जिब्रो छेड्ने जात्रा
By
Nepali Patro
बिस्केट जात्राको सन्दर्भमा भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा नेपालकै एक अनौठो, साहसी र ऐतिहासिक जात्रा हो, जुन प्रत्येक वर्ष चैत्र मसान्तका दिनबाट सुरु भई वैशाख २ गते सम्म मनाइन्छ।
जात्राको सुरुवात र विधि
यस जात्राको सुरुवात महालक्ष्मी मन्दिरको अगाडि लिङ्गो ठड्याएर गरिन्छ। त्यसपछि विशेष विधिअनुसार व्रत बसेका व्यक्तिले वैशाख २ गते महालक्ष्मीको प्राङ्गणमा एक फिट लामो फलामको सियोले आफ्नै जिब्रो छेड्छन् र मन्दिरको परिक्रमा गर्दछन्।
यो सियो एक महिना अघिदेखि तोरीको तेलमा डुबाएर राखिन्छ। सहभागीहरूले २ दिन निराहार व्रत बसेर केवल पानी पिउँछन् र तेस्रो दिन जिब्रो छेड्ने कार्य सम्पन्न गर्दछन्। छेडिएको जिब्रोमा चिराग टाँगेर नगर परिक्रमा गरिन्छ। जात्रा सम्पन्न भएपछि सियो झिकेर महालक्ष्मी मन्दिरको माटो लगाउने चलन छ, जसले घाउ निको पार्ने विश्वास गरिन्छ।
जिब्रो छेड्ने जात्रासँग जोडिएका दुई प्रमुख किंवदन्तीहरू
१. ख्याक, तान्त्रिक र निलबाराहीको कथा
बोडे नजिकैको धर्मपुरमा रहेको निल बाराही मन्दिर वरिपरि उनका गणहरू: भूत, प्रेत, पिशाच र ख्याकहरू बस्ने गर्दथे। । निल बाराहीको पूजा गरेर खुसी पार्न सकेमा यिनीहरूलेकहिले किसानलाई सघाउँथे त कहिले दुख दिँदा मानिसहरू हैरान हुने गर्थे। निलबाराहीलाई जहिले पनि खुसी पार्न नसक्दा यिनीहरूले दुःख दिन थालेपछि मानिसहरू धर्मपुरबाट बोडेतर्फ बसाइँ सर्न थाले।
तर बोडेमा पनि समस्या नहटेकाले देउपाटनका तान्त्रिक भिमदत्त कर्माचार्यले तान्त्रिक शक्तिले गाउँ घेराबन्दी गरे। एक दिन, मानिसको रूप लिएको ख्याक त्यो जालमा फसेपछि गाउँलेहरूले रिसमा उसलाई पिटे र उसको जिब्रो सियोले छेडिदिए। ख्याकले भविष्यमा कसैलाई दुःख नदिन बाचा गरेपछि, ७ वर्षसम्म जात्राको दिन उसैको जिब्रो छेड्ने परम्परा बस्यो।
तर ख्याकलाई दिएको सजायँले निल बाराही रिसाइन र उनका अन्य गणहरूले फेरि गाउँमा आतंक मच्चाए। गाउँलेहरूले फेरि तान्त्रिक भिमदत्तलाई बोलाउने निर्णय गरे। भोलिपल्ट आउने तयारीमा रहेका भिमदत्तले राती निल बाराहीको सपना देखे, जसमा उनले आफ्नो गणलाई दुःख दिएको भन्दै माफी माग्नुपर्ने बताइन्। साथै, उनले जनहितका लागि अबदेखि मानिसहरूले नै जिब्रो छेडे पनि हुन्छ भन्ने स्वीकृति दिइन्। त्यसपछि गाउँलेहरूले क्षमा पूजा गरे र ७ वर्षसम्म ख्याककै जिब्रो छेडेर जात्रा गराइयो। सात वर्षपछि ख्याकलाई मुक्त गरी स्थानीय व्यक्तिले जिब्रो छेड्ने परम्परा सुरु भयो।
२. भैरवको रूप र जात्राको आरम्भ
बोडेमा पहिले मानव बस्ती थिएन। धर्मपुरमा भूत, प्रेत, पिशाच र ख्याकको त्रासले मानिसहरू बोडेतिर बसाई सर्न चाहन्थे, तर डरले कोही सर्न सरेनन्। रातमा तिनको आतंक बढेकाले गाउँका युवाहरू गस्ति गर्थे।
चैत्र मसान्तको रात, गाउँलेहरूले बोडे डाँडाबाट हातमा मसाल बोकेर तल झरिरहेको ठूलो आकृति देखे, जुन महालक्ष्मी मन्दिरमा पुगेर गायब भयो। भोलिपल्ट पनि त्यस्तै देखिएपछि मान्छेहरू पछ्याउँदै कालिका मन्दिरसम्म गए तर फेरि त्यो आकृति त्यहाँबाट गायब भयो। ठूलो टाउको, कालो जिब्रो र अजङ्गको शरीर भएका ती आकृति भैरव भएको निष्कर्ष गाउँलेहरुले निकाले।
त्यही दिनदेखि महालक्ष्मी मन्दिरलाई भैरव सिद्ध स्थल मानी, जात्रामा भैरवको प्रतीकस्वरूप व्यक्ति जिब्रो निकालेर परिक्रमा गर्ने परम्परा बस्यो। लामो समय जिब्रो बाहिर निकाल्न नसकिने भएकाले त्यसलाई सियोले छेड्ने चलन सुरु भयो। त्यसपछि गाउँमा भूतप्रेतको त्रास कम भयो र खेतीपाती राम्रो हुन थालेपछि यो परम्परालाई निरन्तरता दिइयो।