कामदा एकादशी
By
Nepali Patro
कामदा एकादशी चैत महिनाको शुक्ल पक्षको एकादशी हो। यो एकादशीलाई इच्छाहरू पूरा गर्ने एकादशी मानिन्छ। यस दिन विधिपूर्वक व्रत गरेमा मनोकामना पूरा हुने र पापहरू नाश भएर पुण्य प्राप्त हुने विश्वास गरिन्छ। यस’bout भविष्योत्तर पुराणमा पनि उल्लेख गरिएको छ।
व्रत गर्ने विधि
कामदा एकादशीको व्रत सुरु गर्नुअघि अघिल्लो दिन अर्थात् दशमीका दिन बेलुकासम्म सात्त्विक भोजन गरेर सुत्नुपर्छ। एकादशीको दिन बिहान सबेरै उठेर स्नान गरी सूर्यलाई जल अर्पण गरेपछि चोखो लुगा लगाएर दिनको सुरुवात गर्नुपर्छ। त्यसपछि घरको पूजा कोठामा भगवान् विष्णुको मूर्ति वा तस्बिर राखेर षोडशोपचार विधिले विधिपूर्वक पूजा गर्नुपर्छ। पूजा सामग्रीमा तुलसी पत्र, पञ्चामृत, अमला, कुश, शालिग्रामको जल र अपुङ्गो अनिवार्य रूपमा अर्पण गरिन्छ।
व्रतको दिनभर निराहार बस्ने परम्परा छ तर नसक्नेले फलाहार गर्न सक्छन्। साँझमा भगवान् विष्णुको आरती गरेपछि रातभर जाग्राम बसेर भजन–कीर्तन गर्नाले व्रतको पुण्य अझ बढी हुन्छ। व्रतको समापन द्वादशीका दिन बिहान स्नान गरी पुनः सूर्यलाई जल अर्पण गरेर गरिन्छ। त्यसपछि ब्राह्मणलाई टीका लगाएर भोजन गराई दक्षिणा दिएर बिदा गरेपछि मात्र परिवारसहित स्वयं भोजन गर्नु व्रतको सम्पूर्णता मानिन्छ।
व्रत कथा
स्कन्द पुराण अनुसार कामदा एकादशीको कथा द्वापर युगमा युधिष्ठिरले श्रीकृष्णसँग यस व्रतको महत्त्व सोध्दा सुरु हुन्छ। श्रीकृष्णले उनलाई नागहरूको भोगीपुर राज्यको कथा सुनाउँछन्। त्यहाँ पुण्डरीक नामका राजा राज्य गर्थे, जो विलासी र क्रूर स्वभावका थिए। उनको दरबारमा गन्धर्वहरूले गाउने र अप्सराहरूले नाच्ने गर्थे।
त्यसै राज्यमा नाम गरेका एक ललित गन्धर्व र ललिता नाम गरेकी अप्सरा जोडी थिए। उनीहरू एक अर्कालाई धेरै माया गर्थे। एक दिन ललितको गीत गाउने पालो आयो, र त्यहाँ नागराज कर्कोटक पनि अतिथि थिए। गीत गाउँदा ललितले पत्नीलाई सम्झिएर गाउन सकेनन्, जसले गर्दा उनको स्वर बिग्रियो र अप्सराहरूले नाच्न छोडे। राजा पुण्डरीकले सोधे तर ललित बोल्न सकेनन्। सिपाहीहरूले भने कि ललितले पत्नीलाई सम्झिएर गाउन नसकेको हो। रिसाएर राजा पुण्डरीकले ललितलाई राक्षस बनेर बनमा भौँतारिन श्राप दिए। श्रापपछि ललित कुरूप राक्षस बनेर जङ्गलमा गए।
ललितको अवस्था देखेर उनकी पत्नी ललिता अत्यन्त दुःखी भइन् र शृङ्गी ऋषिको शरणमा पुगिन्। ऋषिले उनलाई कामदा एकादशीको व्रत गर्न सल्लाह दिए। ललिताले विधिपूर्वक व्रत गरिन् र भगवान् विष्णुसँग श्राप मुक्तिको प्रार्थना गरिन्। व्रतको प्रभावले ललित गन्धर्वको श्राप हटेर उनी पुनः सुन्दर स्वरयुक्त गन्धर्व बने। अन्ततः उनीहरू सुखपूर्वक जीवन बिताएर मरेपछि स्वर्ग गए।
स्रोत: वैदिक संस्कार र हाम्रा चाडपर्वहरू – गोविन्दचन्द्र सुबेदी