No Image
नेपाली पात्रो > चाडपर्व > खण्डग्रास चन्द्रग्रहण – वि.सं. २०७४ साल साउन २३ गते, सोमबार

खण्डग्रास चन्द्रग्रहण – वि.सं. २०७४ साल साउन २३ गते, सोमबार

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अगस्ट 7, 2017

आज राति नेपाललगायत एसिया, अफ्रिका, युरोप र अस्ट्रेलियाका मुलुकहरूबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ। नेपालमा राति ११:०७ बजेदेखि १:०४ बजेसम्म ग्रहण देख्न सकिनेछ। नेपाली पञ्चाङ्गअनुसार जम्मा १ घण्टा ५७ मिनेट देखिने ग्रहणको मध्यकाल राति १२:०६ बजे रहनेछ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। त्यसैले सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ।

चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायामा चन्द्रमा प्रवेश गर्छ। चन्द्रमाको पूरै भाग छायाभित्र पसेको अवस्थामा खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र पसेको अवस्थामा खण्डग्रास चन्द्रग्रहण देखिन्छ। चन्द्रग्रहण लाग्ने परिस्थिति वर्षमा दुईपटक मात्र सिर्जना हुन्छ।
चन्द्रग्रहणलाई खुला आँखाले पनि हेर्न सकिन्छ। तर सूर्यग्रहण खुला आँखाले हेर्न अत्यन्त हानिकारक हुन्छ।

तर ज्योतिषशास्त्रबमोजिम चन्द्रग्रहण पनि सबैले हेर्न मिल्दैन। आज मकर राशिअन्तर्गत श्रवण नक्षत्रमा चन्द्रग्रहण लाग्ने हुँदा मकर राशि र अझ श्रवण नक्षत्र हुनेहरूलाई ग्रहणको प्रतिकूल प्रभाव देखापर्न सक्छ। आजको ग्रहणफल विचार गर्दा मेष राशिलाई कर्मसुख, वृषलाई मानहानि, मिथुनलाई कष्ट, कर्कटलाई दाम्पत्यमा समस्या, सिंहलाई सुख, कन्यालाई चिन्ता, तुलालाई व्यथा, वृश्चिकलाई श्रीप्राप्ति, धनुलाई क्षति, मकरलाई घात, कुम्भलाई व्यय र मीनलाई लाभ हुने देखिन्छ।

चन्द्रग्रहण लाग्नुभन्दा ९ घण्टा अघिदेखि ग्रहणको सूतक लाग्ने हुनाले त्यस्तो समयमा खानपिन गर्न हुँदैन। यसर्थ दिनको २:०७ बजेदेखि अशक्त बालक, वृद्ध र आतुरबाहेक अन्यलाई भोजन गर्न हानिकारक हुन्छ। ग्रहण लाग्ने समयमा शयन, खेलकुद, हास्यविनोद, शृंगार, मूर्तिस्पर्श आदि गर्न हुँदैन। शास्त्रवचनअनुसार ग्रहणको समयमा सुत्नाले आयु क्षीण हुन्छ, पिसाब गरे दरिद्र हुन्छ, दिसा गरे अर्को जन्ममा किराफट्यांग्रा हुन्छ, विषयवासनामा लिप्त रहे सुँगुरको जुनी प्राप्त हुन्छ, शृंगार गरे कुष्ठरोग लाग्छ, भोजन गरे दुर्गति हुन्छ, अरूलाई बन्धनमा राखे सर्पको जुनी प्राप्त हुन्छ, हिंसा गरे नरकको भागीदार बन्नुपर्छ।

ग्रहणको समयमा स्नान, तर्पण, श्राद्ध, जप, होम, भजन, कीर्तन, अनुष्ठान, दान, मन्त्रसिद्धि, तन्त्रविद्या साधनाजस्ता धार्मिक तथा आध्यात्मिक कार्यहरू गर्नु अत्यन्त लाभदायक मानिन्छ।

Related Posts

बिनाग्रास लाग्दैन ग्रहण सूतक – २०७६ पौष २५

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
जनवरी 10, 2020

खण्डग्रास चन्द्रग्रहण – आषाढ ३१, २०७६

By उपप्रा. लक्ष्मीप्रसाद बराल in सूचना .
जुलाई 15, 2019

Comments

    Gokul subedi

    Dherai dherai dhanyabad
    Thanks for nepali patro

    jaiki ray

    becarefull


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!