राजा डराएर वज्रयोगिनीको मद्दत माग्न गए। बज्रयोगिनीले राज्यका शेखर अचाजु सँग सल्लाह गर्नु भनी राजालाई भन्नु भएछ। बज्रयोगिनी देवीले भने बमोजिम राजा शेखर अचाजु कहाँ गएर सल्लाह मागे र अचाजुले उनि बाघ भएर अरू एक हजार बाघ सेना तयार गरी रातमा किरांतहरू माथी आक्रमण गर्ने योजना बनाए। अचाजुले बाघको रूप धारण गरेर रातभरि किराँती सेनामा हमला गरे र धेरैलाई मारे, बाँकीलाई ज्यान जोगाउन भाग्न बाध्य बनाए। पछि उनले अक्षता मन्त्र गरेर आफ्नो रूप परिवर्तन गरी मान्छेमा फर्किए।

शेखर अचाजुको पत्नी नररूपाले पनि अजिङ्गरको रूप देख्न चाहिन्। अचाजुले अक्षता मन्त्रेर आफूलाई अजिङ्गरमा परिणत गरे। नररूपा डरले भागेपछि अचाजु उनलाई पछ्याउँदै गए। उनको पटुका फुस्क्यो र फुस्केको पटुका कम्मरमा घुसार्न हातमा भएको अक्षता मुखमा हालिन् र उनि पनि अजिङ्गर भईन। पछि राजाको दरबारमा गएर मद्दत माग्न जाँदा, राजा शिवदेवले उनीहरूको अवस्थामा कुनै चासो नदिई, उनीहरूलाई नहेर्ने सन्देश पठाए। निराश भएर अचाजु दम्पती भद्रकाली पीठ नजिकै आत्महत्या गरे।

राजा शिवदेवले शेखर अचाजु र उनकी पत्नीको दुखद मृत्युका कारण राज्यमा आएको अनिकाल र संकटको समाधानका लागि पूजा गर्न आदेश दिए। यसपछि, राजा अचाजु दम्पतीको शवलाई राजकीय सम्मानका साथ त्रिवेणी घाटमा दाह संस्कार गरे र उनका चित्रलाई लामो लिङ्गोमा झुण्ड्याएर टाँगे। यस घटनाको सम्झनामा हरेक वर्ष चैत्र मसान्तको दिन अजिङ्गरको चित्र कोरेर बिस्केट जात्रा मनाइन्छ।

वैशाख १ गतेको यस जात्रामा बागमतीको मुहान बाघद्वारमा स्नान गरी, त्यसपछि सपन तीर्थ (टोखा) मा स्नान गरी र सपन गणेशको दर्शन गरेर भक्तपुरको बिस्का: जात्रा हेरेमा, त्यो दिनको धार्मीक यात्रा पूरा भएर सबै पाप नष्ट हुने र पुण्य प्राप्त हुने विश्वास गरिएको छ।

 

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ