बरुथिनी एकादशी व्रत

बरुथिनी एकादशी व्रत

By Nepali Patro
अप्रील 23, 2025

वैशाख कृष्ण एकादशीलाई बरुथिनी एकादशी भनिन्छ। धार्मिक ग्रन्थ अनुसार, यो एकादशीमा विधिपूर्वक व्रत बसेर भगवान् विष्णुको पूजा गरेमा सौभाग्य प्राप्त हुन्छ र मरेपछि स्वर्ग प्राप्त हुने विश्वास छ। यो व्रतले दश हजार वर्षसम्म तपस्या गरेजस्तो पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ।

व्रत गर्ने विधि

बरुथिनी एकादशीको व्रत विधिपूर्वक गर्नु पर्छ। अघिल्लो दिन (दशमीका दिन) बेलुकी सात्त्विक भोजन गरेर, एकादशीका दिन बिहान सबेरै उठ्नुपर्छ। त्यसपछि नदी, इनार, वा जलाशयमा स्नान गरी सूर्यलाई जल चढाउनुपर्छ। स्नानपछि घर फर्केर सफा भएर भगवान् विष्णुको पूजा गर्नुपर्छ। दिनभरि एकादशी माहात्म्य सुन्ने वा पढ्ने र यदि सक्ने हो भने निराहार (बिना भोजन) व्रत बस्नुपर्छ। नसक्नेले फलाहार पनि गर्न सक्दछन्। रातभर जाग्राम बस्नुपर्छ र भगवान् विष्णुको भजन कीर्तन गर्नुपर्छ। व्रतको अन्त्य द्वादशीका दिन बिहान स्नान गरी ब्राह्मणलाई टीका लगाएर भोजन गराएर गर्नु पर्छ।

व्रत बस्दा छोड्नुपर्ने वस्तुहरू

मासु, मासको दाल, चना, कोदो, मह, नुन, तेल, दुई छाक भोजन, रिस राग, स्त्री, जुवा, पान, अन्न।

व्रत कथा

द्वापर युगमा धर्मराज युधिष्ठिरले श्री कृष्णसँग बरुथिनी एकादशीको महत्त्व सोध्दा, श्री कृष्णले पौराणिक कालका राजा मान्धाताको कथा सुनाए। एक दिन उनी नर्मदा नदी किनारमा तपस्या गरिरहेका थिए, अचानक एक भालु आएर उनलाई आक्रमण गर्‍यो र दुवै खुट्टा खायो। पीडित राजाले भगवान् विष्णुलाई पुकार गर्दै तात्त्विक रूपमा धैर्य राख्दै रहे।

भगवान् विष्णुले आकाशवाणी गरेर उनलाई मथुरा जान र बरुथिनी एकादशीको दिन वराह अवतारको पूजा गरेर व्रत बस्न भने। राजा मान्धाताले भगवान् विष्णुको आज्ञा अनुसार व्रत बसे, र यस व्रतका प्रभावले उनका खुट्टा र शरीर पहिले जस्तो स्वस्थ र सुन्दर भए। व्रतपछि उनले निष्कण्टक राज्य चलाए र मरेपछि स्वर्ग गएका थिए।

यस कथा अनुसार, जो व्यक्ति धैर्यका साथ बरुथिनी एकादशीको व्रत बस्छ, उसका सबै पाप नाश भएर मरेपछि स्वर्ग प्राप्त गर्न सक्छ।

 

स्रोत: वैदिक संस्कार र हाम्रा चाडपर्वहरु  – गोबिन्दचन्द्र सुबेदी 

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ